यो समीकरणको डोरी कमजोर छैन, पशुपतिमा जतिसुकै धुप अछेता गरे पनि सरकार ढल्दैन : महेश बर्तौला
काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सत्ता समीकरणको डोरी कमजोर नरहेको बताएका छन्। संसदमा बजेटमाथि भइरहेको छलफलमा सहभागी हुँदै उनले पशुपतिमा जतिसुकै धुप अछेता गरे पनि सरकार नढल्ने बताए।
उनले यो सरकारले ल्याएको बजेट आफ्नै काँधमाथि आइपर्ने हो कि भन्ने चिन्ता नगर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गरे।
'छलफलमा सहभागी भएका प्रतिपक्षी दलका माननीयज्यूहरुले दुई चार महिनामा आफ्नै काँधमा यो बजेट आइपर्ने हो कि भन्ने चिन्ता लिइरहनुभएको छ। बजेटको आलोचना गरिरहनुभएको छ। तर, सत्ता समीकरण त्यति कमजोर डोरीबाट बनेको छैन। बलियो डोरीबाट बाँधिएको र विश्वासको साथ अगाडि बढाउने संकल्प लिएका छौं,' उनले भने, 'पशुपतिमा धुप अछेता गरेर यो सरकार आजै ढलोस्, भोलि ढलोस् भनेर जसरी चाहिरहनुभएको छ। बजेटमाथि जुन कोणबाट टिप्पणी गरिरहनुभएको छ। त्यहाँसम्म पुग्ने परिस्थिति छैन।'
बजेटमा पूर्ण समर्थन रहेको र जस्ताको तस्तै पास गर्ने संकल्प एमालेले लिएको बताए।