नेपाली चेलीलाई जोगवनी पुर्याउन खोजेपछि ...
विराटनगर : धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित कार्की छापका दुई जना युवती एकाएक गाउँबाट सम्पर्कविहीन हुन्छन्।
बजार पुगेर फर्कन्छौं भन्दै घरबाट हिँडेका उनीहरु भोलिपल्टसम्म फर्कदैनन्। युवतीकी आमाले प्रहरीलाई खबर गर्छिन्। प्रहरीले युवती हटाएको कुरा सबैतिर सञ्चार गरिसकेको हुन्छ। युवती हराउनुअघि गाउँमा दुई जना अपरिचित युवा कार लिएर पुगेका हुन्छन्।
नेपाली युवतीलाई बिक्रीका लागि भारत पुर्याउने गिरोहका एजेन्टहरु त्यही सिलसिलामा कार्की छाप पुगे पनि उनीहरुका बारेमा स्थानीय जानकार हुँदैनन्। उनीहरु अकर्षक कमाइको लोभ देखाउँदै नेपाली चेलीलाई वैदेशिक रोजगारीमा पुर्याउने आवश्वासन दिएर आफ्नो जालमा पार्न सफल हुन्छन्।
पारिवारिक आर्थिक अवस्था कमजोर रहेका युवतीहरु आकर्षक कमाइको प्रलोभनमा परी कारमा चढेर हिँड्छन्। तर, युवतीहरुले घरमा सुनाएका हुँदैनन्। एजेन्टले कारमा राखेर युवतीलाई सिमावर्ती भारतको जोगबनीतिर हिँडाउने चाँजो मिलाइसकेका हुन्छन्। जोगवनीबाट रेल चढाएर वीरगन्ज हुँदै काठमाडौं पुर्याउने आश्वासन उनीहरुलाई दिइएको हुन्छ। काठमाडौं हुँदै विदेश जान तयार भएका युवतीलाई बीच बाटोमा ती युवाले बेहोस बनाउने ट्याब्लेट खुवाउँछन्। युवती बेहोस भइसकेपछि एजेन्टको संवाद भारतमा रहेका चेलीबेटी बेचबिखनका मुख्य नाइकेसँग हुन्छ। नाइकेलाई दुई जना युवती ल्याउँदै गरेको जानकारी गराउँछन्।
युवती हराएको जानकारी पाएलगत्तै प्रहरीले गाउँमा नयाँ मान्छे आए/नआएको सोधीखोजी गर्छन्। अपरिचित युवाको हुलिया प्राप्त गरेपछि युवतीलाई बिक्री गर्न लगिएको हुनसक्ने आशंकामा खोजीका लागि प्रहरी परिचालन गरिएको हुन्छ। नेपाल–भारत सीमा क्षेत्र जोगवनीनजिकै विराटनगरको रानी नाकामा डीएसपी रामप्रसाद तिमल्सिना नेतृत्वको टोलीले किशोरीको व्यापक खोजी गरिरहेको हुन्छ।
सीमा कटाएर जोगवनी पुर्याउनै लाग्दा दुई युवती भेटिन्छन्। साथमा दुई जना एजेन्ट पनि हुन्छन्। प्रहरीले सोधीखोजी गर्न थालेपछि युवतीलाई बिक्रीका लागि लगिएको कुरा खुल्छ। दुवै युवालाई पक्राउ गरेर प्रहरीले युवतीको उद्धार गर्छ।
यो कथा मानव बेचबिखनविरुद्धको जनचेतनामूलक भिडियोसँग सम्बन्धित छ। कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रदेश प्रहरी कार्यालय विराटनगरले मानव बेचबिखनविरुद्धको जनचेतनामूलक भिडियो ‘सचेतना’ तयार पारेको हो।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङको अवधारणामा तयार पारिएको १५ मिनेट बढीको भिडियोमा नेपाली चेलीलाई रोजगारीको लोभ देखाएर विदेश लैजान भन्दै बेचबिखनका लागि भारत पुर्याउन एजेन्टले अपनाउने तरिकाका बारेमा देखाइएको छ।
सइ कृष्ण प्रधानको लेखन रहेको भिडियोका परिकल्पनाकार एसएसपी जयराज सापकोटा र निर्देशक एसपी सुमन तिमल्सिना हुन्। भिडियोमा प्रहरी कर्मचारी र सर्वसाधारणले अभिनय गरेका छन्। डीएसपी रामप्रसाद तिमल्सिना, सइहरु कृष्ण प्रधान, उमेश खड्का, नरबहादुर खड्का, असइ नानीबाबु बस्नेत, हवल्दार अशोक अचार्य, सहायक हवल्दारहरु चन्द्रमाया भट्टराई र पविता शर्मा, जवानहरु समीक्षा कट्वाल र एलिना राई तथा धनकुटाकी अनु मगर र विराटनगरका सुशील पौडेलले भिडियोमा अभिनय गरेका छन्।
प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कोशीका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले बिहीबार उक्त भिडियो सार्वजनिक गरेका हुन््। राईले बेचबिखनमा परेका नेपाली चेलीको पीडा र चेलीबेटी बेचबिखनमा संलग्न गिरोहका बारेमा भिडियोले प्रष्ट पारेको बताए। ‘सचेतनामूलक भिडियोले चेलीबेटी र आफन्तले भोगेको पीडा उजागर गरेको छ,’ उनले भने, ‘त्यसको रोकथामका लागि खेल्नुपर्ने भूमिकाका बारेमा प्रष्ट पारेको छ।’ मन्त्री राईले भिडिओले नेपाली समाजको सचित्र बिम्व र वास्तविकता उजागर गरेको बताए। भने, ‘चेलीबेटी बेचबिखनविरुद्ध सक्रियता बढाएर सचेतना फैलाउने प्रहरी कर्मचारीहरूलाई हार्दिक धन्यवाद छ।’
महिला हिंसा, मानव बेचबिखन नियन्त्रणमा उल्लेख्य काम गरिरहेको भन्दै मन्त्री राईले प्रहरीको तारिफ गरे। ‘छिटो धनी हुने सपनामा चेलीहरुलाई बिक्रीको साधन बनाइन्छ। आर्थिकदेखि अनेक समस्या र बाध्यतासँग जुधिरहेका हाम्रा चेली तत्कालै प्रलोभनमा परिहाल्छन्,’ उनले भने, ‘यस्तो अपराध रोक्ने र अपराधीलाई कारबाहीको दायरामा ल्याउने महत्वपूर्ण जिम्मेवारी प्रहरीको हो। त्यही अनुसार प्रहरीले भूमिका खेलिरहेको छ।’
मानव बेचबिखन, महिला हिंसाजस्ता अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न प्रदेश सरकार सधैं तयार रहेको मन्त्री राईले जनाए। प्रहरीले आफ्ना सचेतनामूलक कार्यक्रमलाई युवा युवती लक्षित गर्नुपर्ने सुझाव उनले दिएका छन्। मन्त्री राईले अपराध नियन्त्रण र अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रोत्साहन मिल्ने गरी प्रदेश सरकारले आगामी वर्षको बजेट ल्याउने जानकारी पनि दिए।
प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले गाउँ–घरमा गरिबी र बेरोजगारीभित्र रुमलिएका सोझासिधा दिदीबहिनीहरूलाई एजेन्टले कसरी फसाएर बेचबिखन गर्छन् भन्ने सन्देश भिडियोमार्फत दिन खोजिएको बताए। ‘समाजलाई सुधार्न र सुसूचित गर्न सामाजिक हितका लागि तथा विकृतिविरुद्ध केही न केही कार्यक्रम प्रहरीले गरिरहेको हुन्छ,’ उनले भने, ‘जनचेतनामूलक भिडियो त्यहीमध्ये एउटा हो।’ यस्तो भिडिओ गाउँगाउँसम्म पुर्याएर प्रहरीले चेलीबेटीहरू र आफन्तलाई सचेत गराउन महत्वपूर्ण भूमिका खेल्ने खापुङ बताउँछन्।
उनका अनुसार भिडियो नेपाल प्रहरीको प्रदेशस्थित फेसबुक पेज, युट्युबलगायत च्यानलबाट व्यापक बनाइने छ। ‘गाउँमा कतै अपराध त हुन गइरहेको छैन ?’ भनेर सबै सधैं सचेत हुनुपर्ने र गाउँमा कोही नयाँ मान्छे आएर गतिविधि गरिरहेको थाहा भएमा निगरानी बढाउनुपर्ने सुझाव डीआईजी खापुङको छ। सबै सचेत हुँदा मात्रै अपराध हुन नपाउने उनी बताउँछन्।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिना मानव बेचबिखनमा संलग्न गिरोहले पछिल्लो समय दुरदराजका विपन्न र कमजोर आर्थिक अवस्था भएका महिलालाई ‘टार्गेट’ गर्ने गरेको बताउँछन्। ‘सामान्यतया भारतमा काम लगाइदिन्छु भन्दा कोही लोभिँदैनन्। महिलालाई युरोप, अस्ट्रेलियालगायतका मुलुकको प्रलोभन देखाइन्छ,’ उनले भने, ‘यस्ता कार्यमा संलग्न व्यक्तिहरुले विश्वासयोग्य अभिनय र हुलिया प्रस्तुत गरिरहेका छन्। मानव बेचबिखनको घटना बढ्दो छ।’
तिमल्सिनाका अनुसार परिवार र प्रहरीको सक्रियताले यस्ता अपराध रोक्न सकिन्छ भन्ने सन्देश भिडियोमार्फत दिन खोजिएको छ। ‘अपराध रोक्न सबै लाग्नुपर्छ। अहिलेको सूचना प्रणालीलाई पीडित पक्ष र प्रहरीले भरपुर प्रयोग गर्दा सम्भावित अपराध रोकिन्छ,’ उनले भने, ‘प्रहरीले समयमै सूचना पाउँदा ठूलो घटना हुन पाउँदैन। अपराधको चुनौती चिर्न सूचना महत्वपूर्ण हुन्छ।’