भारतले सक्यो लोकसभा चुनावका सबै चरण
नयाँ दिल्ली : भारतीय नागरिकले लोकसभा निर्वाचनको सातौं तथा अन्तिम चरण मतदान गरेका छन्। यस निर्वाचनका लागि सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिट बाँकी थिए।
पञ्जाब र उत्तर प्रदेशका १३–१३ सिट, पश्चिम बंगालका ९, बिहारका ८, उडिसाका ६, हिमाचल प्रदेशका सबै ४ सिट, झारखण्डका ३ र चण्डीगढको एक सिटमा शनिबर मतदान भएको हो।
लोकसभा चुनावको अन्तिम चरणको प्रचार प्रसार बिहीबार साँझ सम्पन्न भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी र अन्य धेरै दलका नेता अन्तिम चरणको निर्वाचनमा चुनावी मैदानमा छन्। यो निर्वाचनमा ९ सय ४ जनाले उम्मेदवारी दिएका छन्।
सात चरणको लोकसभा चुनावको लामो प्रचारका क्रममा प्रधानमन्त्री मोदीले ७५ दिनमा दुई सयभन्दा बढी प्रचार कार्यक्रम आयोजना गरे। यसमा ¥याली र रोड शो समावेश थिए।
आफ्नो चुनावी अभियान समाप्त गरेपछि प्रधानमन्त्री मोदी बिहीबार साँझ तमिलनाडूको कन्याकुमारीमा विवेकानन्द रक मेमोरियलमा ध्यानका लागि पुगेका थिए। ध्यान आजसम्म जारी रह्यो। ध्यानमण्डपममा स्वामी विवेकानन्दले ध्यान गरेको ठाउँमा प्रधानमन्त्री मोदीले दिनरात ध्यान गर्ने बताइएको छ। लोकसभा चुनावको अघिल्लो छ चरणको मतदान अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा भएका थिए। मतगणना जुन ४ अर्थात मंगलबार सुरु हुनेछ र नतिजा सोही दिन आउने अपेक्षा गरिएको छ।