चुनावको जोशमा साधना–शक्ति
भारतको शासन मोडेल विश्वका धेरै देशहरूका लागि उदाहरण बनेको छ।
सन् २०२४ को लोकसभा चुनाव अमृतकालमा पहिलो चुनाव हो । सन् १८५७ को पहिलो स्वतन्त्रता संग्रामको भूमि मेरठबाट मैले केही महिनाअघि अभियान सुरु गरेको थिएँ । त्यसबेलादेखि मैले हाम्रो महान् राष्ट्रको हरेक कुनाको यात्रा गरेको छु । यी चुनावको अन्तिम र्यालीले मलाई महान् गुरुहरूको भूमि र सन्त रविदासजीसँग जोडिएको भूमि पञ्जाबको होसियारपुरमा लिएर गयो । त्यसपछि म कन्याकुमारीमा माँ भारतीको चरणमा आइपुगेँ ।
चुनावको जोश मेरो मन र मस्तिष्कमा गुज्रिनु स्वाभाविक हो । र्याली र सडकमा देखिएका भीडका अनुहार मेरा आँखा अगाडि नाचिरह्यो । हाम्रा नारी शक्तिबाट प्राप्त आशीर्वाद, विश्वास, स्नेह, यी सबै अत्यन्तै सुखद थिए । मेरा आँखा रसाएका थिए— म ‘साधना’ (ध्यान अवस्था) मा प्रवेश गरेँ । र, त्यसपछि, गरमागरम राजनीतिक बहस, आक्रमण र प्रत्याक्रमण, आरोपका शब्द र आवाजहरू जुन सबै चुनावका विशेषता हुन् । ती सबै शून्यमा हराए । मेरो मनमा वैराग्यको भावना बढ्दै गयो । मेरो मन बाहिरी संसारबाट पूर्ण रूपमा अलग भयो ।
यति ठूलो जिम्मेवारीका बीचमा ध्यान चुनौतीपूर्ण हुन्छ तर कन्याकुमारीको भूमि र स्वामी विवेकानन्दको प्रेरणाले यसलाई सहज बनायो । म आफैं उम्मेदवार भए पनि मैले मेरो अभियान काशीका प्रिय जनताको हातमा छोडेर यहाँ आएको हुँ ।
जन्मैदेखि यी मूल्यमान्यताहरू ममा बीजारोपण गरिदिनुभएकामा म भगवान्प्रति पनि कृतज्ञ छु । यी मूल्यमान्यताहरूको म अत्यन्तै कदर गर्छु र सकेसम्म आत्मसात् गर्ने प्रयास गरेको छु । कन्याकुमारीको यस स्थानमा स्वामी विवेकानन्दले ध्यान गर्दा के अनुभव गर्नुभयो होला भनेर म सोचिरहेको थिएँ ! मेरो ध्यानको एक अंश यस्तै खाले कुरा खेलाउँदै बित्यो ।
यो वैराग्यपन, शान्ति र मौनताको बीच, मेरो मन लगातार भारतको उज्ज्वल भविष्य, भारतका लक्ष्यहरूबारे सोचिरहेको थियो । कन्याकुमारीमा उदाउँदो सूर्यले मेरो विचारलाई नयाँ उचाइ दियो, सागरको विशालताले मेरो विचारलाई फराकिलो बनायो, क्षितिजको विस्तारले मलाई ब्रह्माण्डको गहिराइमा समाहित एकता, एकत्वको अनुभूति निरन्तर दिलाइराख्यो । दशकौं अघि हिमालयको काखमा गरेका अवलोकन र अनुभवहरू पुनर्जीवित भइरहेका छन् कि जस्तो पो लाग्यो ।
कन्याकुमारी सधैं मेरो हृदयको धेरै नजिक छ । श्री एकनाथ रानाडेजीको नेतृत्वमा कन्याकुमारीमा विवेकानन्द शिला स्मारक निर्माण गरिएको थियो । एकनाथजीसँग धेरै यात्रा गर्ने अवसर मैले पाएको थिएँ । यो स्मारक निर्माणको क्रममा कन्याकुमारीमा पनि केही समय बिताउने मौका पाएँ ।
‘कश्मीरदेखि कन्याकुमारीसम्म’ यो एउटा साझा पहिचान हो जुन देशका हरेक नागरिकको हृदयमा गहिरो रूपमा बसेको छ । यो ‘शक्तिपीठ’ (शक्तिको आसन) हो जहाँ माँ शक्तिले कन्याकुमारीको रूपमा अवतार लिएकी थिइन् । यस दक्षिणी टुप्पोमा, माँ शक्तिले तपस्या गरी भारतको उत्तरी भागमा हिमालयमा बास गरिराख्नुभएको भगवान् शिवलाई पर्खेर बसेकी थिइन् ।
कन्याकुमारी संगमभूमि हो । हाम्रा देशका पवित्र नदीहरू विभिन्न समुद्रहरूमा बग्छन् र यहाँ, ती समुद्रहरू एउटा बिन्दुमा आएर मिल्छन् । र यहाँ, हामी अर्को ठूलो संगम देख्छौं– भारतको वैचारिक संगम ! यहाँ, हामीले विवेकानन्द शिला स्मारक, सन्त तिरुवल्लुवरको भव्य प्रतिमा, गान्धी मण्डपम र कामराजर मणि मण्डपम देख्न सक्छौं । यी दिग्गजहरूका विचारधारा यहाँ सम्मिलन भई राष्ट्रिय विचारको संगम बनाउँछन् । यसले राष्ट्र निर्माणका लागि ठूलो प्रेरणा दिने काम गर्दछ । कन्याकुमारीको यो भूमिले एकताको अमेटनीय सन्देश दिन्छ, विशेषगरी ती व्यक्तिलाई जसले भारतको राष्ट्रियता र एकताको भावनामा शंका गर्ने गर्छ ।
कन्याकुमारीमा सन्त तिरुवल्लुवरको भव्य प्रतिमाले समुद्रबाट माँ भारतीको विस्तारलाई हेरिरहेको प्रतीत हुन्छ । सन्त तिरुवल्लुवरद्वारा रचित तिरुक्कुरलाई सुन्दर तमिल भाषाकै मुकुट रत्नहरूमध्येको एक मानिन्छ । यसले जीवनको हरेक पक्षलाई समेट्नुका साथै आफ्ना लागि र राष्ट्रका लागि उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्दछ । यस्ता महान् व्यक्तित्वलाई सम्मान गर्न पाउनु मेरो अहोभाग्य हो ।
स्वामी विवेकानन्दले एकपटक भनेका थिए, ‘हरेक राष्ट्रसँग दिन एउटा सन्देश हुन्छ, पूरा गर्न एउटा मिसन हुन्छ र पुग्न एउटा नियति हुन्छ ।’
हजारौं वर्षदेखि भारत यही सार्थक उद्देश्यको भावना लिएर अगाडि बढिरहेको छ । भारत हजारौं वर्षदेखि विचारको उद्गमस्थल रहेको छ । हामीले आर्जन गरेको कुरालाई हामीले कहिल्यै पनि आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा लिएका छैनौं न त यसलाई आर्थिक वा भौतिक मापदण्डहरूद्वारा विशुद्ध रूपमा मापन गरेका छौं । तसर्थ, ‘इन्द–न–मम’ (यो मेरो होइन) भारतको चरित्रको एउटा अन्तर्निहित र स्वाभाविक हिस्सा बन्न पुगेको छ ।
स्वामी विवेकानन्दले एकपटक भनेका थिए, ‘हरेक राष्ट्रसँग दिन एउटा सन्देश हुन्छ, पूरा गर्न एउटा मिसन हुन्छ र पुग्न एउटा नियति हुन्छ।’
भारतको कल्याणले हाम्रो ग्रहको प्रगतिको यात्रालाई पनि फाइदा पुुर्याउँछ । यसका लागि स्वतन्त्रता आन्दोलनलाई उदाहरणको रूपमा लिऔं । भारतले सन् १९४७ अगस्ट १५ मा स्वतन्त्रता प्राप्त गर्यो । त्यसबेला विश्वका धेरै देश औपनिवेशिक शासनको अधीनमा थिए । भारतको स्वतन्त्रता यात्राले ती धेरै देशहरूलाई आफ्नो स्वतन्त्रता प्राप्त गर्न प्रेरित र सशक्त बनायो । त्यही भावना दशकौंपछि फेरि एक पटक प्रकट भयो जब पूरै संसार शताब्दियौंमा एक पटक देखा पर्ने कोभिड– १९ महामारीसँग जुझिरहेको थियो । गरिब र विकासशील देशहरूबारे चिन्ता र चासो उठेको बेला भारतको सफल प्रयासले धेरै राष्ट्रहरूलाई साहस र सहयोग प्रदान गर्यो ।
आज, भारतको शासन मोडेल विश्वका धेरै देशहरूको लागि उदाहरण बनेको छ । मात्र दस वर्षमा २५ करोड मानिसलाई गरिबीबाट माथि उठ्न सशक्त बनाउनु अभूतपूर्व हो । आज विश्वभरि प्रो–पिपल गुड गभर्नेन्स, आकांक्षी जिल्लाहरू र आकांक्षी ब्लकहरू जस्ता नवीन अभ्यासबारे चर्चा भइरहेको छ । गरिबलाई सशक्त बनाउनुदेखि लिएर अन्तिम माइल डेलिभरी गर्नुसम्मका हाम्रा प्रयासहरूले समाजमा दयनीय अवस्थामा रहेका व्यक्तिहरूलाई प्राथमिकतामा राख्न विश्वलाई नै प्रेरित गरेको छ । गरिबहरूलाई सशक्त बनाउन, पारदर्शिता ल्याउन र उनीहरूको अधिकार सुनिश्चित गर्न हामी कसरी प्रविधिको प्रयोग गर्न सक्छौं भनी देखाउन भारतको डिजिटल इन्डिया अभियान अब सारा संसारका लागि एउटा उदाहरण बनेको छ । भारतमा सस्तो डाटा गरिबहरूमा सूचना र सेवाको पहुँच सुनिश्चित गर्दै सामाजिक समानताको माध्यम बनिरहेको छ । सारा विश्वले प्रविधिको लोकतन्त्रीकरण हेर्नुका साथै अध्ययन गरिरहेको छ, र प्रमुख विश्वव्यापी संस्थानहरूले धेरै देशहरूलाई हाम्रो मोडलका तत्त्वहरू अपनाउन सल्लाह दिइरहेका छन् ।
आज, भारतको प्रगति र उदय केवल भारतका लागि महत्त्वपूर्ण अवसर नभई विश्वभरका हाम्रा सबै साझेदार राष्ट्रहरूको लागि पनि ऐतिहासिक अवसर हो । जी–२० को सफलतापछि, विश्वले भारतका लागि ठूलो भूमिकाको परिकल्पना गरिरहेको छ । आज, भारतलाई ग्लोबल साउथको बलियो र महत्त्वपूर्ण आवाजको रूपमा चिनिन्छ । अफ्रिकी संघ भारतको पहलमा जी–२० समूहको हिस्सा बनेको छ । यो अफ्रिकी देशहरूको भविष्यको लागि एक महत्त्वपूर्ण उपलब्धि साबित हुनेछ ।
भारतको विकास पथले हामीलाई गर्व र गौरव महसुस गराउँदछ, तर साथसाथै, यसले १४० करोड नागरिकलाई उनीहरूको जिम्मेवारी याद दिलाउँछ । अब, एक पल खेर नफाल्दै, हामीले ठूलो कर्तव्य र ठूला लक्ष्यहरूतर्फ अघि बढ्नुपर्छ । हामीले नयाँ सपना देख्न, ती सपनालाई वास्तविकतामा परिणत गर्न र ती सपनाहरूमा बाँच्न जरुरी छ ।
हामीले भारतको विकासलाई विश्वव्यापी परिप्रेक्ष्यमा हेर्नुपर्छ र यसका लागि हामीले भारतको आन्तरिक क्षमतालाई बुझ्नुपर्छ । हामीले भारतको शक्तिलाई स्वीकार गर्नुपर्छ, तिनीहरूलाई पालनपोषण गर्नुपर्छ र विश्वको हितको लागि प्रयोग गर्नु पर्छ । आजको विश्वव्यापी परिदृश्यमा, युवा राष्ट्रको रूपमा भारतको शक्ति एउटा अवसर हो जसबाट हामीले पछाडि फर्केर हेर्नु हुँदैन ।
२१औं शताब्दीको विश्व धेरै आशा लिएर भारततर्फ हेरिरहेको छ । र हामीले वैश्विक परिदृश्यमा अगाडि बढ्न धेरै परिवर्तनहरू गर्न आवश्यक छ । हामीले सुधारको सन्दर्भमा हाम्रो परम्परागत सोचलाई पनि परिवर्तन गर्न आवश्यक छ । भारतले सुधारलाई आर्थिक सुधारमा मात्र सीमित गर्न सक्दैन । हामीले जीवनका हरेक पक्षमा सुधारको दिशातर्फ अघि बढ्नुपर्छ । हाम्रा सुधारहरूलाई २०४७ सम्ममा ‘विकसित भारत’को आकांक्षासँग पनि जोड्नुपर्छ ।
हामीले यो पनि बुझ्नुपर्छ कि सुधार कुनै पनि देशको लागि एक आयामिक प्रक्रिया हुन सक्दैन । त्यसैले देशको सुधार, प्रदर्शन र परिवर्तनको परिकल्पनाको बीज रोपेको छु । सुधारको जिम्मेवारी नेतृत्वको हो । त्यसैको आधारमा हाम्रो कर्मचारीतन्त्रले काम गर्छ र हामी परिवर्तन भइरहेको तब मात्र देख्छौं जब जनता जनभागिदारीको भावनामा जोडिन्छन् ।
हामीले हाम्रो देशलाई ‘विकसित भारत’ बनाउनको लागि मौलिक सिद्धान्तलाई उत्कृष्टता बनाउनुपर्छ । हामीले चारै दिशामा छिटो काम गर्न आवश्यक छः गति, मात्रा, दायरा र मानक । उत्पादनका साथसाथै हामीले गुणस्तरमा पनि ध्यान दिनुपर्छ र ‘शून्य दोष–शून्य प्रभाव’ को मन्त्रलाई पालना गर्नुपर्छ ।
भगवान्ले हामीलाई भारत भूमिमा जन्म दिनु भएकोमा हामीले हरेक पल गर्व गर्नुपर्छ । भगवान्ले हामीलाई भारतको सेवा गर्न र हाम्रो देशको उत्कृष्टतातर्फको यात्रामा हाम्रो भूमिका पूरा गर्न छान्नु भएको छ । हामीले पुरातन मूल्यमान्यतालाई आधुनिक परिवेशमा अँगाल्दै हाम्रा सम्पदालाई आधुनिक ढंगले परिभाषित गर्नुपर्छ ।
एक राष्ट्रको रूपमा, हामीले पुरानो सोच र मान्यताहरूको पुनर्मूल्यांकन गर्न आवश्यक छ । हामीले हाम्रो समाजलाई व्यावसायिक निराशावादीहरूको दबाबबाट मुक्त गर्न आवश्यक छ । हामीले याद गर्नै पर्छ कि नकारात्मकताबाट मुक्ति सफलता प्राप्त गर्नेतर्फको पहिलो पाइला हो । सकारात्मकताको काखमा सफलता फुल्ने गर्दछ ।
भारतको असीम र अनन्त शक्तिमा मेरो आस्था, भक्ति र विश्वास दिनप्रतिदिन बढ्दै गएको छ । विगत १० वर्षमा, मैले भारतको यो क्षमता अझ बढेको देखेको छु र प्रत्यक्ष अनुभव गरेको छु । जसरी हामीले २०औं शताब्दीको चौथो र पाँचौं दशक स्वतन्त्रता आन्दोलनलाई नयाँ गति दिन उपयोग गर्यौं, त्यसैगरी २१औं शताब्दीका यी २५ वर्षमा हामीले ‘विकसित भारत’ का लागि आधारशिला राख्नुपर्छ । स्वतन्त्रता संग्राम एउटा यस्तो समय थियो जसमा ठूलो बलिदानको आवश्यकता थियो । वर्तमान समयमा सबैका तर्फबाट ठूलो र दिगो योगदानको आवश्यकता देखिन्छ ।
स्वामी विवेकानन्दले सन् १८९७ मा भनेका थिए कि हामीले आगामी ५० वर्ष राष्ट्रको लागि मात्र समर्पित गर्नुपर्छ । यो आह्वानको ठीक ५० वर्षपछि सन् १९४७ मा भारतले स्वतन्त्रता प्राप्त गर्यो । आज हामीसँग त्यही सुनौलो अवसर छ । अबको २५ वर्ष राष्ट्रका लागि मात्रै समर्पित गरौं । हाम्रो प्रयासले भारतलाई नयाँ उचाइमा पुर्याउँदै आउने पुस्ता र आगामी शताब्दीका लागि बलियो जग निर्माण गर्नेछ । देशको ऊर्जा र उत्साहलाई हेर्दा अब लक्ष्य धेरै टाढा छैन भन्न सक्छु । आउनुहोस् छिटो कदम चाल्नुहोस् । आउनुहोस् हामी सबै मिलेर विकसित भारत बनाऔं ।
- भारतीय प्रधानमन्त्री मोदीले यी विचार जुन १ मा कन्याकुमारीबाट दिल्ली फर्कने क्रममा विमानमा लेखेका हुन् ।