गिरीबन्धुको फाइल खोल्ने तयारी भइरहेको छ : मनिष झा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गिरीबन्धुको फाइल खोल्ने तयारी भइरहेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद झाले आफ्नो पार्टी सरकारमा गएपछि टिकापुर,बाँसबारी जग्गा प्रकरणको छानविन गरेको भन्दै भुटानी शरणार्थी प्रकरणको पुनः छानविन गर्ने र गिरीबन्धुको पनि फाइल खोल्ने तयारी भइरहेको बताए।
उनले सहकारी प्रकरणमा आफूहरुले ससर्त छानविन समिति बनाउन तयार रहेको जनाएको र त्यहि आधारमा अहिले संसदीय छानविन समिति बनेको धारणा राखे । आफूहरु प्रसस्तै विकल्प छाडेर देशका लागि केहि गर्न राजनीतिमा होमिएको उनको भनाइ छ।
सांसद झाले संसदमा बोल्ने क्रममा केहि नेताहरुले परिवर्तनको क्रेडिट लिन खोजेको भन्दै राजनीतिमा सबै परिवर्तनको क्रेडिट लिने काम उचित नभएको जिकिर गरे। लामो समय संसद अवरुद्ध हुँदा जनताका समस्याको उठान गर्न नपाइएको उल्लेख गर्दै उनले संसद खुलेपछि निरन्तर जनताको पक्षमा आवाज उठाइने बताए।