एमालेलाई चिठी
प्रिय कमरेडहरू
हामी आरामै छौं। थप स्वस्थताका लागि दसांै महाधिवेशनमा प्रयत्न गर्दैछौं। तपाईंहरूलाई कस्तो छ ? आशा छ, आरामै हुनुहोला। यसबीचमा हामी अलि साना भएका छांै, तपार्इंहरू मोटाइरहनु भएको छ। यो कुरा इलाम र बझाङले पनि पुष्टि गर्यो।
सबाल मोटो र दुब्लोको होइन, स्वस्थताको हो। तपाईंको मोटोपनमा हाम्रो कुनै आपत्ति छैन। सरोकार तपाईंहरू स्वस्थ हुनुहोस् भन्ने मात्र हो। किनकि तपाईंको स्वस्थता र अस्वस्थताले सिंगो कम्युनिस्ट आन्दोलनलाई प्रभावित पार्छ। हामी सानै भए पनि यसको क्रान्तिकारी चुरो कायम राख्ने प्रयत्न गर्दैछौं। हालै हाम्रो केन्द्रीय कमिटीले पारित गरेको समाजवादी कार्यक्रम पढ्नु भयो होला। यसबाटै थाहा हुन्छ, वामपन्थी चरित्रमा दाग लाग्न दिएका छैनौं।
मान्छेहरू भन्छन्, ‘मोटोपन स्वास्थ्यका लागि त्यति राम्रो होइन।’ हाम्रो चिन्ता तपाईंको मोटोपन अस्वस्थतामा नबदिलियोस् भन्ने मात्र हो। देखिरहेका छौं, तपाईंको भुँडीको आकार अलि अस्वाभाविक ढंगले बढेको छ। इलामको निर्वाचनले यही पुष्टि गर्यो। तर त्यहाँ तपाईंहरूले कम्युनिस्ट आन्दोलनभित्रको कुरूप वंश परम्परालाई फेरि दोहोर्याउनु भयो। आन्दोलन विचारले, दृष्टिकोणले र वर्ग पक्षधरताले मात्र अगाडि बढ्छ, वंश परम्पराले होइन। तपाईंहरूले अवलम्बन गर्नुभएको वंश परम्पराले भुँडीको आकार त वृद्धि भयो होला, तर आन्दोलनलाई मद्दत पुर्याएन।
म यो चिठीमा तपार्इंहरूले सत्यानास बनाउनु भएको नेकपा (नेकपा)को विभाजनको कुरा उठाउन गइरहेको छैन। त्यतिमात्र होइन, कम्युनिस्टहरूले प्राप्त गरेको लगभग दुई तिहाइ बहुमतीय सरकारको दुरुपयोगको कुरा पनि उठाउँदिनँ। दुई—दुई चोटी असंवैधानिक ढंगले संसद् विघटन गरेको कुरा त के उठाउनु ? पुरानो भइसक्यो। यसलाई बारम्बार उठाउनु भनेको केवल हामीबीच थप फाटो बढाउनु मात्र हो। यसको समीक्षा गर्ने काम अब इतिहासलाई छोडिदिउँ। अब विभाजन होइन, एकताको कुरा गरौं।
हाम्रो दस्तावेजमार्फत तय गर्यौं, अब नेपाली कम्युनिस्टहरूले समाजवाद निर्माणका लागि आफ्नो शक्ति खर्च गर्नुपर्छ। तपाईंहरूको मोटोपन र त्यो मोटोपनको अल्छीले जनताको बहुदलीय जनवादलाई इतिहासको दराजमा सुरक्षित ढंगले थन्क्याउन सक्नु भएको छैन। कमरेड मदनले भन्नु भएको थियो, ‘जबज सारमा नौलो जनवादी क्रान्ति’ नै हो। २०६२/६३ को जनक्रान्तिले यो ऐतिहासिक दायित्व पूरा गरेन र ? मदनको अगुवाइमा प्रतिपादित जबजले आफ्नो काम सक्यो। अर्थात् यो सफल रह्यो। यतिबेला त कमरेड मदनको दूरदर्शितालाई सम्मान गर्दै जबजलाई धन्यवाद दिनुपर्ने होइन र ? यो काम हामीले त महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई केन्द्रीय कमिटीद्वारा पारित गरेर सम्पन्न गरिसक्यौं।
तर तपाईंहरू भने अझै जबजलाई बोकेर अर्थात् त्यसको सफलताको अवमूल्यन गरेर सामन्तवाद खोज्दै हिँडिरहनु भएको छ। त्यसैले बरु आउनोस् ! सँगै मिलेर, एकै स्वरले जबजलाई धन्यवाद दिउँ, यसको सफलताको कहानी भनौं। र अगाडि बढौं, समाजवादको यात्रामा। यति त बुझांै मित्र ! अब राजकीय सत्तामा र उत्पादन पद्धतिमा सामन्तवाद छैन। अब हाम्रो सीधा लडाईं दलाल र वित्तीय पुँजीवादसँग छ। त्यसबाहेक त्यसले नेपाली जनतामाथि थोपरेको नवउदारवादसँग छ।
अबको हाम्रो काम भनेको शिक्षा र स्वास्थ्यमा निरन्तर बढिरहेको निजीकरणलाई रोक्नु हो। शिक्षा र स्वास्थ्यलाई वस्तुकरण गर्ने नवउदारवादी दृष्टिकोणसँग भिड्नै पर्छ। थाहा छ कमरेड ! यो काम गाह्रो छ। देशीविदेशी प्रतिक्रियावादीहरूले हाम्राविरुद्ध मोर्चा खोल्न सक्छन्। अब इतिहासले यो वर्गसंघर्ष खोजेको छ। नडराउनोस् मित्रहरू हामी हार्दैनौं। यो कामका लागि तपाईंहरूले ट्रेड मिलमा दौडिएर अलिकति बोसो घटाउनै पर्छ, हामी त त्यसै खिरिलो छँदै छौं। हामी स्वस्थ र एकताबद्ध नभै विश्व पुँजीवाद र त्यसले हामीमाथि लादेका कामदार विरोधी प्रबन्धहरूलाई बदल्न सक्दैनौं। इतिहासले हामीलाई यो जिम्मा लगाएको छ। छलकपटबिना युगीन दायित्व पूरा गर्नेतर्फ लागौं।
निम्ता छ, तपाईंहरूलाई हाम्रो दशौं महाधिवेशनमा, जुन यही असार १६ देखि २० सम्म हुन गइरहेको छ। पढनोस् ! हाम्रा दस्तावेजहरू। हामीले निर्दिष्ट गरेका बाटाहरू, निश्चय पनि तपाईंहरूका लागि मार्गनिर्देशन बन्न सक्नेछन्। हामीलाई थाहा छ, तपाईंहरू मोटो शरीर लिएर दोबाटोमा हुनुहुन्छ। यो पनि थाहा छ, बुर्जुवा वर्गतर्फ जाने बाटो सरल र सुगम हुन्छ। अर्को बाटो समाजवादी क्रान्तिको हो, जुन कठिन र उकाली–ओराली छ। हामीले दशौं महाधिवेशनमार्फत कठिन बाटो रोज्दैछौं। हामी यतिखेर तपाईंहरूलाई पनि कठिन बाटो रोज्न आह्वान गर्छौं। यो बाटो इमानको हो, साहसको हो, त्याग र बलिदानको हो, त्योभन्दा धेरै गौरवको हो।
‘सँगै जाउँ साथी सँगै जाउँ, अघि नजाउँ साथी अघि नजाउँ’ भन्ने बोलको गीत हामीले हजारौं पटक सँगसँगै गाएको होइन र ? ‘आऊ, मिलाऊ हातहरू’ भन्ने गीत त तपार्इं हामीलाई कण्ठै छ नि ! ती गीतहरू फेरि सँगै गाउन मान्छेहरू आह्वान गरिरहेका छन्। हाम्रो चिन्ता तपार्इंहरूले ती गीतहरू बिर्सेकोमा होइन। चिन्ता त यति हो, तपाईंहरू कोमल ओलीका गीतहरूमा नाच्न थाल्नु भएको छ।
हामी फेरि मिल्न सक्छांै। त्यो मिलनबिन्दु हाम्रो दस्तावेजमा छ। त्यो दस्तावेजले हामीलाई फेरि जोड्न सक्छ। तर तपाईंहरूले यति चाहिँ बुझ्नै पर्छ, हाम्रो क्रान्तिको कार्यभार रामको जन्मभूमि होइन। हजारौं लाखौं श्रमजीवीहरू समाजवादी क्रान्तिको मैदानमा तपार्इंहरूलाई देख्न चाहन्छन्। कमल थापाको बार्दलीबाट हेर्नोस् त कमरेड ! राता मान्छेहरू तपाईंलाई त्यहाँबाट तल ओर्लेर सडकमा रातो झण्डा बोकेर नाचेको देख्न चाहन्छन्। हामी पनि तपाईंसँग हात मिलाउन तयार छौं, सर्त यत्ति हो। तपाईंहरूको काममा वर्गपक्षधरता देखिनु पर्छ।
चिठीको बिट मार्नुभन्दा अगाडि फेरि भनौं, कमरेड ! तपाईंलाई हाम्रो महाधिवेशनमा स्वागत छ। गल्ती हुन सक्छ, स्वमहसुस ठूलो कुरा हो। क्रान्तिकारीहरूको दिल ठूलो हुन्छ। ‘आऊ, मिलाऊ हातहरू’ भन्ने गीत गाउँदै दसौं महाधिवेशनमा सहभागी बनौं।
हार्दिक अभिवादनसहित उपप्रमुख, केन्द्रीय प्रचार विभाग, नेकपा (एकीकृत समाजवादी)।