विराटनगरबाट खैरो हेरोइनसहित युवक पक्राउ
विराटनगर : लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित विराटनगरबाट बुधबार एक जना युवक पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका-१ का २७ वर्षीय विकास रायलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले रायलाई विराटनगर-१५ स्थित १ नम्बर ढाटबाट बिहान ११ बजेतिर पक्राउ गरेको हो।
खैरो हेरोइन ओसारपसार भइरहेको विशेष सूचना पाएपछि उनलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो। भारतको जोगवनीबाट आउँदै गरेका रायको शरीर खानतलासी गर्दा साथबाट ११.२० ग्राम खैरो हेरोइन बरामद भएको जानकारी डीएसपी बस्नेतले दिए। रायविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ। उनका सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान सुरु गरेको छ।