‘प्रज्ञा प्रतिष्ठान राजनीतिक सत्तालाई सल्लाह दिने प्राज्ञिक सत्ता हो’

‘प्रज्ञा प्रतिष्ठान राजनीतिक सत्तालाई सल्लाह दिने प्राज्ञिक सत्ता हो’

पुराना कार्यक्रमलाई नयाँ सोचबाट अघि बढाइरहेको छ नेपाल प्रज्ञा प्रतिष्ठानले यतिबेला। अनि केही नयाँ सोचसहित नयाँ कार्यक्रम पनि चलाइरहेको छ। २०१४ सालमा स्थापना गरिएको प्रतिष्ठान अहिले ६७ वर्षमा यात्रारत छ। तर पनि कुलपति बनेर विद्यालय पुग्दा भूपाल राईलाई शिक्षकले प्रश्न गरे, ‘२५ वर्ष भयो पढाको, आजसम्म कुलपतिको अनुहार देखेकै थिइनँ।’ चितवन मेघौलीस्थित कुमाल बस्ती ‘रैथाने ज्ञान उत्सव’ गरिरहँदा एक कुमाालले राईलाई सोधे, ‘६७ वर्षको इतिहास भन्नुहुन्छ प्रतिष्ठानको, अहिलेसम्म कहाँ हुनुहुन्थ्यो ?’ सबैको प्रज्ञा प्रतिष्ठान बनाउने योजनामा रहेका कुलपति भन्छन्, ‘खासमा प्रतिष्ठान राजनीतिक सत्ताालाई सल्लाह दिने प्राज्ञिक सत्ताा हो तर त्यसरी काम भएकै छैन।’ प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईसँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले गरेको प्राज्ञिक भलाकुसारी :

नेपाल प्रज्ञा प्रतिष्ठानको नेतृत्व सम्हालेपछि के कस्ता काम गर्नुभयो ?
खासगरी दुई प्रकारका काम भएका छन्। पहिलो, पुराना कामहरूमा नयाँ दृष्टिकोणसहित काम गरेका छौं। दोस्रो, नयाँ काम स्थापित गरेका छौं। मुलुकका विभिन्न स्थानमा पुग्दा प्रज्ञा प्रतिष्ठानको विषय र इतिहासमा चर्चा चल्छ। यो २०१४ सालमा स्थापना भयो, हाल ६७ वर्ष भयो। यति पुरानो संस्थाको कुलपति हुँ भन्दा पनि धेरैलाई थाहा छैन यसबारे। सामान्य मानिसलाई प्रज्ञा प्रतिष्ठान थाहै छैन रहेछ। यो कुराले चिन्तित बनायो। अब जनतासम्म पु¥याउनु पर्छ भन्ने ठानें।

ती नयाँ काम के के हुन् ?
दुईवटा नयाँ काम थालें, एउटा ‘विद्यालयसँग कुलपति, विद्यार्थीसँग कुलपति’, दोस्रो, संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास विभाग जुन मेरो नेतृत्वमा प्रतिष्ठानमा छ, त्यसबाट ठाउँठाउँमा ‘रैथाने ज्ञान उत्सव’ गर्दै हिँडेको छु। यस क्रममा अभिभावक, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि र अधिकांश नागरिकलाई नेपाल प्रज्ञा प्रतिष्ठान थाहा नभएको पाएँ। ६७ वर्ष सकारात्मक बाटोमा हिँडेनछ।

पुराना कार्यक्रममा नयाँ दृष्टिकोण चाहिँ के हुन् ?
राष्ट्रिय कविता महोत्सवलाई बहुभाषी र समावेशी बनायौं। यसले कवि पनि धेरै समेटिए। पहिलो, दोस्रो र तेस्रो नगरी उत्कृष्ट १० छनोट गर्न थाल्यौं। प्रतियोगिताको नाममा अमूक कविलाई भिडाउने काम हुन्थ्यो, हामीले माहोल सिर्जना गर्ने काम गरेका छौं। किनकि प्रज्ञा प्रतियोगिता गर्ने थलो होइन, माहोल सिर्जना गर्ने थलो हो। स्थापित काम भाषा साहित्यको काम गर्छ भन्ने नै थियो। अरू विभाग छायाँमा परिरहेका थिए, जस्तोः दर्शनशास्त्र विभाग, सामाजिक शास्त्र विभाग, मातृभाषा विभाग, संस्कृति र अन्य विभाग छन्। भाषासाहित्यका गतिविधिले यी सबैलाई छायाँमा पारेको बुझेपछि अहिले सबै विभागलाई समानान्तर ढंगले व्यापकता दिएका छौं। वर्षमा एकपटक दिवस मनाउने मातृभाषा विभागबाट अहिले हरेक महिना विभिन्न भाषाका कवितावाचन र विभिन्न भाषामा बहस कार्यक्रम गर्छौं।

अबका योजना के छन् ?
थुप्रै योजना छन् तर बजेटको सीमाले काम अघि बढाउन कठिन छ। पहिलो, प्रतिष्ठानबाट सातवटै प्रदेश चिनाउने एउटा—एउटा इतिहास तयार पार्ने हो जसमा भाषा, जातजाति, भूगोल, पर्यटन, संस्कृति आदिका इतिहास खोज्नु छ। तीनवर्षे कार्यकाल बाँकी छ, सकिएला नसकिएला सुरु भएको छ। यसअघि पनि यस्तै केही सुरु भएको रहेछ। सातै प्रदेशलाई विहंगम ढंगले बुझ्ने एउटै किताबमा निकाल्ने योजना छ। दोस्रो, यहाँबाट प्रकाशित बृहत् नेपाली शब्दकोषलाई वैज्ञानिक बनाउने। सबैको स्वामित्वबोध गर्नेगरी परिमार्जित गर्ने। धेरै प्रविष्टि शब्द, अर्थ आदि विवादित छन्। उजुरीका रूपमा आएका छन्। तेस्रो, भवनको दाहिने कुनामा केही दिवंगत स्रष्टाका प्रतिमा छन्, त्यहाँ अन्य धेरै राख्न लायक कविलेखकको प्रतिमा राखेर ‘प्रतिमा कुञ्ज’ बनाउने योजना छ। चौथो, संघीय गणतान्त्रिक नेपालमा छौं, गणतन्त्र कसरी निर्माण भयो ? राजनीतिक, सांस्कृतिक अवयवहरू के हुन् ? त्यो इतिहास छैन, लेख्नु छ।

बाहिर बस्दा देखेका र भनेका गुनासा अहिले के कति पूरा गर्नुभयो ?
पहिलो प्राज्ञ सभाको बैठकमा २०१४ सालयताका अविच्छिन्न उत्तराधिकारी हौं तर विच्छिन्न विचारसहितको भनेको थिएँ। बाहिरबाट यो गरेनन् त्यो गरेनन् भन्नेभन्दा पनि भित्र बसेर विच्छिन्न विचारसहितका काम गर्न सकिन्छ सकिन्न भन्ने हो। किनकि परम्परागत ढंगले सञ्चालन गरिरहे संस्था त बाँच्छ तर जहाँको तहीँ हुन्छ, जनतामा स्थापित हुँदैन। तिनलाई नयाँ वैचारिकी प्रयोग गर्दा संस्था पनि बाँच्छ, जनतासम्म नि पुग्छ।

त्यसैले सुरुमै एउटा मन्त्र बनायौं, ‘सबै भाषा, सबै ज्ञान : सबैको प्रज्ञा प्रतिष्ठान।’ झापाको एउटा विद्यालय पुग्दा शिक्षकले भन्नुभयो, ‘२५ वर्ष भयो पढाको, आजसम्म कुलपतिको अनुहार देखेकै थिइनँ।’ चितवन मेघौलीमा कुमाल बस्ती छ। रैथाने ज्ञान उत्सव गरिरहँदा एकजनाले सोध्नुभयो, ‘६७ वर्षको इतिहास भन्नुहुन्छ प्रतिष्ठानको, अहिलेसम्म कहाँ हुनुहुन्थ्यो ?’ परम्परा तोड्नु हुँदैन भन्ने मानसिकताका मानिस एक किसिमका छन् तर सधैं यसरी चल्दैन। त्यसैले सबैको साझा थलो बनाउने अभियानमा छु। यही मन्त्रले जवाफ दियो होला।

अहिले बाहिर बस्नेहरूले यो प्राज्ञ परिषद्लाई एकपक्षीय मुद्दा बोकेर काम गरिरहेको छ भन्छन् नि। हो ?
यो आरोपमात्र हो। मित्थ्या आरोप हो यो एकांगी हुन्छ, आलोचना चाहिँ जरुरी छ। मूलमन्त्र जुन भनें त्यो नै सबैलाई समेट्ने खालको छ नि। २०२२ सालदेखि सञ्चालित कविता महोत्सवलाई सबैको बनाउनु भनेको त सबैलाई समेट्नु होइन र ? एकपक्षीय भन्नु एकांगी दृष्टिकोण मात्र हो।

जो पनि बाहिर हुँदा प्रज्ञाका कमजोरी देख्छ, प्रज्ञामा पसेपछि सबै राम्रो गरें भन्छन्। यो किन हुँदोरैछ ?
नेपाल प्रज्ञा प्रतिष्ठान सबैको साझा थलो हो त्यसैले सबैको बनाउनै पर्छ। यो विचारले प्रज्ञा चलाउँदैछु। अबको तीन वर्षपछि म यहाँबाट निस्कँदा प्रज्ञामा हामीले गरेको काम यही मूलमन्त्रको आधारमा गरिएकाले सर्वपक्षीय हो, भयो भन्ने मानिसको आवाज आयो भने त भयो त। सबैलाई प्रतिष्ठानमा आउने रहर हुन्छ, भाषासाहित्य र संस्कृतिका। सबैले एकैपटक ठाउँ पाउँदैनन् किनकि ११ जनाको प्राज्ञ परिषद् र ३५ जनाको प्राज्ञ सभा न हो। त्यसपछि राम्रो गर्नेलाई पनि त्यसले बर्बाद ग¥यो भन्ने मानसिकता देखाउँछ, त्यो संस्कृति ओकलिदिन्छ। आफूमात्र पुगौं, यो देशमा ममात्र छु, अरू कोही पनि छैन, कसैले गर्दैनन् भन्ने विचलित संस्कृति हो। यहाँ आउने सोच पूरा भएन भने आक्षेप लगाउने काम हुन्छ। मेरो चिन्ता हिजोसम्म प्रज्ञा प्रतिष्ठान सबैको थिएन, म बनाइरहेछु।

यति हुँदाहुँदै पनि प्रतिष्ठानका लक्ष्य र उद्देश्यहरू अनुरूपका काम चाहिँ भए भएनन् ?
६७ वर्षको इतिहासमा यसले भाषा र साहित्यको मात्र काम गरेछ। यत्रो इतिहास हुँदा पनि शिक्षक, कुमाल, थारूहरूलाई थाहा छैन भनेपछि कसरी पूरा भयो त ? बौद्धिक विलास गरेर समय काट्ने काम मात्र किन भयो प्रज्ञा प्रतिष्ठानमा ? बागलुङ, पर्वत र म्याग्दीमा हामी टिम नै गएर गाउँगाउँमा प्रज्ञा प्रतिष्ठान आउँछ भनेर केही ग¥यौं। यसले जे गर्नुपथ्र्यो, त्यो गरिरहेको थिएन। म यो कुरा यसअघिका सबै कुलपति, उपकुलपति, सदस्यसचिव र सदस्यहरूलाई भन्न सक्छु। सबै विभागलाई उत्तिकै महŒव दिएर काम गरिएनछ। अहिले समानान्तर रूपमा सबै विभागलाई चलायमान बनाएका छौं। प्रबुद्ध वर्गलाई पनि प्रतिष्ठानमा दर्शन शास्त्र छ भन्ने थाहा रहेन छ।

प्रज्ञा प्रतिष्ठानलाई नै आरोप छ कि केही विद्वान्लाई बोलाएर कार्यपत्र प्रस्तुत गर्न लगाउँछ र त्यहाँ एक डेढ सयलाई मात्र बोलाउँछ र कार्यक्रमहरू गोष्ठीमा सीमित राख्छ। के भन्नुहुन्छ ?
यो त यथार्थ हो। जे देखे त्यही भने, सत्य कुरो नै भने, भएकै कुरो भनेका हुन्। त्यसैले यो परम्परा तोड्न त विद्यार्थीसँग कुलपति, रैथाने ज्ञान उत्सव आदि सुरु गरेको त। हरेक कामबाट जनतासँग जोडिनु आवश्यक देखेरै सबैलाई समेट्न खोजेका हौं।

तपाईं कुलपति बनेर आउँदा के के एजेन्डा बोकेर आउनु भएको थियो ?
बृहत्तर योजना छन्। मूल एजेन्डा आउनासाथ एकांगी स्वरूपको प्रतिष्ठानलाई सबै भाषा, ज्ञानको बनाउने हो जुन रारा पुगेर उद्घोष ग¥यौं। दोस्रो, भाषा र साहित्यबाहेकका सबै विभागलाई सक्रिय र चलायमान बनाउने। तेस्रो, ६७ वर्षको इतिहास भए पनि प्रज्ञा प्रतिष्ठान सबैलाई थाहा छैन। प्राज्ञिक थलोको प्रारूप भएकाले विद्यार्थीलाई जोड्नु पर्छ। शिक्षकलाई थाहा छैन, विद्यार्थीले के थाहा पाउनु। परिवर्तनको सौन्दर्यशास्त्र निर्माण गर्नु अर्को हो। पाँचौं, शब्दकोषको विवाद समाधान गर्नु, न्यायोचित ढंगले परिमार्जन गर्नु।

प्रज्ञा प्रतिष्ठानमा समस्या पनि त होलान् नि ?
बजेटकै सीमा छ सबैभन्दा ठूलो। वार्षिक बजेटले त धान्ने कुरै भएन। मन्त्रालयबाट आएको बजेटले पनि भने जसरी काम गर्न सक्ने अवस्था छैन। कर्मचारीका समस्या संस्थाभित्रकै हो। यो मिलाउन सकिन्छ। जुन प्राज्ञिक समस्या होइन, संस्थागत समस्या हो।

सरकारले के गर्दियो भने खुलेर काम गर्न सक्नुहुन्छ ?
मुख्य कुरो भनेको वार्षिक बजेट बढाउनु पर्छ। सोचेका योजना पूरा गर्न बाटो खुल्छ। प्रज्ञा प्रतिष्ठान भनेको पूरै नेपाललाई ‘गाइड’ गर्ने, संस्कृति निर्माण गर्ने र प्राज्ञिक सत्ता निर्माण गर्ने थलो हो। यसको महŒवलाई नेपाल सरकारले तत्कालै बुझिहाल्नु पर्छ। मूल्य बुझ्नुपर्छ। नबुझ्ने भनेको सरकारमा आउने सबैलाई थाहा हुनुपर्छ प्रतिष्ठानको मूल्य र मर्यादा। कर्मचारी सबैले बुझ्नुपर्छ। कस्तो राजनीतिक सत्तालाई कस्तो प्राज्ञिक सत्ताले काम गर्नुपर्छ भनेर सरोकारवालाले बुझ्नुपर्छ। यो महेन्द्र राजा हुँदा व्यवहारमै काम भयो। सरकारमा आउनेले यो थलो यस्तो हो भनेर थाहा पाउनै पर्छ।

सबै स्रष्टाको थलो प्रज्ञा प्रतिष्ठान बन्ने सकेन भन्ने पनि गुनासो छ नि।
प्रज्ञा प्रतिष्ठान नै एउटा त्यस्तो थलो हो जुन सबैखाले कवि, लेखक र सबै विचारका सर्जकको थलो हो। यतिसम्म कि राज्यसत्ताका विरोधीहरूको पनि काम गर्ने थलो हो। सबै धारलाई समेट्ने योजना हाम्रो छ। राज्यपक्ष वा प्रतिपक्षको होस्, जुनसुकैको पनि साझा हो, बनाउने नै हो। मातृभाषा गोष्ठी हेरौं न, २०७८ सालको जनगणनाले १२४ भाषा भएको देश भनेकोमा सबैलाई विमर्शमा ल्याउँदैछौं। को कम्युनिस्ट, को कांग्रेस, को राप्रपा ? हामीले त भाषा, संस्कृति र समुदाय हेर्ने हो।

अनुसन्धान गर्ने, गराउने र बजेट छुट्ट्याउने तरिका त परम्परागत नै देखिन्छ त ?
आन्तरिक पत्रपत्रिकाका कार्यकारी सम्पादकले पाउने सुविधा दोब्बर बनाएका छौं, लेखकलाई पनि बढाएका छौं। अनुसन्धानमा बढाउन बजेट बढेरै आउनु पर्छ। कस्तो रिसर्च गर्ने भन्ने चाहिँ सोचिरहेछौं। पुरानो ढाँचाको रिसर्चलाई रोकेका छौं।

हजारौं खर्च दिएर गराइएको अनुसन्धान पाण्डुलिपिमै सीमित हुन्छन्, थन्किन्छन् गोदाममै। किन ?
सबै रिसर्च राम्रै हुन्छ भन्ने त हुँदैन। रिसर्च गराउने हो, त्यसपछि मूल्यांकन गराउने हो। प्रतिष्ठान चलेको संस्था भएकाले त्यसको ओजसँग मिल्ने अनुसन्धान भएन भने प्रकाशन गर्ने भन्ने त कुरो आउँदैन नि त।

अनुसन्धानकर्ता नै मेरो वा तेरोवाला नरोजेर उसको क्षमता मूल्यांकन गरेर योजना दिए त सबै काममा उत्कृष्ट नतिजा आउला नि ?
अनुसन्धान गर्छु भनेर आएपछि रोक्ने कुरो आएन। तर अब चाहिँ प्रस्तावको विषय हेरेर दिन्छौं। पुरानै कुरा पुरानै ढाँचाका कुरालाई अब दिँदैनौं। आवश्यकीय ज्ञानका विषयका कुरालाई दिन्छौं, आह्वान पनि गर्छौं। अनुसन्धानकर्तालाई विषय नै ल्याऊ भन्छौं। अब चाहिँ अनुसन्धानकर्तालाई मूल्यांकन गरेरै काम जिम्मा दिने परिपाटी बसाल्छौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.