वैभव गुमाएको बुर्तिवाङ
प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको इन्द्रेणी बागलुङको बुर्तिवाङ बजार। तमान र भुजीखोला मिसिएर बनेको बडिघाटको सुसाहट, तल रहेको हरियो फाँट अनि स्थानीय कला सभ्यताको पहिचान दिने गरी बनाइएका भवनको मौलिक सौन्दर्य। अनेकमा एक र एकमा अनेक भएर बसेका थुप्रै समुदायका पृथक् भाषा, संस्कृति, मौलिक परम्परा र रीतिरिवाजको त्रिवेणी बुर्तिवाङको छुट्टै पहिचान थियो।
सदरमुकामबाट ९० किलोमिटर दूरीमा रहेको पश्चिम बागलुङको व्यापारिक केन्द्र तथा विश्वविख्यात नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षको प्रवेशद्वार भएकाले यहाँको पर्यटकीय महŒव पनि कम होइन। तर पछिल्लो समय बुर्तिवाङले आफ्नो मौलिक सौन्दर्य र पहिचान गुमाउँदैछ। अवैज्ञानिक रूपमा हुने विकासको नाममा यहाँको सौन्दर्य क्षयीकरण हुँदैछ। अदूरदर्शी र योजनाविहीन विकासले बजार कुरूप बन्दैछ। संघीय व्यवस्था कार्यान्वयनसँगै मुलुकमा तीन तहका सरकार क्रियाशील छन्। तीनै सरकारबीच प्रभावकारी समन्वय र योजनाबद्ध विकास हुने हो भने उदाउँदो सहरका रूपमा हेरिएका स्थानको विकासमा यति भद्रगोल बेथिति पक्कै हुने थिएन।
‘बुर्तिबाङको विकास त कस्तो भयो कस्तो, अहिले घडेरीका भाउ हातको १५ देखि २० लाख पुगेको छ’, बोवाङबाट बजार झरेका एक वृद्धको अनुभवले यहाँको विकासले कुन दिशा समातेको छ भन्ने बुझ्न सकिन्छ। घडेरीको मूल्यवृद्धिलाई विकासको सूचक मान्ने बुझाइ फेरिएको छैन। घडेरीको मूल्य दिनप्रतिदिन अकासिँदै गर्दा सुन्दर र मौलिक ग्रामीण सहरले आफ्नो रूपरंग गुमाएर कंक्रिटको अव्यवस्थित ओडारको थुप्रोमा परिणत हुँदै गएको छ। यहाँको इतिहास, संस्कृति र सौन्दर्य बुझेका पुराना नेता तथा सामाजिक अभियन्ता नीलबहादुर पुन सुन्दर नगरको बिग्रिँदो अवस्थाप्रति चिन्तित छन्। ‘मगर संस्कृतिको केन्द्र मानिएको पुरानो सांस्कृतिक सहर बिना योजना बजार विस्तार गरेर कुरूप बनाइयो’ घडेरीको दाम बढाउनेबाहेक अरू कुनै काम हुन नसकेको पुनको गुनासो छ।
पाँचथरको चिवाभन्ज्याङबाट सुरु भई बैतडीको झुलाघाट पुगेर टुंगिने मध्यपहाडी लोकमार्गले छिचोल्दै जाने तथा पश्चिम बागलुङसँगै गुल्मी, प्युठान र रुकुमसमेतको केन्द्र भएकाले सरकारले बुर्तिवाङलाई आधुनिक सहरको रूपमा विकास गर्ने योजना अघि सारेको १३ वर्ष भयो। दुर्भाग्य बुर्तिबाङ सरकारी योजनाअन्तर्गत न आधुनिक सहरको रूपमा विकसित भयो न त मौलिक सौन्दर्य र पहिचान नै जोगाउन सक्यो।
संसारका थुप्रै मुलुकमा सरकारले योजनाबद्ध तरिकाले सहर बसाउने प्रचलन छ। यस्ता सहरमा उक्त स्थानको प्राचिन सभ्यता, ऐतिहासिक एवं पुराताŒिवक महŒवका सम्पदा, स्थानीय वास्तुकला झल्किने संरचनाको साथै जलाधार र प्राकृतिक भू—वनोटलाई समेत न्यायपू्र्ण तरिकाले संरक्षण गर्दै आधुनिक सहरका पूर्वाधार विकास गरिन्छ। व्यवस्थित फुटपाथ तथा साइकल लेनको समेत प्रयोग गर्न मिल्ने फराकिला सडक, आपत्कालीन सुरक्षा तथा उद्धार संयन्त्रको सहज पहुँचको सुनिश्चितता, दैनिक जीवनयापनका लागि आवश्यक, स्वच्छ खानेपानी, ऊर्जा, उपभोग्य सामग्रीको उपलब्धता, पाठशाला, व्यायामशाला, औषधालय, देवालय आदिको सहज पहुँच। सार्वजनिक पार्क, उद्यान, खेल मैदान तथा अन्य संरक्षित स्थलको पर्याप्त बन्दोबस्ती आधुनिक सहर निर्माणका मापदण्ड र अनिवार्य सर्त हुन्।
बेलायतको मिल्टन काइन्स सहर उदाहरण मान्न सकिन्छ। यो बेलायत सरकारले सन् १९६० मा एक विशेष निर्णय गरेर बसाएको आधुनिक सहर हो। हुन त क्षेत्रफलका हिसाबले यसलाई बुर्तिबाङसँग तुलना गर्न मिल्दैन तर आधुनिक सहर कसरी बसाइन्छ र कस्तो हुनुपर्छ भन्ने सवालमा भने यो उत्कृष्ट उदाहरण हुन सक्छ। मिल्टन काइन्सलाई आधुनिक र नयाँ सहरको रूपमा विकास गर्ने निर्णयसँगै सहरको निर्माण र नियमन गर्ने जिम्मा स्थानीय निकायलाई दिइयो। जसअन्तर्गत गठित विकास निगमले सम्पूर्ण निर्माणको जिम्मा लियो।
सहरको डिजाइन गर्नुपहिले त्यहाँको पुरातात्विक तथा भौगर्भिक अध्ययन अनुसन्धान गराइएको थियो। तत्पश्चात पुराना रुखलाई रुख संरक्षण आदेशमार्फत संरक्षित गरियो भने प्राचिन भवनलाई सूचीकृत गरी संरक्षित घोषित गरियो। जलाशय र त्यसको वरिपरिका क्षेत्रलाई संरक्षित क्षेत्रको रूपमा रेखांकित गरियो। अनिमात्र आधुनिक सहरको आर्किटेक्ट, इन्जिनियर र विज्ञहरूबाट मिल्टन काइन्स नामक नयाँ सहरको डिजाइन गराइएको थियो।
पहिले तयार पारिएका डिजाइन पत्रपत्रिका तथा आर्किटेक्ट इन्जिनियरिङका जर्नलहरूमा प्रकाशित गरिन्थो। त्यसबाट निगमले डिजाइनमा भएका कमी, कमजोरी थाहा पाउने र सच्याउने अवसर पाउथ्यो। यसरी डिजाइन गरेर बनाइएको थियो बेलायतको नयाँ र आधुनिक सहर मिल्टन काइन्स। तब यो सहरमा आज पनि बिनारोकटोक मानवविहीन रोबोटले ढोका–ढोकामा खाना, सामग्री तथा पार्सलहरू डलिभरी गर्न सक्छ। सडकहरू चौडा छन्। साइकल र पैदल यात्रीका लागि फराकिला र छुट्टै लेन छुट्ट्याइएका छन्। बेलायतका अन्य सहरमा भन्दा सबै सडकहरू फराकिला छन् र राष्ट्रिय मापदण्डअनुसार तीव्र गतिमा यातायातका साधनहरू चलाउन सकिन्छ।
‘वनभित्र हरियो सहर’ भन्ने अवधारणा अनुसार यो नगरको निर्माण गरिएको छ। सहरको सम्पूर्ण भागलाई सार्वजनिक पार्कले छिचोलेको छ। यहाँ प्रत्येक १० जना मानिस बराबर करिब १६ वर्ग किमि सार्वजनिक पार्क छुट्ट्याइएको छ। मिल्टन काइन्स निवासी गैरआवाशीय नेपाली संघ यूकेका उपाध्यक्ष तथा नेपाली व्यवसायी सुरेश परियारका अनुसार मिल्टन काइन्समा सार्वजनिक सवारी, विद्यालय, व्यायामशाला, ट्रेकिङ रुटको प्रशस्तै व्यवस्था गरिएको छ। सहरको मौलिकता संरक्षणलाई उच्च प्राथमिकता दिएको छ। पुराना निजी भवनसमेत अगाडि देखिने भागको रूपरंगमा केही फेरबदल गर्न पाइँदैन। पानीका स्रोतको उच्चतम तरिकाले संरक्षण गरिएको छ। हो, यसलाई भनिन्छ आधुनिक सहरको प्लानिङ।
यता नेपाल सरकारको आधुनिक सहरको योजना भने विचित्रको छ। बाटोघाटो, सडकबत्ती, सार्वजनिक पार्क उद्यानलगायत मापदण्ड निर्धारण नगरी योजना बनाइन्छ। आनाआनाका टुक्रा जग्गामा अव्यवस्थित घर निर्माण रोकिएको छैन। पुराताŒिवक तथा ऐतिहासिक सम्पदाको संरक्षण गरिएको छैन। सरकारले एक दशक अगाडि आधुनिक सहर बनाउने घोषणा गरेको बुर्तिवाङ सहर, काठमाडौंको अस्तव्यस्त खसीबजार जस्तो भइसकेको छ। साइकल यात्राको कुरै छोडौं, एकोहोरो सवारीसमेत सहज चल्ने गरी बाटो छोडिएको छैन, सडकको रेखांकन योजनाअनुसार गरिएको छैन। जताजता घडेरी परे उतै बाटो लगिएको छ।
पहिले बजारको तल भएको हरियो फाँट घडेरीको रूपमा मासिएको छ। नगरको सौन्दर्य बढाइरहेको बडीघाट खोला अतिक्रमणको चपेटामा परेको छ। सहरी विकास मन्त्रालयले बनाउन लागेको बसपार्कसमेत खोलाको पानी बग्ने किनार चापेर निर्माण भइरहेको छ। खोला नाला संरक्षणसम्बन्धी कानुन बनाउने निकाय नै खोला अतिक्रमण गरेर संरचना निर्माण गरिरहेको छ।
सरकारले देशभर ४० आधुनिक तथा व्यवस्थित सहर निर्माण गर्ने योजना अगाडि सारेको दसकौं बितिसक्दा कामले गति लिन सकेको छैन। न त त्यसका लागि दीर्घकालीन योजनासहितका पूर्वाधारको नै काम हुन सकेको छ। मध्यपहाडी लोकमार्गमा १० वटा आधुनिक सहर निर्माण योजनामध्ये एक रहेको बुर्तिवाङको अहिलेको अवस्थाले सरकारको योजनालाई नै गिज्याइरहेजस्तो लाग्छ। र प्रस्तावित अन्य सहर निर्माणको काम पनि अघि बढ्न सकेको छैन।
बुर्तिबाङ बजारको बिरूप अवस्थाले सरकार तथा मातहतका निकायको निकम्मापनलाई उजागर गरेको छ। सरकारले कुनै कामका लागि बजेट मात्र छुट्ट्याउनुलाई पनि योजना मानिन्छ। अनि आफ्नो क्षेत्रमा यस्तो बजेट ल्याउन सक्नुलाई नेताहरू ठूलो उपलब्धि मान्ने गर्छन्। केबल सस्तो लोकप्रियताका लागि योजना ल्याउनु, योजना पूर्वअध्ययन अनुसन्धान नगरिनु, योजना बनाउँदा विज्ञको राय नलिनु, वातावरणीय प्रभावको अध्ययन नहुनु। सहरको समग्र डिजाइन नगरी फुटकर निर्माणमा मात्र ध्यान दिनु, बुर्तिबाङको अस्तव्यस्त विनाशको प्रमुख कारण हुन। अझ स्थानीय तहको नेतृत्वमा नगरको दिगो विकास सम्बन्धी परिष्कृत दृष्टिकोण नहुनुलगायत कारणले बुर्तिवाङको यो हालत भएकोमा शंका छैन।
अहिले घडेरीको दाम बढेर खुसी भएका स्थानीयवासी भविष्यमा कुरूप र अव्यवस्थित सहरका कारण अवश्य पछुताउनु पर्नेछ। अव्यवस्थित बजारले दुर्घटना निम्त्याउँछ। गतिलो राजनीतिक नेतृत्व नहँुदाको बुर्तिबाङको यस्तो हालत भएको राजनीतिज्ञ तथा समाजसेवी चन्द्र अर्यालको बुझाइ छ। ‘पछिल्लो परिवर्तनपछि स्थानीय तहमा अधिकार त आयो तर बुर्तिबाङले जिम्मेबार नेतृत्व पाएन’ उनले भने। ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली अहिले सार्वजनिक जीवनमा छैनन्। सहकारी ठगी प्रकरणमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका उनी कहाँ छन् अत्तोपत्तो छैन। यसअघि पनि नेतृत्व सम्हालेका उनी नगरपालिका क्षेत्रका बजार र बस्तीलाई व्यवस्थित गर्नुको सट्टा आफ्नो जीवनलाई थप रवाफिलो बनाउनतर्फ लागे। बजारको बीचमा आलिसान भवन ठड्याए अनि त्यसको छतबाट हेलिकप्टरमार्फत आवतजावत गर्न थाले। बुर्तिबाङको राजनीति बुझेका मानिसहरू देवकुमार नगर समृद्धिको योजना तथा दिगो विकाससम्बन्धी वैचारिक स्पष्टताको अभावका बाबजुद आर्थिक तथा अन्य प्रभावका आधारमा मेयर बनेको ठान्दछन्। मेयर बनेपछि उनले बुर्तिबाङमा बनाएको टावर (ठूलो भवन)ले मापदण्ड पूरा गरेकोमा स्थानीयहरू विश्वस्त छैनन्। यो विशाल र चम्किलो एउटा घरले बजारका सबै घरको सौन्दर्य घटाएको छ।
उद्योग वाणिज्य संघ बुर्तिबाङका अध्यक्ष ढालेन्द्र छन्त्यालले बुर्तिबाङले बन्दीपुरले जस्तै आफ्नो मौलिकता जोगाउन नसकेकोमा चिन्तित छन्। बजारको पुरानो स्वरूपसँग जोडिएको सांस्कृतिक पहिचान संरक्षणमा ध्यान नदिइनु दुर्भाग्य भएको उनी बताउँछन्। बजार क्षेत्रमा यातायातका साधन प्रवेशमा रोक लगाउने र पुराना भवनलाई पुरानै स्वरूपमा जोगाएर राख्ने कार्यका लागि बारम्बार आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाइ नगरेको छन्त्यालको गुनासो छ।
आधुनिक सहरको सरकारी योजना अलपत्र बनिरहँदा स्थानीय तहको लापरबाही र मनमौजीले बुर्तिवाङजस्ता थुप्रै सहरको मौलिक पहिचान गुम्दै गएको छ। स्थानीय सरकारको अधिकार तथा स्रोतसाधनको जिम्मेबार ढंगले प्रयोग गर्न सक्ने, आधुनिक सहरका मापदण्ड तथा विशेषता बारेमा जानकार नेतृत्व स्थानीय सरकारले पाएको भए आज बुर्तिबाङ नेपालकै सुन्दर नगर कहलाउने थियो। ढोरपाटन जान र बुर्तिबाङमा सुस्ताउन पर्यटकलाई अपिल गर्न सक्थ्यो। तर पैसाको तुजुक देखाउने, अपारदर्शी कारोबारमार्फत राजनीतिमा भित्रिएका अनि सर्वसाधारणविरुद्ध ठगीमा संलग्न एक छट्टुको हातमा अधिकार सम्पन्न नगरपालिका प¥यो। अतः उनले नगरलाई ओझेल पार्दै आफ्नो घर चम्काए।
चटके राजनीतिको मारमा परेको सुन्दर बुर्तिबाङलाई बचाउन अझै पनि ढिला भएको छैन। खोला र खोलासँग जोडिएको जमिनलाई सार्वजनिक जग्गामा परिणत गरी उद्यानको रूपमा विकसित गर्न सकिन्छ। पुराना भवनलाई अनुदान दिएर मौलिकता जोगाउन सकिन्छ। बजारको पारिपट्टि विकास नभै सकेको स्थानको जग्गा एकीकरण गरी मापदण्डअनुसार फराकिलो बाटो निर्माण गरेर मझौला तर मगर तथा थकाली संस्कृति झल्किने खालका वा पुरानो बुर्तिबाङकै शैलीका आधुनिक र पक्की भवनमात्र बनाउने गरी सहरी विकासको योजना बनाउन सकिन्छ।
अब बन्ने संरचनामा आकस्मिक सेवालगायत आधुनिक सहरका न्यूनतम मापदण्ड पूरा गरे मात्र पनि यो नगरले नयाँ स्वरूप लिनेछ। वन, बस्ती र बजारको विकास गर्न बुर्तिबाङको भू—बनावट अत्यन्तै राम्रो छ। स्थानीय कला कौशलको प्रतिनिधित्व गर्ने पुराना संरचनाको पूर्ण संरक्षण, स्थानीय मौलिकता झल्कने प्राचिन वस्तु, जलाधार तथा भौगोलिक बनावटलाई कुनै असर नपार्ने गरी आधुनिक सहरको विकासका लागि केवल राजनीतिक इच्छाशक्ति चाहिन्छ।