अहिलेको समीकरण निर्वाचनसम्म जान्छ : महासचिव पोखरेल
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण आगामी निर्वाचनसम्म नै अघि बढ्ने बताएका छन्।
एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले अहिलको समीकरणको मुख्य साझेदार एमाले भएकाले समीकरणलाई मिसन ०८४ सम्मलाई निरन्तरता दिन चाहेको बताए।
उनले सरकारले जनताको अपेक्षा अनुसार मुलुकको संकटलाई समाधान गर्ने हिसाबले प्रभावकारी बनाउन सुझाव दिने गरेको भन्दै यसलाई विरोधका रूपमा बुझ्न नहुने बताए। बजेटका विषयमा सत्ता साझेदार दलसंग छलफल भएको भए अझै राम्रो बनाउन सकिने एमालेको धारणा रहेको भन्दै यसलाई सुझावका रूपमा लिनुपर्ने उनको भनाइ छ।
महासचिव पोखरेलले बजेटका बारेमा पार्टीका नेताहरूबाट जेजस्ता धारणा आए पनि आफूहरू बजेटका विपक्षमा नजाने स्पष्ट पारे। उनले बजेटमार्फत राजस्वको लक्ष्य र आकारमा सन्तुलन नमिल्दा बाह्य तथा आन्तरिक ऋण लिनुपर्ने अवस्था देखिएको र यसको असर प्रत्यक्ष उपभोक्तामा पर्ने जिरिक गरे।