तलब सोझै शिक्षकको खातामा दिने मधेसको पहिलो गाउँपालिका छिन्नमस्ता

तलब सोझै शिक्षकको खातामा दिने मधेसको पहिलो गाउँपालिका छिन्नमस्ता
सुन्नुहोस्

राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिकाले शिक्षकको तलब सिधैं खातामा हाल्दिने व्यवस्था बुधबारदेखि कार्यान्यवनमा ल्याएको छ। यसअघिसम्म सम्बन्धित विद्यालयको खातामा शिक्षकको तलब जम्मा गर्दै आएको गाउँपालिकाले शिक्षकको तलब मासिक रूपमा ईएफटी (इलेक्ट्रोनिक्स फन्ड ट्रान्सफर) मार्फत सिधै बैंक खातामा निकासा दिन थालेको हो। तलव वितरणलाई पारदर्शी र जवाफदेही बनाउनका लागि ‘सूत्र’मार्फत शिक्षकलाई सिधै खातामा तलव हालिदिने व्यवस्था कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए। 

तलवी विवरणलाई ‘सूत्र’मार्फत कार्यान्वयन गर्ने छिन्नमस्ता गाउँपालिका मधेस प्रदेशमै पहिलो सामुदायिक विद्यालय रहेको अध्यक्ष चौधरीले दाबी गरे। चौधरीका अनुसार बुधबार सखडा विद्यालयका शिक्षक कर्मचारीको तलब पठाइएको छ। ‘त्रैमासिक रूपमा दिँदै आएको शिक्षक कर्मचारीको तलब मासिक रूपमा इएफटिमार्फत सौझै बैंक खातामा पठाउने काम सुरु भएपछि शिक्षकहरूलाई सहज हुनेछ’, उनले भने। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्वल आनन्दका अनुसार यसबाट गाउँपालिकाको १९ विद्यालयका १ सय ६७ जना शिक्षक, कर्मचारी प्रत्यक्ष लाभान्वित हुनेछन्। त्रैमासिक रूपमा पाउँदै आएको तलब मासिक रूपमा पाउने भएपछि विद्यालयका शिक्षक, कर्मचारीहरूको दैनिक कामकाजमा सहजता हुने आनन्दले विश्वास व्यक्त गरे।

यसअघि शिक्षकको तलब सम्बन्धित विद्यालयको खातामा जम्मा गर्ने र विद्यालयले सम्बन्धित शिक्षकको खातामा जम्मा गरिदिने व्यवस्था थियो। तलबका लागि विद्यालयका प्रधानाध्यापक गाउँपालिका पुग्नुपर्ने, प्रधानाध्यापकले विद्यालय छाड्दा प्रशासन र पठन–पाठनमा असर पुग्ने र कतिपय बेला प्रधानाध्यापकले भने पनि शिक्षकको तलब जम्मा नगरिदिने समस्या अब हल भएको शिक्षकहरूले बताए। गाउँपालिकाका अनुसार करिब दुई सयको हाराहारीमा शिक्षक कार्यरत छन्।

गाउँपालिकाले सिधैं शिक्षकको खातामा तलब जम्मा गर्न थालेपछि प्रधानाध्यापकको समय बचत भएको छ भने गाउँपालिका धाउने समयलाई विद्यालयको शैक्षिक क्रियाकलापमा खर्च गर्ने वातावरण बनेको शिक्षक छिन्नमस्ता भूपेन्द्र संस्कृत माध्यमिक विद्यालय शिक्षक इन्द्र थापाले बताए। आफूले आजै तलब निकालेको भन्दै थापाले भने– ‘छिटो र छरितो काम हुन्छ। शिक्षकको ग्रेड वृद्धि वारे थाहा हुन्छ। कर कट्टी कति गर्नुपर्ने भन्ने थाहा हुन्छ, शिक्षकको अवकाश मिति थाहा हुन्छ।’ अर्का शिक्षक लालबहादुर मण्डलले भने, ‘कतिपय अवस्थामा प्रधानाध्यापकले चार-पाँच दिनसम्म शिक्षकलाई तलब दिएन भन्ने गुनासो सुनिन्थ्यो। अव तलवका लागि प्रअले पालिका धाइरहनुपर्दैन। त्यो समयलाई प्रअले पनि पठन–पाठनमा उपयोग गर्न सक्नुहुन्छ।’

‘ईएफटी’ कार्यान्वयनमा ल्याएको गाउँपालिकाले चेकलाई विस्थापित गर्दै ‘रियल टाइम, रियल एक्स्पेन्डिचर’ भन्ने नारालाई कार्यान्वयनमा ल्याएको प्रधानाध्यापक रामेश्वरप्रसाद यादवले बताए। तीन महिनासम्म तलब नआउँदा ऋण सापटी लिनुपर्ने झन्झटबाट आराम मिलेको शिक्षकहरूको भनाइ छ। इएफटी कार्यान्वयनसँगै शिक्षकहरूमा थप ऊर्जा भेटिएको छ। मासिक तलबले विभिन्न गर्जो टार्न सकिने, बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनुनपर्ने भएपछि मानसिक रूपमा पठनपाठन गराउन थप ऊर्जा मिल्ने शिक्षा शाखा प्रमुख सन्तोषकुमार रायको विश्वास छ।

छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भूपेन्द्र संस्कृत माध्यमिक विद्यालय सखडामा कार्यरत शिक्षक कर्मचारीहरूले सात महिनादेखि तलब नपाएपछि वैशाख १२ गतेदेखि ४ सूत्रीय माग राख्दै विद्यालयको सम्पूर्ण गतिविधि स्थगन राखी संघर्षमा उत्रिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.