कर्णालीका ३ जिल्लामा टेलिमेडिसिन सेवा
मुगु : कर्णाली प्रदेशका तीन जिल्लाका अस्पताल र सामुदायिक अस्पतालमा टेली मेडिसन सेवा सञ्चालन हुने भएको छ। कर्णाली प्रदेशका मुगु, हुम्ला र जाजरकोट जिल्लाका जिल्ला अस्पताल सामुदायिक अस्पताल र स्वास्थ्य चौकीबाट टेलीमेडिसिन सेवा सञ्चालनमा आउने भएको हो।
छा–याँ नेपालको आर्थिक सहयोग र कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा मुगु जिल्ला अस्पताल, कार्मारोङ गाउँपालिकामा रहेको रिउस सामुदायिक अस्पताल, छाँयानाथ रारा नगरपालिकाको बाम स्वास्थ्य चौकी, हुम्लाको खार्पुनाथ गाउँपालिका स्वास्थ्य चौकी र जिल्ला अस्पताल सहित जाजरकोटको जिल्ला अस्पतालमा जेठको अन्तिम सातादेखि टेलीमेडिसिन सेवा सञ्चालन हुने छा–याँ नेपाल कर्णाली प्रदेशले जानकारी दिएको छ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयकोे दूर चिकित्सा तथा विद्युतीय स्वास्थ्य सेवा दूर चिकित्सा तथा विद्युतीय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन कार्यविधि २०८० कार्यान्वयन गरी दूर चिकित्सा तथा विद्युतीय स्वास्थ्य सेवाको माध्यमबाट स्वास्थ्य सेवामा सबैको सहज पहुँच अभिवृद्धिका लागि यो सेवाको सुरुवात गरिएको छा–याँ नेपाल कर्णाली प्रदेश संयोजक मिन बहादुर रावलले जानकारी दिए।
संयोजक रावलका अनुुसार सञ्चालनमा आएको सेवा पाईलट परियोजना हो। पालिकालाई उप स्ईंटलाइट, जिल्ला अस्पताललाई स्ईंटलाइट र प्रदेश अस्पताललाई हव अस्पतालका रूपमा मुगु, हुम्ला र जाजरकोट जिल्लाबाट सेवा सुरु गरिने भएको छ। यो सेवा सञ्चालनका लागि कर्णाली प्रदेश सरकारले आवश्यक चिकित्सकिय जनशक्तिको व्यवस्थापनमा सहजीकरण गर्ने छ।