विकासको आधारशिला

विकासको आधारशिला

विश्वका अधिकांश मुलुकहरूले आधुनिक विकासको आधारशिला खडा गरेको प्रमाणित इतिहास धेरै लामो छैन। अंग्रेजले गाँसकै लागि भांैतारिएर हिँड्ने बेलासम्म न विज्ञानको युग भन्ने शब्दावली प्रचलनमा थियो न त अमेरिका भन्ने देश। न त अमेरिका यो विश्वमा छ भन्ने कुरा अमेरिकामा बसेकाबाहेक अन्य स्थानमा बसेका मान्छेलाई जानकारी थियो।

एसिया र अफ्रिकाका आदिवासीले खाद्यान्न बालीको बहुबालीको खेती गरिरहँदा अंग्रेजहरू जंगली अवस्थामै थिए। हिउँदका सिरेटोमा गुफाजस्ता झोपडीमा खुम्चिएर हिउ छल्ने र हिम पग्लन सुरु भएपछि खानाको खोजीमा पलायन हुनै पर्ने बाध्यतामा भौंतारिने युरोपियनहरूले एसियाका भूगोलमा धावा गरे। शान्त बसेर आफ्नो जीविका गरिरहेका राज्यलाई कब्जा गर्दै राज्य विस्तारको रफ्तार चलाएको हो।

विशेष गरेर ब्रिटिसले भारतमा प्रवेश नगरेसम्मको अवधिमा युरोपमा कुनै वैज्ञानिक आविष्कार भएको प्रमाणित गर्ने कुनै प्रमाण देखाउन उनीहरू सक्दैनन्। भारत र यसका आसपासका क्षेत्रहरूमा प्रवेश गरी त्यहाँको प्रशासन र राज्य कब्जापछि नै अंग्रेजले जे जति भौतिक आविष्कारका दाबी गरेका छन् सबै यसै कालका हुन्, यो उल्लेख गर्नै पर्ने हुन्छ। प्राचिनकालको हाम्रो सनातन संस्कृति र सभ्यताको नास गर्ने काममा सनातन बाहेकका सबैले योगदान गरेका छन्। नालन्दा र तक्षशिला विश्वविद्यालयमा हाम्रा पूर्वजहरूले गरेका अनुसन्धानका ग्रन्थहरूको क्षति नै यसको प्रमाण हो। 

चार वेद, अठार पुराणका रचनाकार वेदव्यास, रामायणका जस्तो आध्यात्मिक ग्रन्थका रचना गर्ने वाल्मीकि ऋषिको तपोभूमि, संस्कृत व्याकरणका सूत्रका रचनाकार पाणिनिको कर्मभूमि अध्यात्मज्ञानको उद्गम स्रोतको जननी जनकपुर हो। जनकपुरका राजा जनकसँग अष्टाबक्र ऋषिको शास्त्रार्थ जहाँ जगत् जननी सीताको जन्म भयो, प्राचिनकालमात्र नभएर आजभन्दा २६ सय वर्ष मात्र अगाडि बौद्धधर्मका प्रवर्तक गौतम बुद्धले जन्म लिएको हिमवत् खण्ड नेपाल देशको प्राचिनकालमा भएको विकासको गरिमा चार अक्षरमा उल्लेख हुनै सक्दैन। संसारका वाङमयको स्रोत शिवको डमरुको स्वरबाट व्याकरणका सूत्र बन्ने रहेछ भनेर जान्न सक्ने ल्याकत पाणिनिबाहेक आज सम्म अर्को जन्मन सकेन। भाषा ,साहित्य कला, खगोलीय ज्ञान, आयुर्वेदिक उपचार, खानपान, प्रविधिको उच्चतम विकास भएको देशको आजको जर्जर अवस्था कसरी हुँदै गइरहेको छ ?

मान्छेलाई चहिने सुख र शान्ति हो। पृथ्वीका असंख्य जीव जगत्मा मान्छेबाहेक अर्को कुनै पनि जीवले भोलिको लागि संग्रह गरेको अहिलेसम्म भेटिएको छैन। हाम्रा पूर्वजहरूमा संग्रहका लागि मरिमेट गरेको पनि पाइँदैन। धेरै संग्रह गर्ने सुखी हुन्छ भने पनि त्यसलाई सुख भएको होला जस्तो लाग्दैन। संग्रृहीत झन् ठूलो तनावमा झेलिएको हुन्छ। एकले अर्को मानिसलाई दास बनाएर आफ्नो सेवामा लगाएको अवस्थामा के सुख हुन्छ ? यो पनि मान्न सकिने सुख होइन। मीठो खाना राम्रो नाना अनि सुन्दर छाना मानिसको आधारभूत चाहना हो। यसैमा सुख सन्तोष देख्ने दृष्टि भौतिक संग्रहले कतै दिन सक्दैन। विश्व बजारीकरणको वर्तमान भवसागरमा तैराकी लगाउने सामथ्र्य नहुनेले यस्तो भवसागरमा प्रवेश नगर्नु नै बुद्धिमानी हुन्छ। परिस्थितिले प्रवेश गरिसकेपछि पार हुने अवस्था नआएको खण्डमा किनारा खोज्ने र किनारामा उत्रन लजाउनु पर्दैन। किनारा लाग्नै पर्छ।

विश्वका हरेक देशले आ–आफ्ना आवश्यकता र औचित्यका आधारमा विकास गरेका छन्। कला संस्कृति सभ्यता र संस्कार नै देशको मौलिक पहिचान हो। आफ्नो मूल आवश्यकता के हो र गौण के हो भन्नेकुरा पहिले नै छुट्ट्याएर विकासको खाका निर्माण गर्ने गरेमा त्यो दिगो र सफल हुँदो रहेछ। अरूको देखासिकीमा गरेको कामले आफ्नो आवश्यकताको पूर्ति गर्दैन। भौगोलिक आवश्यकता नागरिकको चेतना एवम् क्षमताको स्तरले पनि विकासको गतिलाई प्रभावित पार्दछ। देखेको र आफैंले भोग्दै आएको अनुभवले पनि यस कुरालाई पुष्टि गरेको छ। हामीले हाम्रो आवश्यकता नछुट्ट्याएर अरूको देखासिकी गर्ने परिपाटीले गहिरो खाडलमा जाकिसकेका छौं कि यसको क्षतिपूर्ति आउने पुस्ताले पनि गर्न कठिन हुनेछ। मूर्खको लहडबाजीलाई प्रोत्साहन दिएर विकासको ढोका खुल्दै खुल्दैन। त्यो खाली नोक्सानी र विश्मयमात्रै हुन्छ।

अपार प्राकृतिक स्रोतको भण्डार भएको मुलुकमा हरेक वस्तुको उपभोगमा हाहाकार छ भने जहाँ प्रकृतिक स्रोत शून्य प्रायः मुलुकमा आज आफ्ना पूर्वजका बुद्धिमतापूर्ण कार्यले आम नागरिकलाई हरेक वस्तुको सुलभ उपलब्धता छ। हिजोको विशाद आजको राग र भोलिको चिन्तामा रुमलिइरहेर असन्तोषको अलाप गर्ने समूह, हिजोको गर्व गरेर आजको रागको द्वेष, आवेगमा रहने समूह र हिजो र भोलिको कुनै कामना नभएका तर आज सत्तास्वादको रसातलमा चुर्लुम्म डुबेर देश र जनताको भविष्यमाथि लात मारेर लुट मच्चाउने वर्गबाट विकास हुँदैन। देशले गति लिने सम्भावना पनि छैन।

प्राचिन इतिहास सम्झेर आज पनि त्यो नै गर्नुपर्छ भन्ने होइन। तर, समयको गतिसँगै मानवीय सोच र आवश्यकता बदलिँदै जान्छ। हिमालको प्रकृति र आवश्यकता अलग्गै छ भने पहाड र तराईको प्रकृति र परिवेश फरक छ। मेचीको परिवेशसँग कोशीको त मिल्दैन भने महाकालीको कसरी मिल्ने ? यसैले फरक फरक विकासको खाका कोर्नै पर्छ। समग्र देश एउटा नै हो यसको शिक्षा स्वास्थ, खानपान र भेषभूषा पनि एउटा नै हुनै पर्छ भन्ने होइन तर सोच सबैको एउटै हुनु पर्छ। केही महिनापहिले दक्षिण भारतको भ्रमण गर्ने अवसर मिल्यो र समुद्रको किनारसम्म पुग्दा देखिएको दृश्यले सोच्नै पर्ने बनायो। एउटेै स्थानका दुई खेतमा एउटामा धान पाकेर काट्दै गरेको देखियो सँगैको अर्को खेतमा रोपाइँ चलिरहेको थियो। आँपको बोटमा लटरम्म आँप फलेका र पाक्दै गरेको छ सोही बोटमा फूल फुलेको पनि छ। अब हामीले हाम्रो देशमा त्यो गर्न खोजेर पनि सक्देनौ। हामीलाई त्यस्तो अनुकूल वातावरण पनि छैन। 

आजभन्दा ३०/४० वर्षपहिले निकासी वस्तुहरूको संख्या र मात्रा कति थियो आज त्यो शून्य प्रायः छ। आयातको परिणाम र संंख्या कहालीलाग्दो छ। एउटा परिवारको समृृद्धिले समग्र राष्ट्र समृद्ध छ भनेर हुँदैन। विश्वविद्यालयमा भएका शिक्षाको ह्रास के शिक्षकको लापर्बाहीले मात्र भएको हो ? पढ्ने जोस भएका जाँगरिला विद्यार्थीको पलायनले हो। जसलाई पढ्नै छैन ऊ विश्वविद्यालयमा घुसेको छ। पढ्न चाहने र बढ्न चाहनेलाई तगरो बनेर रोकेको छ। पढाउनेले कर्तव्य निर्वाह गर्दैन र पढ्नेले आफ्नो अधिकार खोज्दैन र जिम्मेवार हुँदैन भने यस्ता संस्थाको गरिमा बर्बाद गराई देशकै बद्नामी हुने गराएर किन चलाउने ? बन्द गरिदिए हुन्छ।

देशमा रोजगारीका प्रचुर सम्भावनाहरू प्रशस्तै छन् आर्थिक उन्नयनमा लाग्ने सजिला र सस्ता काममा लाग्न प्रेरण जगाउने दायित्व सरकारको हो। युवाबिनाको देश सञ्चालन गर्न कुनै चुनौती हुन्न भन्ने सोच राख्नेले नै मानव बिक्रीबाट आम्दानी देख्छ। थोरै लगानीबाट धेरै आन्दानी हुने क्षेत्रमा पराइलाई घुसाएको छ। कोही आफैं अवसरको खोजीमा यहाँ छिरेकाहरूले हाम्रा राम्रा आम्दानी हुने क्षेत्रमा पूरै कब्जा जमाइसकेका छन्। अब नेपालीले सो क्षेत्रमा हात हाल्ने कोसिस गरे भने टिक्नै नदिने गरी सञ्जाल बनाइसकेका छन्। नेपालबाट सिभिल इन्जिनियर पास गरेर अस्ट्रेलिया पुगेकोले त्यहाँ जंगलमा झरेका पात संकलन गर्दो रहेछ। यहाँ देशैभरि डढेलो लगाएर ध्वस्त गरेका र्छाैं र पनि अझै गर्व गर्छौं। 

जल, जमिन र जंगलबाट उपलब्ध भइरहेका प्राकृतिक स्रोतको सदुपयोगबाट मोहर कमाउने सीपको विकास गराउनु पर्ने जरुरी छ। कसरी जनताको आयस्तर बढाउने होला भन्ने जस्ता साधारण चिन्तनको खाँचो छ। तर, पालिकामा भीमकाय भूतघर निर्माण गर्ने प्रतिस्पर्धा, अनावश्यक भ्यु टावर निर्माण किन ? त्यसैले स्थानीय, प्रदेश र संघीय सरकारले युवाश्रमलाई स्वदेशमै परिचालन गर्ने र दूरदर्शी योजना बनाई विकासको आधारशिला खडा गर्नु पर्ने टड्कारो आवश्यकता छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.