भारतमा मतगणना जारी, कुन राज्यमा को अगाडि?
नयाँ दिल्ली : भारतीय लोकसभा निर्वाचनको मतगणना जारी छ। मंगलबार बिहान ८ बजेदेखि सुरु गरिएको मतगणनामा हालसम्मको नतिजा हेर्दा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले धेरै ठाँउमा अग्रता लिएको छ। त्यस्तै त्यस्तै दोस्रो स्थानमा इन्डिया गठबन्धन रहेको छ।
यी दुई पार्टीबीच कडा टक्करजस्तो अवस्था सिर्जना भएको देखिन्छ।
राज्यअनुसार हेर्दा उत्तरप्रदेशमा एन्डीएले ३९, इन्डिया गठबन्धनले ४० तथा अन्य पार्टीले १ स्थानमा अग्रता कायम गरेको देखिन्छ। त्यस्तै महाराष्ट्र मा एन्डीएले १८, इन्डिया गठबन्धनले २९ तथा अन्य पार्टी १ सिटमा अगाडि देखिन्छन्।
पश्चिम बंगालमा एन्डीएले १०, इन्डिया गठबन्धनले २३ तथा अन्य पार्टी ९ स्थानमा अगाडि छन्। बिहारमा एन्डीएले ३२, इन्डिया गठबन्धनले ८ सिटमा अगाडि देखिन्छन्। तमिलनाडुमा भने इन्डिया गठबन्धनले ३७ स्थानमा अग्रता कायम गरेको छ। एनडीए १ सिटमा मात्र अगाडि छ भने अन्य पार्टीले १ स्थानमा अग्रता कायम गरेका छन्।
भारतमा १८ औं लोकसभाको चुनाव सात चरणमा सम्पन्न भएको थियो। लोकसभा चुनावको पहिलो चरणको मतदान अप्रिल १९ मा भएको थियो भने अन्तिम चरणको मतदान जुन १ मा भएको थियो।
आज ५४३ सिटमध्ये ५४२ सिटमा मतगणना भइरहेको छ । सुरतको लोकसभा सीटमा भने बीजेपीका उम्मेदवारले निर्विरोध जित्न सफल भएका थिए।