मधेसमा जसपाको दुःखद सत्ता अवसान

मधेसमा जसपाको दुःखद सत्ता अवसान
फाइल तस्बिर।

जनकपुरधाम : संघीयता स्थापनापछि निरन्तर सत्ताको वरिपरि घुमेको उपेन्द्र यादवको पार्टी जनता समाजवादी पार्टी नेपालको दुःखद सत्ता अवसान भएको छ। गठबन्धन दलमा हेरफेर हुँदा पनि पटक–पटक गरी चारपटक विश्वासको मत पाएको सरोजकुमार यादव नेतृत्वको मधेस सरकारले यसपटक भने पाएन। 

विश्वासको मत नपाएपछि मधेस प्रदेशमा पहिलो कार्यकालको पूरा पाँच वर्ष र दोस्रो कार्यकालको १७ महिनापछि जसपा नेपालको मधेस प्रदेशमा दुःखद सत्ता अवसान भएको हो। २०७४ मा प्रादेशिक संरचना लागू भएसँगै निरन्तर रूपमा जसपा नेपालले सरकारको हालीमुहाली लिएको थियो। पहिलो निर्वाचनपछि तत्कालीन प्रदेश नम्बर २ (हाल मधेस प्रदेश) मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम, नेपालको सरकार बन्यो। 

तत्कालीन फोरमका संसदीय दलका नेता लालबाबु राउत चयन भए। सत्ता गठबन्धन र राजनीतिक दलमा जस्तो परिवर्तन आए पनि पूरा कार्यकाल उनले नेतृत्व गरे। दोस्रो निर्वाचन २०७९ मंसिर ४ गतेपछि पनि जसपा नेपालकै नेतृत्वमा सरकार गठन भयो। मुख्यमन्त्रीका रूपमा जसपा नेपालका नेता सरोजकुमार यादवले नेतृत्व सम्हाले। तर, मधेसमा पनि अन्य प्रदेश जस्तै राजनीतिक अस्थिरता सुरु भयो। अघिल्लो कार्यकालमा पूरै नेतृत्व तत्कालीन फोरमका नेता मो. लालबाबु राउतले सम्हाले। 

अन्य प्रदेशमा उथलपुथल भइरहे पनि पूरा मधेसमा भने राउतले पाँच वर्ष नै चलाए। केन्द्रीय सत्तासमीकरण फेरबदल भए पनि मधेसमा आफ्नै पार्टी नेतृत्वको सरकारलाई प्राथमिकतामा राख्ने उपेन्द्र यादव अहिले केन्द्रदेखि प्रदेशसम्म सत्ता बाहिर हुन पुगेका छन्। जसपा नेपालका संघीयपरिषद् अध्यक्ष अशोक राईले पार्टीका ७ संघीय सांसद लिएर जनता समाजवादी पार्टी गठन गरेपछि यादवको सत्तासमीकरण बिग्रिएर मधेसमा सत्ता गुमाउनुपरेको हो। ०७४ फागुन २ गते तत्कालीन प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएपछि निरन्तर मधेस प्रदेशमा एकछत्र राज गर्दै आएको जनता समाजवादी पार्टी नेपालको सत्ताच्युत हुने भएको छ।

गत वैशाख २४ गते जनता समाजवादी पार्टी नेपाल फुटेर अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी बनेपछि दल विभाजन हुँदा नेपालको संविधानअनुसार विभाजन भए वा सरकारको समर्थनमा रहेका दलहरूमध्ये कुनै एक दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। यसैअनुसार विश्वासको मत लिँदा जसपाले समर्थन प्राप्त गर्न नसकेको हो। फलस्वरूप मुख्यमन्त्रीको पदबाट सरोजकुमार यादव सत्ताच्युत भएका हुन्। जसपा विभाजन भएपछि मुख्यमन्त्री यादवलाई कांग्रेस र जसपाको सिंगो मत पाउँदा पनि उनको सत्ता जोगिएन। 

२०७९ मंसिर ४ गतेको चुनावपछि मुख्यमन्त्री भएका यादव डेढ वर्ष अवधिमा गठबन्धन फेरबदलका बाबजुद पनि सुरक्षित रहिरहे। २४ जेठमा केन्द्रीय गठबन्धनको १२ मा अशोक राईले ७ सांसदले फुटाएपछि कमजोर बन्यो। सो लगत्तै मधेसमा नयाँ सरकार बनाउन एमाले र माओवादीले वैशाख ३० मा राजीनामा दिँदै नयाँ सरकार बनाउने कसरतमा लागे।

केन्द्रमा बाँकी पाँच सिट रहेपछि प्रचण्ड सरकारबाट उपेन्द्र बाहिरिए पनि मधेस सरकार बचाउन उनी हरसम्भव लागि परे। एकीकृत समाजवादी सरकारमै यथावत् रहेर कांग्रेसले विश्वासको मत दिने संकेत र लोसपाले सहयोग गर्ने आश्वासनसहित सरकार टिकाउनेमा जसपा ढुक्क थियो। 

तर, विश्वासको मत लिने पूर्वसन्ध्यामा एकीकृत समाजवादीले साथ छाडेपछि विपक्षमा बहुमत पुगेको हो। मधेसमा अब तेस्रो दलको हातबाट फुत्किएको सत्ता चौथो दलमा जाने भएको छ। प्रदेशसभामा एमाले पहिलो र कांग्रेस दोस्रो ठूलो दल हुन् भने जसपा तेस्रो ठूलो दल हो। तर, मधेस प्रदेशको सरकार अब चौथो ठूलो दल जनमतको हातमा गएको छ। चौथो दलका रूपमा रहेको जनमतले एमाले र माओवादी केन्द्रसँग आलोपालो मुख्यमन्त्री चलाउने गरी सरकार बनाउनेछ। 

मधेस प्रदेशसभाको पहिलो पाँच वर्षे कार्यकालमा लालबाबु राउत मुख्यमन्त्री रहे। गठबन्धन फेरबदल र पार्टीको टुटफुट बेहोरे पनि मुख्यमन्त्रीबाट लालबाबु हट्नु परेन। त्यसबेला २९ सिटसहित उपेन्द्र यादवको संघीय समाजवादी फोरम मधेसको ठूलो पार्टी बनेको थियो। २५ सिटको महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दोस्रो ठूलो दल थियो। दुई दलबीच एकता भयो र पछि पुनः विभाजन पनि भयो। विभाजन हुँदा उपेन्द्र यादव नेतृत्वको जसपासँग ३९ सांसद थिए। 

नयाँ सरकारको कसरत 

जनता समाजवादी पार्टी नेतृत्वको सरकार ढलेसँगै मधेसमा नयाँ सरकार गठनको कसरत अन्तिम चरणमा पुगेको छ। जसपा नेतृत्वको सरोजकुमार यादव सरकार ढलेसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीबीचको सहमति अनुसार नयाँ सरकारको नेतृत्व जनमतले गर्ने भएको हो। 

जनमत पार्टीबाट संसदीय दलका नेता महेशप्रसाद यादवसहित अन्य ४ जना आकांक्षी छन्। मुख्यमन्त्री पदका लागि जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाहा, चन्दन सिंह र सतिष सिंहको नाम चर्चामा रहे पनि अन्तिममा सतिषलाई मुख्यमन्त्री बनाउन सबै सहमत हुने छाँटकाँट छ। तर, अन्तिम समयसम्म महेशप्रसाद यादवले आफ्नो कसरत गरिरहेका छन्। 

जनमतको नेतृत्वमा माओवादी केन्द्रका भरतप्रसाद साहलाई अर्थसहित दुई मन्त्रालय, एमालेका सरोजकुमार यादव भौतिक पूर्वाधार विकाससहित ४ मन्त्रालय, जनमतलाई मुख्यमन्त्रीसहित ३ मन्त्रालय, एकीकृत समाजवादीलाई कृषिसहित २ मन्त्रालय र नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीलाई मन्त्री र राज्यमन्त्री दिने तयारी छ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले बुधबार राति १० बजे नै आह्वान गरिसकेको छ। दलहरूले शुक्रबार बिहान १० बजे बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने प्रदेश सांसद बसन्त कुशवाहाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.