कोशी प्रदेश खेलकुदमय बन्दै, १२ वटा प्रतियोगिता गरिँदै

कोशी प्रदेश खेलकुदमय बन्दै, १२ वटा प्रतियोगिता गरिँदै
कोशी प्रदेशमा हुने आगामी खेल प्रतियोगिताका बारेमा जानकारी दिँदै प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत। तस्बिर : किशोर बुढाथोकी।

विराटनगर : कोशी प्रदेश अबको केही समयभित्रै खेलकुदमय बन्दै छ। प्रदेशका विभिन्न स्थानमा असारको सुरुवातदेखि खेलकुदका प्रतियोगिताहरु आयोजना गरिँदै छ। 

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने सबै प्रतियोगिताहरु असार दोस्रो साताभित्रमा सम्पन्न गर्ने तयारी छ। खेलकुदका विभिन्न १२ वटा प्रतियोगितामध्ये केही असार पहिलो साताबाटै सुरु हुने छन्। केही प्रतियोगिता असार ८ गतेपछि आयोजना गरिने छ। तर, सबै प्रतियोगिता असार १५ गतेभित्र सक्ने गरी तयारी थालिएको छ।  

बोर्डले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरेर कार्यतालिका सार्वजनिक गर्दै प्रतियोगिता हुने स्थानको टुंगो लागिसकेको जानकारी दिएको छ। बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)का अनुसार अधिकांश प्रतियोगिताको मिति र स्थान तय गरिसकिएको छ। केहीको मिति तय हुन बाँकी रहेपनि सबै प्रतियोगिताहरु असार १५ गतेभित्रमा सक्ने योजना रहेको उनले बताए। 

चालु आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश खेलकुद विकास बोर्डमार्फत कार्यान्वयन हुने खेलकुद सम्बन्धी कार्यक्रममध्ये अधिकांशको कार्यतालिका र सञ्चालन मिति निर्धारण भइसकेको बस्नेतको भनाइ छ। प्रदेशका १४ वटै जिल्लालाई समेटेर प्रतियोगिताहरु आयोजना गरिने जानकारी उनले दिए। केही प्रतियोगिता सञ्चालनका लागि सम्झौता भइसकेको र केही सम्झौताको चरणमा रहेको बस्नेतले बताए। 

उनका अनुसार प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता असार ३ देखि ७ गतेसम्म तेह्रथुममा सञ्चालन गरिने छ। कबड्डी प्रतियोगिता असार ७ देखि १० गतेसम्म मोरङमा, महिला फुटबल असार ८ देखि १३ गतेसम्म खोटाङमा, शरीरिक सुगठन असार १० देखि १२ गतेसम्म झापामा र भारोत्तोलन असार १३ देखि १५ गतेसम्म विराटनगरमा गर्ने तय भएको जानकारी सदस्यसचिव बस्नेतले दिए। 

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता मोरङमा, प्रदेशस्तरीय पौडी प्रतियोगिता सुनसरी र मोरङमा, महिला ‘सेल्फ डिफेन्स’ (आत्मरक्षा) तथा योगा प्रशिक्षण झापा, मोरङ र सुनसरीका ३ वटा विद्यालयमा तथा प्रदेशस्तरीय कुरास प्रतियोगिता सुनसरीमा गर्ने तय भएको छ। यी प्रतियोगिता सञ्चालन गर्ने मिति भने टुंगो लाग्ने क्रममा रहेको बस्नेतको भनाइ छ। 

उनका अनुसार फरक क्षमता (अपांगता) भएकाहरुले खेल्ने पारा खेलकुदमध्ये क्रिकेट र पौडी प्रतियोगिता विराटनगरमा तथा बास्केटबल धरानमा गरिने छ। पारा खेलकुद प्रतियोगिता सञ्चालनका लागि सम्झौता भइसकेको र मिति तय हुन बाँकी रहेको उनले बताए। विभिन्न प्रतियोगिता आयोजनाका लागि १ करोड ६ लाख रूपैयाँ बजेट छुट्याइएको जानकारी बस्नेतले दिए। 

त्यस्तै, प्रशिक्षक प्रशिक्षण तालिम मोरङ र तेह्रथुममा आयोजना गरिने छ। तालिम आयोजना हुने मिति तय हुन बाँकी रहेपनि असार १५ भित्रमा सक्ने तयारी रहेको उनको भनाइ छ। तालिमका लागि २० लाख रूपैयाँ बजेट छुट्याइएको छ। 

‘कोशी प्रदेशमा खेलकुदका प्रतियोगितहरु केही समयदेखि रोकिएका थिए। ती सबै प्रतियोगिता असार दोस्रो साताभित्रमा सक्ने गरी तयारी थालिएको छ,’ उनले भने, ‘समयमै सम्पन्न गर्न नसकेका कारण अब ‘फास्ट ट्रयाक’बाट आयोजना गर्नुपर्ने अवस्था आएको छ। हतारहतार नगरे खेलकुदका लागि छुट्याइएको बजेट ‘फ्रिज’ भएर जान्छ।’ कोशीको खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजाने योजना अनुरूप आगामी नीति तथा कार्यक्रममा महत्वकांक्षी योजनाहरु समेटिएको सदस्यसचिव बस्नेत बताउँछन्। 

खेल क्षेत्रका लागि छुट्याइने आगामी बजेटलाई सही हिसाबले परिचालन गरिने उनको प्रतिबद्धता छ। ‘संस्कृति, प्रकृति र भूगोलका आधारमा हुँदै आएका र लोप हुन लागेका खेलको संरक्षण गर्ने योजना छ,’ बस्नेत भन्छन्, ‘आगामी दिनमा राष्ट्रिय विभूतिका नामबाट समेत खेलकुदको आयोजना गरिने छ।’ उनका अनुसार बहुवर्षीय योजनाअन्तर्गत मोरङको गोठगाउँमा बहुउद्देश्यीय ‘स्पोर्ट्स कम्प्लेक्स’ निर्माणदेखि मेची स्टेडियम र इटहरी तथा धरानमा फ्लडलाइट जडानलाई अघि बढाउने तयारी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.