तुइनबाटै आवतजावत गर्छन् हुम्लाका जनप्रतिनिधि

तुइनबाटै आवतजावत गर्छन् हुम्लाका जनप्रतिनिधि
सर्केगार्डबाट रिप गाउँ जाने क्रममा तुइन तर्दै उपाध्यक्ष चन्द्रसिंह कार्की । तस्बिर : नरजन तामाङ

तुइनबाट मोटरसाइकल तार्न १ हजार रुपैयाँ र मानिस आउजाउ गर्न दुई सय रुपैयाँ तुइन मालिकलाई बुझाउनुपर्छ ।

 हुम्ला : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २०७२ सालमा प्रधानमन्त्री बन्नासाथ दुई वर्षभित्र तुइन विस्थापन गरिसक्ने घोषणा गरेका थिए । जहाँजहाँ तुइन छन्, ती ठाउँमा झोलुंगे पुलमार्फत तुइन विस्थापन गर्न उनले पहल सुरु गरे । 

घोषणा गरेको ९ वर्ष बितिसक्दा पनि हुम्लाका जनप्रतिनिधिदेखि स्थानीयवासी जोखिम मोलेर गाउँपालिका केन्द्रसम्म तुइनबाटै आउजाउ गर्न बाध्य छन् । हुम्लाको सर्केगार्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की गाउँबाट पालिका केन्द्र तुइन चढेरै आउजाउ गर्न बाध्य छन् । उनीसँगै वडा नम्बर २ का वडाध्यक्ष सिद्ध कार्की पनि पालिकामा काम विशेषले जानुपरेमा तुइनकै भर पर्ने गरेका छन् ।

उपाध्यक्ष र वडाध्यक्ष मात्रै होइन, रिप गाउँका ३१९ घरधुरीका स्थानीयबासी तुइनबाटै कर्णाली नदी आउजाउ गर्न बाध्य रहेका सर्केगाड गाउँपालिका २ रिप गाउँकी सुरी फडेराको गुनासो छ । ‘कर्णाली नदीमा झोलुंगे पुल नहुँदा तुइनबाट आउजाउदेखि सामान तार्ने गरेका छौं’, फडेराले बताइन् । 

‘नदीभन्दा पारी सडक छ । गाउँपालिका आउजाउ गर्न र गाडी चढ्न पारी जानुपर्छ’, फडेराको दुखेसो छ । झोलुंगे पुल नहुँदा तुइनबाट तार्ने समयमा घर निर्माणका लागि खरिद गरेर ल्याएको ६ बन्डल जस्तापाता नदीमा खसेर बगाएको सर्केगाड गाउँपालिका २ की गीता कार्कीले बताइन् । कर्णाली नदीमा झोलुंगे पुल नहुँदा गाउँपालिका केन्द्र आउजाउ गर्न निकै समस्या भएको उनले दुखेसो पोखिन् ।

पुल निर्माण नहुँदा रिप गाउँका मात्र नभई सर्केगाड गाउँपालिका २ उनापानीका ३६५ घरधुरीका स्थानीयले सास्ती खेप्दै आएका छन् । यसैगरी चंखेली गाउँपालिका केन्द्रमा पर्ने लोती कर्णालीमा पुल नहुँदा चंखेलीवासी तुइनबाट आउजाउ गर्न बाध्य छन् । 

मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माण ढिलाइ भएको छ । बेलायतको अन्तर्राष्ट्रिय विकास नियोग डीएफआईडीले मुगु र हुम्ला जोड्ने ६५ किलोमिटर लिंक रोड निर्माण गरेको वर्षांै दिन बितिसक्दासमेत बेलिब्रिज पुल निर्माण कार्यमा ढिलाइ हुँदा तुइनबाट मोटरसाइकल तारेर स्थानीय आउजाउ गर्न बाध्य देखिएका छन् । 

तुइनबाट मोटरसाइकल तारेबापत तुइनको मालिकले १ हजार लिने गरेको चंखेली गाउँपालिका १ का वडाध्यक्ष गोबिन्द बोहराले जानकारी दिए । ‘पालिका केन्द्र आउजाउ गर्न मोटरसाइकल छ । तर, पुल नहुँदा नदीभन्दा पारी छोडेर आउजाउ गर्न बाध्य छौं’, वडाध्यक्ष बोहराले भने । मोटरसाइकल तार्न १ हजार रुपैयाँ र मानिस आउजाउ गर्न दुई सय रुपैयाँ तुइन मालिकलाई बुझाउनुपर्ने उनको भनाइ छ । 

ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत डीएफआईडीले मुगु हुम्ला जोड्ने लिंक रोड निर्माण गरे पनि हालसम्म कर्णाली नदीमा पुल निर्माण नहुँदा स्थानीय तुइनबाट आवतजावत गर्न बाध्य छन् । सवारीसाधन वारपार गर्नसमेत कठिनाइ भएको बोहराको भनाइ छ ।

हुम्लाको खापुनार्थ गाउँपालिका १ को लाली बगरमा कर्णाली करिडोरको सडक निर्माणका क्रममा झोलुंगे पुल भत्किएपछि खापुनाथ गाउँपालिका २ थाली गाउँका स्थानीयबासी पनि तुइनकै भर पर्दै आएका छन् । नदीभन्दा पारी सडक भएपछि सदरमुकाम सिमकोट गाडी चढेर जान कर्णाली नदीको तुइनकै भर पर्न उनीहरू बाध्य छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.