बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं : बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको छ।
प्रस्तावमाथिको छलफलपछि उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको हो। त्यसअघि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा र वित्तीय जोखिमसमेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न उक्त विधेयक ल्याउनुपरेको बताए।
उनले नेपालको संविधान तथा प्रचलित कानुनमा उल्लेखित तीनै तहको सरकारको वित्तीय अधिकार क्षेत्रको व्यवस्थित कार्यान्वयन गर्न, हालैका दिनमा प्रदेश सरकारले पनि प्रदेश बैंकहरू खोल्न सुरु गरिसकेका सन्दर्भमा संशोधन विधेयक आवश्यक परेको बताए।
उनले नेपालको समग्रमा बैंकिङ तथा वित्तीय प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाइ स्थायित्व कायम गर्न विधेयक महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।