सरकार उपस्थित नभएपछि मधेस प्रदेशसभा बैठक आधा घन्टाका लागि स्थगित
जनकपुरधाम : मधेस प्रदेश सभा बैठकमा सरकारको प्रतिनिधि उपस्थित नभएपछि स्थगित भएको छ। प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची रहे पनि सरकारको उपस्थिति नभएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
विश्वासको मत लिने कार्यतालिका बनाएको प्रदेशसभा सचिवालयले मुख्यमन्त्री बिरामीको पत्र पाएसँगै विश्वासको मत लिने वा नलिने भन्ने अन्योलबीच बैठक सुरु भएको थियो।
नेपालको संविधानअनुसार दल विभाजन भए वा सरकारको समर्थनमा रहेका दलहरूमध्ये कुनै एक दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार आज बुधबार ३० दिन पुगेको हो। जनता समाजवादी पार्टी नेपालको सरकारमा रहेको सत्ता साझेदार दलहरूमध्ये एकपछि अर्को दलले साथ छोडेपछि जसपा एक्लिएको छ।
'नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मिति २०८१/२/२१ मा मिति २०८१ जेठ २३ गते विश्वासको मत प्राप्त गर्ने बैठकको कार्यसूचीमा राख्न व्यवस्था हुन पत्राचार गरेकोमा म मुख्यमन्त्री अस्वस्थ्यताको कारणले तोकिएको मितिमा स्वयं उपस्थित भइ विश्वासको मत लिन असमर्थ रहेकाले धारा १८८ को उपधारा (२) बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा मिति २०८१ जेठ २८ गतेको लागि प्रदेशसभा बैठकको कार्यसूचीमा राखी आजको बैठकको विश्वासको मत सम्बन्धी कार्य सूची स्थगित गर्नु हुन अनुरोध छ।'