गाजाको ५५ प्रतिशत संरचना ध्वस्त वा क्षतिग्रस्त
संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक स्याटेलाइट विश्लेषणअनुसार आठ महिनाअघि प्यालेस्टिनी क्षेत्रमा युद्ध सुरु भएपछि गाजा पट्टीमा करिब ५५ प्रतिशत संरचनाहरू ध्वस्त, क्षतिग्रस्त वा सम्भावितरूपमा क्षतिग्रस्त भएका छन्।
राष्ट्रसङ्घीय स्याटेलाइट विश्लेषण एजेन्सी युएनओएसएटीले सामाजिक सञ्जाल एक्समा एक लाख ३७ हजारभन्दा धेरै भवन युद्धबाट प्रभावित भएको विश्लेषणबाट पत्ता लागेको बताएको छ।
उक्त अनुमान मे ३ मा लिइएको स्याटेलाइट तस्बिरमा आधारित छ। यसको तुलना गत वर्षको मे, सेप्टेम्बर र हमासले इजराइलमाथि आक्रमण गरेको अक्टोबर ७ भन्दा ठिक एक सातापछि अक्टोबर १५ मा लिइएको तस्बिरसँग गरिएको छ। हमासले गरेको आक्रमणपछि युद्ध सुरु भएको थियो।
पछिल्लो स्याटेलाइट तस्बिरको तुलना नोभेम्बरमा धेरै मितिमा लिइएका तस्बिरहरूसँग पनि गरिएको थियो। 'स्याटेलाइट इमेजरी विश्लेषअनुसार युएनओएसएटीले ३६ हजार पाँच सय ९१ ध्वस्त संरचनाहरूको पहिचान गरेको छ', एजेन्सीले विज्ञप्तिमा भनेको छ।
यसका साथै १६ हजार पाँच सय १३ गम्भीररूपमा ध्वस्त संरचना, ४७ हजार तीन सय ६८ सामान्यरूपमा क्षतिग्रस्त संरचना र कूल एक लाख ३७ हजार दुई सय ९७ संरचनामा ३६ हजार आठ सय २५ सम्भावित क्षतिग्रस्त संरचना देखिएको एजेन्सीले उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, 'यो गाजा पट्टीमा कूल संरचनाको करिब ५५ प्रतिशत र कूल एक लाख ३५ हजार एक सय ४२ अनुमानित क्षतिग्रस्त आवास एकाइअनुरूप हो।'
केन्द्रमा दिर अल–बलाह र उत्तरमा गाजाको गभर्नरेटमा अप्रिल १ देखि मे ३ को बीचमा धेरै नोक्सान भएको स्याटेलाइट तस्बिरबाट थाहा भएको युएनओएसएटीले भनेको छ।
उक्त मितिमा स्याटेलाइट तस्बिरहरूको तुलना गर्दा दिर अल–बलाहमा थप दुई हजार छ सय १३ संरचना क्षतिग्रस्त भएको र मात्र एक महिनामा गाजा गभर्नरेटमा थप दुई हजार तीन सय ६८ संरचना ध्वस्त भएको थियो।
एजेन्सीले निष्कर्ष प्रारम्भिक विश्लेषणको भाग भएको र यसलाई अझै पनि फिल्डमा मान्य हुन बाँकी रहेको जनाएको छ। रासस