सूर्यदर्शन सहकारी ठगी प्रकरणको जाहेरीसमेत माग

गृहमन्त्री लामिछानेविरुद्धको रिटलाई अग्राधिकार दिँदै सर्वोच्चले माग्यो कारण देखाउ आदेश

गृहमन्त्री लामिछानेविरुद्धको रिटलाई अग्राधिकार दिँदै सर्वोच्चले माग्यो कारण देखाउ आदेश

काठमाडौं : सर्वोच्च अदालतले सहकारी ठगी प्रकरणमा  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटमा  कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासल‍े आइतबार सुनुवाइ सकिएपछि विपक्षीका नाममा यस्तो आदेश जारी गरेको हो। आइतबार निवेदकका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए।

रिटलाई अग्राधिकार दिने कि नदिने भन्नेबारे निर्णय लिन दुवै पक्षलाई छलफलका लागि जेठ २८ गते बोलाएको छ।सर्वोच्चले काश्की सूर्यदर्शन सहकारी ठगीबारे गृहमन्त्री लामिछानेविरुद्ध परेको जाहेरीको प्रतिलिपि समेत झिकाएको छ। 

'यसमा के कसो भएको हो? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु  नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए सो को मनासि आधार र कारण तथा भए सवुद प्रमाणसहित म्याद सूचना पाएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् जवाफ पेश गर्नु भनी आदेश र रिट निवेदनको प्रतिलिपि साथै विपक्षीहरुका नाममा म्याद सूचना पठाइ सो को वोधार्थ महान्यायाधिवक्ताको कार्यालयमा दिइ म्याद भित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमअनुसार गर्नू,'आदेशमा भनिएको छ।

गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने ठहर गर्दै निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको थियो। रिटमा महान्यायाधिवक्ता कार्यालय,महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई  विपक्षी बनाइएको छ।

गृहमन्त्री लामिछाने पदमा रहिरहेका बेला सहकारी ठगी प्रकरणको छानबिन हुँदा 'कन्फ्लिक्ट अफ इन्टरेस्ट' हुने भन्दै निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। 

लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ। महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा कुनै पनि उजुरी नपरेको भन्दै पत्र पठाएपछि अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री र महान्याधिवक्ताविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए।

तर,अदालत प्रशासनले रिट दरपीठ गरिदिएपछि भट्टराईले अर्को रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न अदालत प्रशासनलाई आदेश दिएको थियो।

सोही आदेशअनुसार  सहकारी ठगी प्रकरणमा  गृहमन्त्री लामिछानेविरुद्धको रिट  सर्वोच्च प्रशासनले दर्ता गरेको हो।  महान्यायाधिवक्ताको कार्यालयले रुपन्देहीकोसुप्रिप बचत तथा ऋण सहकारी संस्था, चितवनको साहारा सहकारी संस्था तथा कास्कीको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनासम्बन्धी लामिछानेविरुद्ध कुनै उजुरी/जाहेरी र अनुसन्धान तथा अभियोजन समेत भएको नदेखिएको जानकारी गराएको थियो।

उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारणा गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनु्चित प्रभाव र प्रतिकूल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्त विपरित समेत रहने स्पष्ट  भएको हुँदा अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्नु भनि नेपाल सरकार,मन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको नाउँमा अन्तरिम प्रकृतिको उपयुक्त आदेश माग गरिएको छ।

लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप छ। लामिछानेसहित देशैभरका समस्याग्रस्त सहकारीको छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.