कोशीको नीति तथा कार्यक्रम स्वीकृत
विराटनगर : कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।
प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमलाई स्वीकृत गर्ने निर्णय आइतबारको मन्त्रिपरिषद्ले गरेको हो। स्वीकृत भएको नीति तथा कार्यक्रम सोमबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गर्ने छन्। त्यसका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले प्रदेशसभाको चालु अधिवेशनलाई सम्बोधन गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय बैठकमा भएको जानकारी दिए। उनका अनुसार प्रदेश प्रमुखले गर्ने सम्बोधनको व्यवस्था मिलाउन प्रदेशसभालाई अनुरोध गर्ने निर्णय समेत भएको छ।
मन्त्रिपरिषद् बैठकले महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन २०८१ लाई प्रदेशसभामा पेस गर्ने स्वीकृति प्रदान गरेको छ। त्यस्तै, युवा तथा खेलकुदतर्फको प्रस्तावमा आधारित खेल पूर्वाधार निर्माण एवं स्तरोन्नति कार्यक्रम सञ्चालनका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण गर्ने निर्णय बैठकमा भएको मन्त्री अधिकारीले बताए।
२०८० फागुन २३ गतेको मन्त्रिपरिषद् बैठकले खेल पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रम सञ्चालनका लागि सहरी विकास तथा भवन कार्यालयलाई बजेट पठाउने निर्णय गरेको थियो। त्यसलाई संशोधन गर्दै आइतबारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरी योजनाको कार्यान्वयन गर्ने व्यवस्था गरिएको जानकारी अधिकारीले दिए।