स्याङ्जामा ३० जनामा पाठेघर र स्तन क्यान्सरको आशंका
स्याङ्जा : पुतलीबजार नगरपालिका भित्रका महिलाका प्रजनन स्वास्थ्य परीक्षण गरिएको छ। जिल्ला अस्पतालको प्राविधिक सहयोगमा नगरपालिकाले आयोजना गरेको शिविरमा २ हजार ३९३ जनाको परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ३० जनामा पाठेघर र स्तन क्यान्सरको आशंका गरिएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए।
पाठेघर, फिस्टुला र आङ खस्ने जस्ता समस्याको परीक्षण गर्न आएका एक हजार १५० जनामध्ये २३ जनामा पाठेघरको क्यान्सरको शंका देखिएको मेडिकल अधिकृत डा.सुशील ढकालले जानकारी दिए। स्तन क्यान्सरको स्क्रिनिङ गरिएका १ हजार २४३ जना मध्ये ७ जनाको स्तनमा गाँठा तथा गिर्खा भेटिएको डा. ढकालले बताए।
५१ जनामा आङ खस्ने समस्या देखिएको छ। ती मध्ये ३५ जनाले रिङ् पेशरी, चार जनाले विभिन्न खालका (प्लाष्टिक, ढुंगा) राखेको र ५८ जनामा मास पल्पी देखिएको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदीले जानकारी दिइन्।
दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ (भीआइए), स्तन क्यान्सरको स्क्रिनिङ, अब्स्टेट्रिक फिस्टुला र आङ खस्ने जस्ता प्रजनन स्वास्थ्यसँग सम्बन्धित परीक्षण गरिएको हो।