एमालेले सरकारको नेतृत्व नगर्दा मुलुक पछि पर्यो : विष्णु पौडेल
बुटवल : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेले सरकारको नेतृत्व नगर्दा विकास निर्माणका सूचकहरू पछाडि धकेलिने गरेको बताएका छन्। पार्टीको जिल्ला कमिटी रुपन्देहीको १०औं अधिवेशनलाई सम्बोधन गर्दै उनले संविधानले दिएको अधिकार नागरिकहरूले कहिले उपभोग गर्न पाउँछन्? भन्ने सवाल अहिलेको मुख्य विषय भएको बताए।
‘देशको नेतृत्व एमालेले गर्न नपाएका कारण मुलुक पछि पर्यो’, पौडेलले भने, ‘नागरिकहरूमा तमाम समस्या छन्। संविधानले प्रदान गरेको अधिकारलाई व्यवहारिकमैरूपमा अभ्यस्त हुन, राष्ट्रिय शक्तिको मियोका रूपमा र निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई स्थापित गर्न जरुरी छ।’
संविधानको कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी जनताको राष्ट्रिय आकांक्षा र लक्ष्यलाई साकार पार्ने गरी अगाडि बढ्नु नै अहिलेको आवश्यकता रहेको पौडेलको जोड थियो। दुई दिनसम्म चल्ने अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ। उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओली आउने पूर्व निर्धारित कार्यक्रम तय भए पनि कार्यव्यस्तताले ओली उपस्थिति हुन् सकेनन्।