काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको बताएका छन्। मंगलबार बिहान प्रधामन्त्रीले सामाजिक सञ्जालमार्फत सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको बताएका हुन्।
एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्न लागेकाले विश्वको ध्यान नेपालतर्फ खिचिएको उनको भनाई छ। ‘एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ,विश्वको ध्यान नेपालतर्फ खिचिएको छ।’ उनले भनेका छन्,‘देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकोमा नेपाली क्रिकेट टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।’
विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने प्रधानमन्त्री प्रचण्डको दाबी छ। ‘मेरो नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि निरन्तर महत्वपूर्ण निर्णयहरू गरी कार्यान्वयन गर्दै आइरहेको छ। सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुँदैछ। ’उनले भने, ‘मेरो विश्वास छ– विश्वकपले नेपालको पहिचान थप उच्च बनाउनेछ, नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त हुनेछ। उत्कृष्ट प्रदर्शनका लागि नेपाली टिमलाई मेरो हार्दिक शुभकामना छ।’
आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ। समूह डीमा रहेको नेपालले अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति आज राति ९ :१५ बजे नेदरल्यान्ड्सविरूद्ध खेल्न लागेको हो।
समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपालले दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ। नेपालले १० वर्षपछि विश्वकप खेल्दैछ।