पुस्तकभित्र बीपी, पुस्तकबाहिर बीपी

पुस्तकभित्र बीपी, पुस्तकबाहिर बीपी
सुन्नुहोस्

विश्वेश्वरप्रसाद कोइरालाका बारेमा केही कुरा त आफैंले जानेर, बुझेर पनि थाहा पाएकै हो। त्यस अतिरिक्त विभिन्न व्यक्तिले विभिन्न कालखण्डमा उहाँको व्यक्तित्व र जीवनीका बारेमा प्रस्तुत गरिएका सामग्रीबाट पनि धेरै थाहा पाएबुझेकै हो। यसरी धेरैभन्दा धेरै मानिसले विचार प्रकट गरेका व्यक्तित्वमध्ये गणनाको सुरुतिरै पर्ने नाम हो यो। उनका बारेमा लेखिएका र प्रकाशन भएका सामग्री प्रशस्तै हुँदाहुँदै पनि कृष्ण खनालले २०८० सालमा ‘विश्वेश्वरप्रसाद कोइराला: चेतना, चिन्तन र राजनीति’ भन्ने पुस्तक पाठकसामु प्रस्तुत गरेका छन्।

पुस्तक पल्टाउँदै जाँदा हरेक पंक्तिले मन तान्दै गए। पूरै दिन बिताउन व्यावसायिक व्यस्तताले दिएन, बचेको समय त्यसमा लगाएँ। लेखनको स्तरीयताले ज्यादा छोयो। कतिपय हरफ अत्यन्तै चित्ताकर्षक लागे। ‘बीपीका विचार अगाडि बढिरह्यो तर उनको राजनीति भने दुर्घटनामा प¥यो’ (पृ.१७)। ‘बन्द समाजमा राजनीति सुरक्षित छ भन्न सकिन्न, कुनै पनि बेला विस्फोट र धराशायी हुनसक्छ। परिवारको राजनीतिक फाइदा उठाएर सन्तानहरू कोही पदमा त पुग्लान् तर संस्कार जोगिन्छ भन्ने कुनै जरुरी छैन’ (पृ.१३५)।

‘राजनीतिक नेतृत्व स्थापित हुन पारिवारिक विरासतमात्र पर्याप्त हँुदैन, व्यक्तिको विशिष्ट बुझाइ र भूमिका पनि उत्तिकै अपेक्षित हुन्छ’ (पृ.१३४)। ‘२०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनापछि गिरिजाप्रसाद कोइरालाको राजनीतिले परिवारको त्यो मूल्यलाई सुरक्षित राख्न सकेको देखिँदैन’ (पृ.१३४)। लेखकले आफ्ना विचार, विश्लेषण र निष्कर्षहरूलाई सन्दर्भ सामग्रीहरूको पुष्ट्याइँले विश्वसनीय र गहकिलो बनाएको पाइन्छ। यसले पुस्तक लेख्नुभन्दा अगावै गरिएको धेरै सन्दर्भ सामग्रीको अध्ययन र मेहनतले मुलुक बाहिरको प्रसंग र ऐतिहासिक क्षणहरूलाई समेत पुस्तकभित्र समेट्न सकेको देखिन्छ। जसले बढी खुराक दिएको छ।

लेखनमा कतैकतै अभिव्यक्तिले सन्तुलन गुमाएको पनि लाग्छ। ‘बीपीको सबैप्रति प्रेमभाव र निकटता पाइन्छ भनेर चाहे त्यो अपदस्त गरिएपछि गोली हानी हत्या गरिएका कंगोका प्रधानमन्त्री प्याट्रिस लुमुम्बाकी पत्नी (पुस्तकमा नाम उल्लेख भएको छैन, उहाँको नाम पाउलिन ओपान्गो हो) हुन् वा गोली प्रहारबाट मारिएका अमेरिकी राष्ट्रपति जोनएफ केनेडीकी पत्नी लेडी जेक्लिन, उनीहरूप्रति भावनात्मक निकटता राख्छन् भन्ने अभिव्यक्तिमा एकजना पात्रकी श्रीमतीको नामसमेत उल्लेख गर्नु र अर्का पात्रकी श्रीमती मात्र भनेर नाम उल्लेख नगर्दा पाठकको अपेक्षा पनि खल्लो हुन पुग्ने र दुवैजनाप्रति समान न्याय गरेको नदेखिने भाव उत्पन्न हुन्छ’ (पृ.७५)।

‘विश्वेश्वरप्रसाद कोइरालाले नेपाली राष्ट्रिय कांग्रेस गठनको समयमा र पछि उद्घाटनको समारोहमा बोल्दा नेपाल भारतकै अभिन्न भाग हो भन्ने भनाइ वास्तवमा नेपाल र भारत दुई देश होइनन् भन्ने भनाइले सिर्जना गरेको तरंगलाई जुन मनोवैज्ञानिक आधारमा व्याख्या गर्दै त्यसले उहाँको राष्ट्रियताको छविलाई विवादास्पद बनाए पनि त्यो भनाइले विवाद उठाएको जस्तै भावार्थ दिँदैन’ (पृ.४६) भन्ने तर्क निकै सुन्दरतम् भए पनि पाठकले पचाउन गाह्रै मान्छन् भन्ने लाग्छ। यस्ता असहमतिका बुँदाहरू अरू पनि हुन सक्छन् जसको सम्पूर्ण उल्लेख गर्न यहाँ सम्भव छैन। लेखकमा बीपीको विचार र व्यक्तित्वको प्रभावले उनीप्रति केही सकारात्मक पूर्वाग्रह र अतिशयोक्ति रहेको महसुस पनि हुन सक्छ। ती कुरा सबै व्यक्तिमा पाइने गुणभित्रै पर्ने हुनाले त्यसलाई अन्यथा ठान्न मिल्दैन।

बीपीका चेतना, चिन्तन र राजनीतिभित्र उनीसँग सम्बन्धित विवरणमात्र नभएर उनको मनोविज्ञान, उनको दर्शन र उनका आचरणहरूको विश्लेक्षण गर्ने गहुंगो कामसमेत भएका छन्। बीपीबारे लेखकले प्रस्तुत गरेका विचार पक्षमा सबैको सहमति नहुन पनि सक्छ। किनकि विचार भन्नेबित्तिकै त्यो सापेक्षिक नै हुन्छ। आलोचना र असहमति नहुने विचार हुँदैनन्। तर असहमति प्रकट गर्ने पाठकले लेखककै जस्तोगरी आफ्ना असहमतिलाई पुष्टि गर्न पनि ठूलै मेहनत गर्नुपर्ने हुन्छ।

इतिहासका धेरै अस्पष्ट र विवादग्रस्त भएका विषयवस्तुलाई तथ्यपरक ढंगले पर्गेलेर स्पष्ट पार्ने सत्प्रयास भएको पाइन्छ। उदाहरणका रूपमा २००७ फागुन ७ गते राजा त्रिभुवनले गरेको घोषणामा प्रयोग भएको गणतन्त्र शब्दको बारेमा त्यसको यथार्थता राम्रोसँग पुष्टि भएको छ। बीपी नेपालका स्वनामधन्य पात्र हुन्। उनको परिचय गराइरहनु पर्दैन। तथापि यस पुस्तकमा खनालले बीपीबारे यसअघि उजागर नभएका धेरै पक्ष उजागर गरेका छन्। बीपीसँग जोडिएर इतिहास भइसकेका कुराहरूलाई थप तथ्यसहित प्रस्तुत गरिएको छ।

बीपी र उनीसँग जोडिएको इतिहासको बारेमा कुनै कुरा पनि नछोडी सर्वपक्षीय परिचय र विश्लेषणलाई पुस्तकले समेटेको छ। पुस्तक लेखनीको बहावले पछिल्लो कालखण्डमा नेपाली राजनीतिक संस्कृतिमा देखापरेको विकृत रूपहरूका मुख्य मुख्य घटनालाई नेपाली राजनीतिको रोगको रूपमा केलाउनसमेत पछि परेको छैन। त्यसमा अझ थप गर्नु पर्ने केही विषय छुटेको पनि महसुस हुन्छ। जति विकृतिहरूको प्रस्तुति छ, तिनको समाधानका लागि राजनीतिक दल र तिनीहरूको नेतृत्वले ख्याल गर्नुपर्ने, सुध्रिनु र सुधार गर्नुपर्ने मोटामोटी सुझावहरू प्रस्तुत भएका छन्।

पुस्तकमा बीपीका महत्त्वपूर्ण विचार र अन्य ऐतिहासिक सामग्रीलाई अरू लेखनका हरफभन्दा भिन्न पारेर एउटा छुट्टै ब्लकमा प्रस्तुत गरेर सायद महत्त्वपूर्ण सामग्री र विचारहरूले विशेष रूपमा पाठकको ध्यान तान्न सकेको पाएँ।  बीपीको सादगी जीवन तथा उच्च सोच र संस्कृतिका पक्षहरूले लेखकलाई पनि राम्रो प्रभाव पारेको जस्तो लाग्छ। प्रायःजसो पुस्तकमा लेखकले आफ्नो व्यक्तिगत परिचयका लागि एक÷दुई पृष्ठ छट्ट्याउँछन्। यस पुस्तकमा लेखकले नाममात्र राखेका छन्। यो पुस्तक पढ्ने विद्वतजनले भविष्यमा लेखककै बाटो हिँडेर बीपीलाई अझ खोतल्न पनि सक्लान् भन्ने मनोभाव उत्पन्न भएको छ। पुस्तकको भाषा, शैली र प्रस्तुती प्रशंसनीय नै लाग्छ।

निजी स्वार्थपूर्ति गर्ने साधनको रूपमा राज्यको शक्ति र स्रोतलाई प्रयोग गर्ने संस्कृतिले व्याप्त भइरहेको अहिलेको परिवेशमा यो पुस्तक लेख्ने कार्य प्रशंसनीय नै छ। बीपीका परिवारका सदस्यहरूले उनको विरासत प्राप्त गरेर राज्यसत्ताका विभिन्न जिम्मेवारीमा पुगे पनि त्यो काम गर्न सकेनन् जुन बीपीले गरे। न त बीपीका नामबाट खोलिएका संस्थाहरूले नै गर्न सके। तर, बीपीसँग केवल विचारले बाँधिएका नातागोता र राज्यसत्ताको उपयोगबाट टाढा रहेका खनालले भने बीपीप्रति गुन लगाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.