‘सीड्स फर द फ्युचर नेपाल’ को छात्रवृत्तिका लागि आवेदन माग
काठमाडौं : ह्वावेले आफ्नो ‘सिड्स फर द फ्युचर नेपाल २०२४’ का लागि आवेदन दर्ता खुला गरेको छ। सूचना प्रविधिको क्षेत्रमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिनका लागि ह्वावेले आवेदन माग गरेको हो।
स्नातक तहका विद्यार्थीले वेबसाइटमार्फत् जुन ९ तारिखसम्म आवेदन दर्ता गर्न सक्छन्। www.seedsnep.com मा गएर आवेदन दिन सकिने ह्वावे नेपालले जनाएको छ।
सन् २०२४ मा हुने सिड्स फर द फ्युचर नेपाल कार्यक्रमको काठमाडौंमा उद्घाटन गरेर घोषणा गरिएको हो। ह्वावेले अहिले लगातार चौथो वर्ष सीड्स फर द फ्युचर नेपाल छात्रवृत्ति कार्यक्रम गरेको हो।
कार्यक्रमको माध्यमबाट, ह्वावेले डिजिटलाइजेशन, नवीनता, उद्यमशीलता र दिगोपनमा गहन आईसीटी सत्रहरू सुविधा प्रदान गरेर नेपालमा आईसीटी इकोसिस्टमलाई बढावा दिएको दाबी गरेको छ।
उद्घाटन मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनी, काठमाडौं विश्वविद्यालयका कुलपति भोला थापा, ह्वावे नेपालका सीईओ हुआंग जुन, इन्टरप्राइज बिजनेसका सीटीओ एन्ड्रयू पेङलगायत सहभागी थिए।
यस्तै विभिन्न विश्वविद्यालयका डीन र प्राध्यापकहरू, विभिन्न सङ्गठनका अध्यक्ष र सीईओहरूको पनि सहभागिता थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले ह्वावेको उपस्थितिबाट युवा दिमागलाई आईसीटी क्षेत्रमा अगाडि बढ्न अवसर प्रदान गरेको बताए।
नेपालका लागि चीनका राजदूत छन सोङले भविष्यका लागि बीउ कार्यक्रम नेपालमा युवा प्रतिभाको पोषण र नवीनतालाई बढावा दिनको लागि एक महत्त्वपूर्ण कार्यक्रम रहेको बताए। यसवर्ष ह्वावेले सरकार, शैक्षिक संस्था र उद्योग विशेषज्ञहरू सम्मिलित एक विविध जूरी बोर्ड गठन गरेको छ। यो दुई महिनाको अवधिमा छात्रवृत्तिको लागि अन्तर्वार्ता, कार्य र प्रस्तुतीकरणका धेरै चरणहरू हुनेछन्।
विश्वव्यापी ब्रान्ड भए पनि ह्वावेले २५ वर्षभन्दा बढी समयदेखि नेपालमा काम गर्दै आएको छ। ह्वावेले नेपाली प्रतिभालाई प्रविधि क्षेत्रमा पोषण गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यस कार्यक्रमको माध्यमबाट ह्वावेले नेपालमा विश्वव्यापी सूचना तथा सञ्चार प्रविधिको ज्ञान विस्तार गर्दै आएको दाबी गरेको छ।
सन् २००८ मा स्थापना भएको सिड्स फर फ्युचर कार्यक्रमले १३९ देशका १५ हजार भन्दा बढी विद्यार्थीलाई सकारात्मक प्रभाव पारेको छ। यसबाहेक, यसले पाँच सय भन्दा धेरै विश्वविद्यालय र कलेजहरूसँग साझेदारी गरेको छ। सीड्स फर द फ्युचर नेपाल सन् २०२१ मा नेपालमा सुरु भएको ह्वावेको प्रमुख सीएसआर कार्यक्रम हो।