अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा नेपाल
बागलुङ : नेपाल बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बंगलादेशको ढाकामा आइतबार सम्पन्न निकै रोमाञ्चक दोस्रो सेमिफाइनलमा केन्यालाई पेनाल्टीमा ५९–५५ ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो।
निर्धारित समयमा नेपाल र केन्याको ५०–५० अंक बराबरी भएपछि फाइनल प्रवेशको लागि खेल पेनाल्टी (५ रेडमा) धकेलिएको थियो। नेपालले पेनाल्टीमा (५ रेडमा) केन्यालाई ९–५ अंकले पराजित गर्यो।
नेपालले उपाधिका लागि घरेलु टोली बंगलादेशको सामना गर्नेछ। आइतबार भएको पहिलो सेमिफाइनलमा आयोजक बंगलादेशले थाइल्याण्डलाई ४१–१८ अंकले पराजित गर्दै फाइनल पुगेको छ।
नेपालले समूह चरणको ५ खेल मध्ये ४ खेलमा विजयी हुँदै समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। नेपालले समूह चरणमा मलेसिया, पोल्याण्ड, दक्षिण कोरिया, इन्डोनेसिया माथि जित निकालेको थियो भने बंगलादेशसँग पराजित भएको थियो।