भावनामाथिको राजनीति

भावनामाथिको राजनीति

विमानस्थलमा जति अर्काको देशमा प्रस्थान गर्ने बेलामा आँखाका आँसु देखिन्थे। फर्किंदा त्यो आँसु कहाँ लुक्थ्यो म नियालेर हेर्ने गर्थें। प्रस्थान हुने समयमा यदाकदाबाहेक सबैजना विमानस्थलमा पुर्‍याउन आउनेको ताँती देख्ता लाग्थ्यो– हाम्रा गाउँघरका घरमा मात्र मुसा कुदेको छ होला। मुसा नहुँदा माकुराले त्यही हो मेरो संसार जस्तै राज गरेर बसेको जस्तो लाग्छ।

विमानस्थलको मेडिकल एरियामा सदै आँखा पुग्ने भएर होला को कहाँको मान्छेको शरीरप्रतिको मेरो आँखा रसाउने गथ्र्यो। जिउँदो छँदासम्म सबै कुरा छोडेर विमानस्थल छोड्न आउने ती आफन्त आज उसको मृत शरीर बाहिरबाट गन्हाएर आउँदासम्म उसको एकजनासम्म आफन्त उसको लास बुझ्न आएको हुँदैन। जाने समयमा त्यहाँ ती आफन्त आज खै त ? डुङ्डुङ् गन्हाउने हुँदासम्म लास बुझ्न आउँदैनन्।

एक रात, मलेसिया एयरलाइन्सबाट आएको लास भन्दै हुनुहुन्थ्यो तर बुझ्न आउनु भएको थिएन। विमानस्थलमा सोधें– ‘किन मेडम त्यस्तो ?’ उहाँले जवाफ दिनुभयो– ‘हामीले के नै गर्न सक्छौं र ? 

जसको नाममा बाहिरबाट लास आएको छ।’ उहाँ नआई दिन नमिल्ने रहेछ। एकछिनपछि परिवार आउनु भयो। ‘घर कता हो ?’ ‘सप्तरी’। कसैको आँखामा पीर देखिएन। एक छिनपछि उहाँको मृतकको श्रीमती आउनु भयो र भन्दै हुनुहुन्थ्यो, ‘लास मेरो नाममा आएको छ रे, बुझेर यही पशुपतिमा अन्त्येष्टि गर्छु। किन यत्रो बाटो मरेको शरीर लैजानु।’ उहाँहरूको छलफल चल्दै थियो। म त्यहाँबाट निस्कें। झन्डै रात एक बज्न लागेको थियो। त्यो दिन पनि लास त्यही थियो। मरेको शरीरमाथि एकपछि अर्को राजनीति चल्दै थियो। अन्य बाहिरी कारणले नभई आफ्नै घरपरिवारबाट चलेको राजनीति। झन् हामी बाहिरी देख्नेलाई पीडा भएको थियो जुन पीडा त्यो परिवारमा खासै देख्न सकिँदैनथियो। यो त त्यहाँ आएका सयांै मृत शरीरको प्रतिनिधि मात्र हो।

हरेक दिन रंगीचंगी बाकसमा मृत शरीर आउँदा पनि खै लिन आउनेको आँखामा आँसु, दुःख, वेदनाको महसुस गर्नेको संख्या खासै देख्न सकिँदैनथियो। बिदाइ गर्ने समयमा डाँको छोडेर रुने ती श्रीमती, आफन्त मरेको लास बाकसमा खोलेरसमेत अन्तिम अनुहार हेर्दैनथिए। त्यही अवस्थामा केही समय अगाडि मात्रको कुरा हो। एउटै जहाजमा दुईवटा लास आएको रहेछ। लास बुझ्ने समयमा जसको नाम हो त्यही लिएर जानु भएछ। उता अन्तिम संस्कारअनुसार जलाउने समयमा आफ्नो आफन्तको लास नभएर अर्कै परेछ। आफन्त झस्केर रिसाउँदै विमानस्थलका कर्मचारीमाथि रिस देखाउनु भएछ। विमानस्थलका कर्मचारीको त्यसमा के दोष ?

लास बुझाउने समयमा बाकसमा खोलेर हेरेर बुझाउँदा पनि सम्बन्धित आफन्तबाहेक कर्मचारीले चिन्दैनन्, त्यो स्वाभाविक कुरा हो। त्यो कुरामा विमानस्थलका कर्मचारीको कुनै दोष हँुदैन। कम्पनी देश र सम्बन्धित एयरलाइन्समा आएको लास बुझाउने मात्र हो। कतिपय समयमा लास बुझ्न कमै आएको पाइन्छ। कोही चाँडै आउनु हुन्छ। किन त्यस्तो भनेर मैले प्रश्न गरें। उहाँले भन्दै हुनुहुन्थ्यो– सरकारले श्रम गरेर बाहिर भएको कामदारको मृत्यु भएमा १० लाखदेखि देशअनुसारको मृतकको परिवारलाई क्षतिपूर्ति स्वरूप दिने भएकाले पैसाको महत्वले कोही चाँडै आएको पाइयो। कोही गएको एक वर्ष पनि नभई मृत्यु भएमा जानेबेलाको ऋणसमेत तिर्न नसकेको चिन्ता अर्को आफन्त गुमाउनु पर्दाको पीडा समाधानभन्दा बढी समस्या आइपर्ने कारणले पनि थोरै मानिसमा मलिनता देख्न सकिन्छ। 

एकातिर बेरोजगारी समस्या जहाँको तहीँ छ भने अर्कोतर्फ देखासिकी कारणले बिदेसिन बाध्य छन्। अर्कोतर्फ जो बिदेसिनु भएको छ, उहाँले कहिल्यै अर्काको देशमा गाह्रो हुन्छ, आफ्नै जन्मभूमिमा काम गर्नुपर्छ भन्नुहुन्न। जस्तो जे भए पनि स्वदेश भनेको स्वदेश नै हो भन्ने उत्प्रेरणात्मक भावना सम्प्रेषण गर्नु भएको देखिँदैन। आफ्नो देशको हावापानी अन्य कारणले उसलाई स्वदेशजस्तो विदेश पक्कै नहुने भएकाले उसले त्यहाँको प्रकृतिसँग समायोजन हुन नसक्ने भएकाले मनोवैज्ञानिक रूपमा कमजोर हुँदै जाने र रोगी भई स्वदेश फर्किनुपर्ने समस्या पनि धेरै नेपालीको छ। हरेक दिन सामाजिक सञ्जालमा भरिएका तस्बिरहरू त्यसको एक वर्ष नबित्दै मृत शरीर आउनु ज्युँदो हुँदा समय दिने आफन्त मरेपछि बेवास्ता गर्नु साँच्चै नै हृदयविदारक अवस्था देख्न सकिन्छ।

अचेल विमानस्थलमा सहजै देख्न सकिन्छ कि गाउँघरका शून्य समुदाय बाँझिएका खेतबारी उर्बर जमिनले मानिसलाई पर्खिरहेको छ। यता विमानस्थलमा फोटो र भिडियो बनाउने भिड दिनदिनै बढ्दै गर्दा त्यो ग्रामीण परिवेश गाउँमा लक्षित कार्यक्रमहरू कसरी गर्ने युवा पुस्ताको धारणा यस्तो भइसकेको की जसरी पनि बाहिर जाने तर विदेशमा लगानी गर्ने समय स्वदेशमा नै लागु गर्न सके सबैको भलाई नै हुन्थ्यो। वैदेशिक रोजगारीमा गएर आफूले पाएको दुःख सम्झेर कतिपय स्वदेशमै बस्नु भएको उदाहरण पनि प्रशस्त देख्न सकिन्छ।

धेरै मानिस गैरकानुनी रूपमा विदेश पलायन भएका छन्। त्यहाँको खानपिन प्राकृतिक अवस्था रहन सहनसँग समायोजन हुन नसकेर धेरैले ज्यान गुमाउनु भएको हुन्छ। केही समयअघि बिदेसिएका एक युवा कानुनी रूपमै जानु भएको तर उहाँको नेपालमा रहँदा मदिरा सेवन गर्ने बानीले गर्दा विदेशमा पनि अत्यधिक मदिरा सेवन गर्ने बानी थपियो। अत्यधिक मदिरा सेवन गरे पनि अरूको देशमा कसले ख्याल राख्थ्यो त ? सधैं मदिरा सेवन गरेर हिँड्दाहिँड्दै उहाँको विदेशमा नै मृत्यु भयो। ए, विदेश गएपछि सबथोक सजिलै पाइन्छ, सजिलो छ भन्ने सोच्नुहुन्छ होला तर सबैलाई सहज वातावरण नहुन पनि सक्छ। बल्लतल्ल घरपरिवारले ऋणपान गरेर पठाउनु भएको ऋण तिर्न नपाउँदै मृत शरीर आउँदा घरपरिवारको अवस्था झन् नाजुक अवस्थामा पुगेको प्रशस्तै भेटिन्छ।

विमानस्थलमा प्रस्थान गर्ने वरिपरि बाहिर धेरै रमिता देख्न सकिन्छ। सानो बालक बोकेर आउनाले त्यो सानो बालक के बुझ्छ र मेरो आफन्त विदेश जाने देश छोडेर जाने भनेर ? सानो बालक निदाइरहेको अवस्थामा भिडभाडमा ल्याएपछि त्यसै पनि उसलाई असहज अवस्था भएर ऊ रुन्छ। सबैका हातका मोबाइल उप्रति तेर्सिन्छ र पछि सामाजिक सञ्जालमा पोस्ट्याइन्छ कि ‘रहर हैन बाध्यता हो’। ए फलानाको छोरा उसको बुहारी छोरी ज्वाईं आज बाहिर जाने अरे भनेपछि जसरी पनि खादा र माला लिएर फोटो खिच्न पुग्ने जमात कफनमा फिर्ता आउँदा एकजना पनि पुग्दैनन्। बाकस बाहिर ३/४ जना पनि भेटिन्न।

अर्कोतर्फ विकसित मुलुकमा गएका आफ्ना एउटा जापान, अर्को अस्ट्रेलिया, अर्को अमेरिका गएका छोरा, छोरी, बुहारी कहिले आउँलान् भनेर घरमा कुरेर बसेका वृद्ध बाबुआमा आखिर कतिको आफन्त सन्तान फर्केर आएकै छैनन्। मर्ने बेलामा सन्तानको अनुहार हेरेर मर्ने धोको पनि पूरा नहुने अवस्था छ। आखिर सन्तान पाएर पनि के नै पाइयो र मर्ने बेलामा दागबत्ती दिने भएनन् भने ? रोगी बाबुआमाको हेरचाह गर्ने भएनन् भने ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.