भारतमा चुनावको पूर्ण नतिजा सार्वजनिक, सरकार गठनको तयारी सुरु

बिजेपी एक्लैले  सरकार बनाउन नसक्ने

भारतमा चुनावको पूर्ण नतिजा सार्वजनिक, सरकार गठनको तयारी सुरु

नयाँ दिल्ली : भारतमा १८ औं लोकसभा चुनावको परिणाम सार्वजनिक भएको छ। ५४३ सिटमध्ये एनडीएले २९२ सिट, इन्डिया गठबन्धनले २३४ सिट पाएको छ भने अन्य पार्टीले १७ सिट जितेका छन्। 

भाजपाले एक्लै २७२ को बहुमतको आँकडा पार गर्न नसके पनि भाजपासहितको गठबन्धन एनडीएले बहुमत पाएको छ । बीजेपीले २०१४ मा २७८ सिट र २०१९ मा ३०३ सिट जितेको थियो। 

चुनावी नतिजा सार्वजनिक भएसँगै भारतमा सरकार गठनको तयारी सुरु भएको छ । एनडीएले बुधबार सरकार गठनको दाबी पेश गर्न सक्नेछ । एनडीए गठबन्धनमा सहभागी दलहरुको बैठक आजका लागि बोलाइएको छ। प्रधानमन्त्रीले बिहारका मुख्यमन्त्री नितिश कुमार र टीडीपी नेता चन्द्रबाबु नायडूलाई बैठकको लागि बोलाएका छन्।

त्यस्तै भारतको राष्ट्रपति भवनमा सपथग्रहणको तयारी सुरु भएको सञ्चारमाध्यमहरुमा उल्लेख छ । सर्वसाधारणका लागि जुन ९ सम्म  प्रवेश बन्द गरिएको छ ।

कांग्रेससहितको गठबन्धन दल इन्डिया गठबन्धनले पनि दिल्लीमा बैठक बोलाएको छ । पत्रकार सम्मेलनमा राहुल गान्धीले बैठकमा आगामी रणनीतिबारे छलफल हुने उल्लेख गरेका छन्।

निर्वाचन आयोगको वेबसाइटका अनुसार बीजेपीले २४०, कांग्रेसले ९९, सपा ३७, टीएमसी २९, डीएमके २२, टीडीपी १६, जेडीयू १२, शिव सेना यूटीबी ९, एनसीपी शरद पवार ७, आरजेडी ४ र लोक जनशक्ति पार्टीका रामविलासले ५ मत पाएका छन् । शिव सेना शिन्देले ७ सिट पाएका छन् ।

निर्वाचन आयोगले मार्च १६ मा लोकसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको थियो । अप्रिल १९ देखि जुन १ सम्म कुल ७ चरणमा मतदान भएको थियो । ४४ दिनको यो निर्वाचन सन् १९५२ पछिको सबैभन्दा लामो निर्वाचन मानिन्छ। भारतमा सन् १९५२ मा भएको निर्वाचन ४ महिनासम्म चलेको थियो। अन्य समयमा भने निर्वाचन प्रक्रिया सामान्यतया ३० देखि ४० दिनमा सम्पन्न हुने गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.