भाजपाको आएन बहुमत, भारतमा पनि अस्थिरताको खिचातानी

भाजपाको आएन बहुमत, भारतमा पनि अस्थिरताको खिचातानी

काठमाडौं : सन् २०१९ को चुनावमा नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले लोकसभामा ३ सय ३ सिट जितेको थियो। एनडीए गठबन्धनसँग ३ सय ५३ सिट थियो।

त्यसैले यसपटकको चुनाव नजिकिँदै गर्दा मोदीले ‘अब की बार, चार सौ पार’ को नारा दिएका थिए। अर्थात् एनडीएको सिट संख्या अझै ५० जति थपेर ४०० कटाउने उनको घोषित लक्ष्य थियो। तर, मंगलबार मतगणना जारी रहँदा ४०० त होइन, भाजपा एक्लैले बहुमतसमेत कायम राख्न सकेन। 

भारतमा एकल सरकार बनाउन उसलाई २ सय ७२ सिट आवश्यक पर्छ। त्यसैले मोदी अब सरकार बनाउन एनडीए गठबन्धनका अन्य दलसँग निर्भर रहनुपर्छ। जसले सरकार सञ्चालनमा ती दलको भूमिका बढ्ने देखिन्छ। 

भारतमा सन् १९८४ मा राजीव गान्धीको नेतृत्वमा कांग्रेसले बहुमत ल्याएपछि ३० वर्षपछाडि नरेन्द्र मोदीको नेतृत्वमा भाजपाले सन् २०१४ मा बहुमत ल्याएको थियो।

अब मोदीलाई सरकार बनाउन नीतिशकुमार नेतृत्वको जनता दल युनाइटेड (जेडीयू), जयन्त चौधरी नेतृत्वको राष्ट्रिय लोकदल (आरएलडी) र चन्द्रबाबु नायडू नेतृत्वको तेलेगू डेसाम पार्टी (टीडीपी)को साथ लिनुपर्ने हुन्छ। यी दल एनडीए गठबन्धनमै छन्। मोदीलाई अब सरकार बनाउन यी दलको साथ कायमै राख्नुपर्ने हुन्छ। आन्द्र प्रदेशमा नायडू टीडीपीले अग्रता लिएको छ। २५ सिटमा उम्मेदवारी दिएको यस पार्टीले १६ स्थानमा जित निकालेको छ। जसकारण यस पार्टीले भाजपासँगको सरकार गठनमा मुख्य भूमिका खेल्ने देखिएको छ। उत्तर प्रदेशमा जयन्त चौधरीको आरएलडीले दुई सिटमा जित सुनिश्चित गरेको छ। 

बिहारमा पछिल्लो समय नीतिशकुमार लालुप्रसाद यादवको राष्ट्रिय जनता दल (आरजेडी) को साथ छाडेर एनडीएमा सहभागी भई चुनाव लडेको थियो। नीतिश कुमार गठबन्धन बदलिरहने गरेको हुँदा उनले अन्तिममा कसको साथ दिन्छन् भन्ने खुल्न बाँकी छ। सन् २०१९ मा भाजपाले ३ सय ३ सिट जितेको थियो।

भाजपाले बहुमत नल्याउने भएपछि जनता दल (युनाइटेड) जेडीयूका नेताले नीतिश कुमारलाई भारतको प्रधानमन्त्री बनाउन लबिङ सुरु गरिसकेको भारतीय सञ्चारमाध्यमको दाबी छ। भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा जेडीयू रहे पनि भाजपा एक्लैले बहुमत नल्याउने भएपछि नयाँ चलखेल सुरु भएको हो।

नीतिश कुमारको पार्टी जेडीयूका एमएलसी खालिद अनवरले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै भनेका छन्, ‘अब भारतको प्रधानमन्त्री को होला ? भन्ने सञ्चारमाध्यमको प्रश्नमा खालिद अनवरले भने, ‘नीतिश कुमारभन्दा राम्रो प्रधानमन्त्री को हुन सक्छ ? नीतिश कुमार एक अनुभवी राजनेता हुन्, जसले समाज र देशलाई बुझेका छन्। उनले सबै लोकतान्त्रिक संस्थाको सम्मान गर्छन्। हामी अहिले एनडीए गठबन्धनको हिस्सा छौं, तर पहिला पनि र अहिले पनि जनता नीतिश कुमार प्रधानमन्त्री बनून् भन्ने चाहन्छन्। चुनावी परिणामपछि यो आशा झन् बढेको छ।’

मतान्तर घटाउँदै बनारसबाट मोदी तेस्रो पटक विजयी 

भारतमा भएको लोकसभा निर्वाचन–२०२४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक विजयी भएका छन्। यो लोकसभा चुनावमा उत्तर प्रदेशको वाराणसीबाट मोदी विजयी भएका हुन्।

विजयी भएसँगै मोदीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन्, ‘देशका जनता जनार्दनले लगातार तेस्रो पटक विजयी गराएर विश्वास देखाउनु भएको छ। भारतको इतिहासमै यो अति अभूतपूर्व क्षण हो। म यो माया र सम्मानको लागि नतमस्तक छु। जनताको यो विश्वासको लागि नयाँ ऊर्जा, उमंग, नयाँ संकल्पसँगै अघि बढ्नेछौं। सबै जनतालाई आभार व्यक्त गर्दछु।’

यसपटक उनले विपक्षी दलसँगको मतान्तर घटाएका छन्। उनले प्रतिस्पर्धी राष्ट्रिय भारतीय कांग्रेसका उम्मेदवार अजय रायलाई डेढ लाख मतको अन्तरले मात्र हराएका छन्। 

अघिल्ला दुई निर्वाचनको तुलनामा यसपटक उनको मतान्तर कम देखिएको हो। यसपटक मोदीले अघिल्लो सन् २०१९ मा प्राप्त गरेको मतभन्दा कम मत पाएका छन्।

सन् २०१९ मा मोदीले ६ लाख ७४ हजार ६ सय ६४ मत प्राप्त गरेका थिए। यसपटक उनले ६ लाख ११ हजार ४ सय ३९ मत प्राप्त गरेका छन्।

अघिल्लो निर्वाचनमा कांग्रेसका रायले १ लाख ५२ हजार ५ सय ४८ मत प्राप्त गरेका थिए। यसपटकको निर्वाचनमा भने उनले ४ लाख ५९ हजार ८४ मत प्राप्त गरेका छन्। यसपटकको लोकसभा निर्वाचनमा मोदीले रायलाई १ लाख ५२ हजार ३ सय ५५ मतले हराएका छन्।

मोदीले ६ लाख १२ हजार ९ सय ७० मत ल्याउँदा रायले ४ लाख ६० हजार ४ सय ५७ मत पाएका छन्।

२०१४ मा मोदीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई हराएका थिए। त्यस्तै, २०१९ को चुनावमा उनले समाजवादी पार्टीकी शालिनी यादवलाई हराएका थिए।

मोदीको पार्टी भाजपाको बहुमत आएमा मात्र उनी स्वतः प्रधानमन्त्री हुनेछन्। मोदी जवाहरलाल नेहरूपछि लगातार तेस्रोपटक चुनाव जितेर प्रधानमन्त्री बन्ने व्यक्ति हुनेछन्। यसअघि लगातार दुईपटक प्रधानमन्त्री बनेका इन्दिरा गान्धी र मनमोहन सिंहको बराबरी मोदीले गरिसकेका छन्।

राहुल गान्धी दुई क्षेत्रबाट निर्वाचित 

कंग्रेस आईका नेता राहुल गान्धीले सरकार बनाउन पहल गर्ने नगर्ने विषयमा बुधबार निर्णय गरिने बताएका छन्। 

मंगलबार चुनावी नतिजा आउँदै गर्दा कंग्रेस आईले गरेको पत्रकार सम्मेलनमा विपक्षमा रही पार्टीलाई बलियो बनाउने कि सरकारमा जाने भन्ने प्रश्नमा राहुलले उक्त निर्णय भोलि हुने बताएका हुन्। 

इन्डिया गठबन्धनमा रहेको कंग्रेसले पत्रकार सम्मेलन गर्दै यो नतिजा प्रधानमन्त्री नरेन्द्र मोदीको विपक्षमा रहेको प्रतिक्रिया दिएको छ। लोकसभा चुनावमा इन्डिया गठबन्धनको प्रदर्शनबारे जानकारी दिन कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, राहुल गान्धी र सोनिया गान्धी पत्रकार सम्मेलनमा उपस्थित भएका थिए। पार्टीका अध्यक्ष खड्गेले भाजपाको बहुमत नआउनु नै नरेन्द्र मोदीको पराजय भएको बताएका छन्। खड्गेले भने, ‘देशमा चुनावी नतिजा आइसकेको छ। हामीले पहिले नै यो लडाइँ मोदीविरुद्ध जनता हो भनेर भन्दै थियौं। हामी १८औं लोकसभा चुनावमा जनताको मतलाई नम्रतापूर्वक स्वीकार गर्छौं। यसपटक जनताले एउटा पार्टीलाई पूर्ण बहुमत दिएका छैनन् परिणाम मोदीको विरुद्धमा गएको छ।’

‘यो मोदीको नैतिक र राजनीतिक हार हो। हाम्रा सबै नेताविरुद्ध अभियान चल्यो, जुन अभियान लामो समयसम्म हाम्रो स्मरणमा रहनेछ। मोदीले फैलाएको झुट जनताले अब बुझे।’ पत्रकार सम्मेलनमा खड्गेले भने। ‘जनताले संविधान र लोकतन्त्रमा अर्को आक्रमण मोदीले गर्नेछन् भन्ने कुरा बुझेका छन्। अब यस षड्यन्त्रमा भाजपा सफल नहुने भएकाले हामी खुसी छौं।’

गान्धीले कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनसँग छलफल गरेपछि मात्र मिति तय गरिने बताएका छन्। पत्रकार सम्मेलनमा बोल्दै गान्धीले भने। राहुलले उत्तर प्रदेशको रायबरेली र केरलको वायानड क्षेत्रबाट लोकसभा सदस्य जितेका छन्। कुन क्षेत्रमा आफू बस्ने भन्ने विषयमा पनि तय नभइसकेको बताएका छन्। 

रायबरेलीमा भाजपाका दिनेशप्रताप सिंहसँग गान्धीले प्रतिस्पर्धा गरेका थिए। सिंहले सन् २०१९ मा सोनिया गान्धीविरुद्ध चुनाव लडेका थिए। सोनिया गान्धीले पनि सोही क्षेत्रमा निरन्तर चुनाव जितेकी थिइन्। 

यसअघि पनि चुनाव जितेका वायानडमा उनले भाजपाका के सुरेन्द्रनविरुद्ध प्रतिस्पर्धा गरेका थिए। २०१९ मा अमेठीमा चुनाव लड्दा भाजपाकी स्मृति इरानीसँग उनि हारेका थिए। उक्त क्षेत्रमा अहिले इरानी कंग्रेस उम्मेदवार किशोरी लालसँग फराकिलो मतले पराजित भएकी छन्। 

यूपीमा चलेन राम मन्दिरको रणनीति 

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश यूपीमा भाजपालाई समाजवादी पार्टीले पछि पारेको छ। लोकसभा चुनावामा महŒवपूर्णमध्ये एक मानिएको उत्तर प्रदेशको फैजाबाद (अयोध्या) सिटमा सत्तारूढ दल भाजपाले हार स्वीकार गरेको छ। राम मन्दिर निर्माणलाई पूरै भारतभर चुनावी प्रचारका रूपमा प्रयोग गरे पनि भाजपाले अयोध्या रहेको फैजाबाद क्षेत्रमा हार बेहोरेको हो।

भाजपाका निवर्तमान सांसद लल्लु सिंहले हार स्वीकार्दै भनेका छन्, ‘मैले तपाईंहरूको सम्मान बचाउन सकिनँ।’ उत्तर प्रदेशमा लोकसभाका ८० सिट छन्। तीमध्येमा समाजवादी र कांग्रेस अगाडि आएका छन्। 

चुनावी रणनीतिलाई नै केन्द्रित गरेर नरेन्द्र मोदीले अयोध्यामा विशाल राममन्दिर निर्माण गरे। निर्वाचनको मुखमै उनले गत जनवरीमा भव्य समारोहका बीच राम मन्दिरको प्राण प्रतिष्ठा गरेका थिए। भारतको लोकसभा निर्वाचनमा उक्त मन्दिरको अनुष्ठानले पनि अर्थ राख्ने आकलन गरेका थिए। राजनीति विश्लेषकहरूले भाजपालाई उक्त मन्दिर चुनावी मुखमा अनुष्ठान गरेको प्रत्यक्ष फाइदा पुग्ने अनुमान गरेका थिए। तर नतिजा ठीक विपरीत देखिएको छ। 

मुस्लिम जनसंख्या धेरै रहेका सबै क्षेत्रमा समाजवादी र कांग्रेसले ५० हजारभन्दा माथिको अग्रता लिएका थिए। विपक्षले हिन्दु मुस्लिमको नारा लगाएर मुसलमानको सबै भोट हडपेको र हिन्दुभित्र पनि जातिको नारा लगाएर भोट बाँडिएको आरोप भाजपाले लगाएको छ। 

उत्तर प्रदेशका मुख्यमन्त्री योगीको कार्यकालमा उत्तर प्रदेशका मुसलमानले धेरै असुरक्षा महसुस गर्थे। हिन्दु मतदाता पनि विभाजित भएपछि उक्त क्षेत्रमा भाजपा कमजोर बनेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। फैजाबाद सिटमा भाजपाका लल्लु सिंहलाई पछि पार्दै समाजवादी पार्टीका अवधेश प्रसादले जित हासिल गरेका छन्। सन् २०१४ मा भाजपाका लल्लु सिंहले समाजवादी पार्टीका मित्रसेन यादवलाई २ लाख ८२ हजार ७ सय ७५ मतको भारी अन्तरले हराएका थिए। सन् २०१९ मा पनि लल्लु सिंहले समाजवादी पार्टीकै उम्मेदवार आनन्द सिंहलाई ६५ हजारभन्दा बढी मत अन्तरले हराएका थिए। 

कलाकारिताबाट लोकसभा सदस्यमा विजयी हेमा मालिनी कंगना रनावत र मनोज तिवारी 

बलिउडकी ड्रिम गर्ल भनेर चिनिएकी चर्चित कलाकार तथा भारतीय जनता र्र्पाीकी नेत्रीसमेत रहेकी हेमा मालिनीले पनि उत्तर प्रदेशको मथुराबाट चुनाव जितेकी छन्। बलिउडकी अर्की अभिनेत्री कंगना रनावत हिमाञ्चल प्रदेशबाट लोकसभा सदस्यमा निर्वाचित भएकी छन्। 

उनी पनि भाजपाबाट हिमाचलको मण्डी सिटमा उम्मेदवार थिइन्। त्यहाँ कंग्रेस आईबाट विक्रमादित्य सिंह उम्मेदवार थिए। सिंह हिमाञ्चल प्रदेशका पूर्वमुख्यमन्त्री वीरभद्र सिंहका छोरासमेत हुन्। उक्त क्षेत्रमा यसअघि सन् २०१४ र २०१९ मा भाजपाले नै जितेको थियो।

उत्तरपूर्वी दिल्लीमा भोजपुरी कलाकारिताबाट आफ्नो परिचय बनाए भारतीय जनता पार्टीकै अर्का उम्मेदवार मनोज तिवारीले जित निकालेका छन्। 

उनले कंग्रेस आईका उम्मेदवार कन्हैया कुमारलाई पराजित गरेका हुन्। तिवारी यस क्षेत्रबाट दुई पटक चुनाव जितिसकेका छन्। 

जेलमा बसेर चुनाव जिते 

जेलमा रहेका शेखअब्दुल रशिदले जम्मु–कश्मिरका पूर्वमुख्यमन्त्री ओमार अब्दुल्लाहलाई हराएका छन्। इन्जिनियर रसिदको नामले चर्चित रहेका शेखले बरामुल्ला क्षेत्रमा एक लाखभन्दा बढी मतान्तरले पूर्वमुख्यमन्त्री अब्दुल्लाहलाई हराएका हुन्। रसिदले स्वतन्त्र उम्मेदवारी दिएका थिए। अब्दुल्लाह नेसनल कन्फ्रेन्सका नेता हुन्। रसिद पाँच वर्षदेखि तिहाड जेलमा छन्। उनलाई भारत सरकारले आतंकवादीहरूलाई आर्थिक सहयोग गरी गैरकानुनी गतिविधि गरेको भन्दै सन् २०१९ मा जेल हालेको थियो। रसिद जेलमा हुँदा छोराहरूले बाहिर चुनावी अभियान चालेका थिए। पराजित भएपछि अब्दुल्लाहले रसिदलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।

पञ्जाबमा हिंसा भड्किने भन्दै सरकारले जेलमा हालेका धर्मगुरु अमृतपाल सिंहले पनि निर्वाचन जितेका छन्। आफूलाई शिखहरूको अलग राज्यको माग गरिरहेका सिंहले चुनाव जितेका हुन् ।

सिक्किममा पुन : गोले 

२५ वर्ष सिक्किमको शासनमा रहेका पवन चाम्लिङ पूर्णरूपमा पराजित भएका छन्। उनकै पूर्वसहकर्मी प्रेमसिंह तामाङ (पीएस गोले) को पार्र्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले १ बाहेक सबै सिट जितेको छ।

सिक्किम विधानसभाका ३२ मध्ये चाम्लिङको सिक्किम लोकतान्त्रिक मोर्चाले १ सिट ल्याएको छ। गोलेको पार्टीले ३१ सिट जित्दा तामाङले दोस्रो पटक मुख्यमन्त्रीको पद सुनिश्चित गरेका छन्। वर्तमान मुख्यमन्त्री गोले पहिले चाम्लिङकै पार्र्टी एसडीएफका नेता थिए २०१३ मा उनले उक्त पार्टी छाडे। 

२०१९ देखि २०२४ सम्म शासन गर्दा गोलेले रोजगारीको क्षेत्रमा राम्रो प्रयास गरेका थिए। मुख्यमन्त्रीका रूपमा उनले हजारौं रोजगारी वितरण गरेका थिए। अस्थायी कर्मचारीलाई स्थायी गरेका थिए र स्थायी नोकरीमा भएकाहरूलाई पनि बढुवा गरेका थिए।

उनले आफूले जितेपश्चात् आफ्नो पार्टीलाई बलियो बन्न सघाएको भन्दै विपक्षी चाम्लिङको पार्टीलाई पनि धन्यवाद दिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.