राज्यसत्ताकै आडमा ढलिमुली गर्नेहरूले सहकारीको रकम अपचलन गरेका छन् : चित्रबहादुर केसी
काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्यसत्ताकै आडमा बस्नेहरूले सहकारीको रकम अपचलन गरेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता केसीले राज्यसत्तामै बसेकाहरूले सहकारीको सिद्धान्त र नीति विपरित जनताको पसिनामा पौडी खेलिरहेको टिप्पणी गरे।
उनले भने,' राज्यसत्ताकै आडमा राज्य सत्तामै ढलिमुली गर्नेहरूले सहकारीको सिद्धान्त र सहकार्यको नीति विपरित नेपाली जनताको पसिनामा पौडी खेलेको कुरा सबैलाई विविदै छ। सत्ताशक्तिमा बसेकाहरूले नै सहकारीको अपचलन गर्नेलाई जोगाउने, त्यसमा सामेल हुने र ठगहरूलाई साथ दिने कारणले पीडितहरूले न्याय पाउन सक्दैनन्।'
उनले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई महान्यायाधिवक्ताको कार्यालयले नै सफाइ दिएको बताए। यो कुरा नेपाली जनताले हेरिरहेको भन्दै नेता केसीले अनुसन्धान गर्ने निकायले नै बिना अनुसन्धान आरोपितलाई सफाइ दिनु दु:खद भएको बताए।
'के सुन्न पाइयो भने यसपालीको सहकारीको रकम अपचलन गर्नेलाई सफाइ दिएको देखियो। महान्यायाधिवक्ताले सफाइ दिएको देखियो। अनुसन्धान गर्ने निकायको प्रमुखले सफाइ दिएको देखियो। यो जात्रा नेपाली जनताले देखेका छन्,'उनले भने।
सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा उठाएको विषय जायज भएको उनको भनाइ छ।