कोशी सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
विराटनगर : कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम आज (सोमबार) प्रदेशसभामा प्रस्तुत हुँदैछ। मन्त्रिपरिषद् बैठकले आइतबार नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको थियो ।
प्रदेशसभाको चालु अधिवेशनलाई सम्बोधन गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई अनुरोध गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ । उक्त निर्णयसँगै आज दिउँसो ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूचीअन्तर्गतको प्रदेशसभा बैठकमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । कोशीमा पछिल्लो सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको र मुद्दाको छिनोफानो भइनसकेको भन्दै कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार गर्दै आएको थियो ।
तर, नीति तथा कार्यक्रम प्रस्तुत गरिने प्रदेशसभा बैठकमा भने कांग्रेस उपस्थित हुने भएको हो । केन्द्रकै निर्देशन अनुसार बैठकमा उपस्थित हुने तयारी गरिएको पार्टीका प्रमुख सचेतक गोपाल तामाङले बताए । उनका अनुसार संसदमा उपस्थित हुने निर्णय गर्न केही बेरमा पार्टीको प्रदेश संसदीय दलको बैठक बस्ने छ ।
कोशीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेतृत्वको सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । मुद्दा किनारा नलागेसम्मका लागि भनेर कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार गर्दै आएको थियो ।