सहकारीले घर न घाटको बनायो

सहकारीले घर न घाटको बनायो

काठमाडौं  : 

स्थान : माइतीघर मण्डला।
समस्या : सहकारी बचतकर्ताको रकम हिनामिना।

एकातिर आकर्षक ब्याजको लोभ। अर्कोतिर सुखद भविष्यको कल्पना। कसैले जुठा भाडा माझेर सहकारीमा बचत गरे त कसैले जीवनभरको कमाई सहकारीमा राखे। तर, सर्वसाधारणको त्यही रकममा रजाइँ चल्यो, सञ्चालकको। सहकारी डुबाए अनि, बेपत्ता भए। बिजोगमा परे, बचतकर्ता। जीवनभरको कमाई डुबेपछि औषधिमुलो पनि गर्न नपाएको गुनासो पोख्दै पीडितहरू माइतीघरमा महिनौंदेखि आन्दोलन गरिरहेका छन्। कोही लालाबाला काखीमा च्यापेर आन्दोलनमा छन् त कोही लठ्ठीको सहारामा उभिएर रकम फिर्ता माग्दै छन्। तर, सरकार भने आफ्ना मागप्रति बेखबर जस्तै बनेको उनीहरूको गुनासो छ। मुलुकभर ३१ हजार ५ सय सहकारी छन्। तीमध्ये ठूला २० वटा सहकारी समस्याग्रस्त छन्। समस्याग्रस्त सहकारीका पीडितका व्यथा यस्ता छन् :
 
शान्तिनगरकी ७९ वर्षीया शान्ति मानन्धर क्यान्सर रोग पीडित हुन्। ब्लडप्रेसरको समस्या पनि उस्तै छ। उमेर र रोगका कारण घरमै आराम गर्नुपर्ने हो। तर, आराम होइन, धपेडी छ। तातो घाममा माइतीघरमा आन्दोलन गर्नु परिरहेको छ। आफूले बचत गरेको रकम सहकारीले हिनामिना गरिदिएपछि उनी तीन महिनादेखि आन्दोलित छिन्। तर, सरकारले उनको माग सुनेको छैन। ‘अब त लाज पनि लजाउने बेला भयो,’ शान्तिले पीडा पोखिन। 

औषधिमुलो गर्न सहज होला भनेर उनले लालीगुराँस र कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा १५–१५ लाख जम्मा गरेकी थिइन्। पति धु्रव नारायण मानन्धर अवकाशप्राप्त कर्मचारी हुन्। पतिको नियमित आउने पेन्सन बैंकबाट झिकेर शान्तिले सहकारीमा लगेर राख्ने गर्थिन्, दुई चार रुपैयाँ बढी ब्याज आउने लोभमा। तर, न ब्याज पाइन, न त साँवा नै। उल्टै आफैंले बचत गरेको रकम फिर्ताका लागि आन्दोलन गरिरहेकी छिन्। सहकारी सञ्चालक भने फरार छन्। 

शान्तिका पति धु्रवनारायण पनि सुगर रोगपीडित हुन्। शान्ति र धु्रवनारायण दुवै जनालाई औषधि उपचार गर्न नियमित रकम आवश्यक परिरहन्छ। तर, सहकारीले बचत रकम फिर्ता नगरिदिँदा बाँच्नै कठिन भएको शान्ति बताउँछिन्। ‘पैसा माग्न जाँदा सहकारीका कर्मचारीले छैन भन्छन्,’ उनले भनिन्, ‘हामीले खल्तीबाट दिन मिल्दैन भन्ने जवाफ दिन्छन्। कहिलेकाहीँ त खल्तीबाटै दिन्छु है, आमा भन्छन्। तर, भोलि, पर्सि भन्दै टार्छन्। जति गर्दा पनि पैसा पाएको छैन।’ 

मानन्धर दम्पतीलाई महिनामै २५ हजारको औषधि किन्नुपर्छ। ‘औषधि खानलाई बचत गरेको थिएँ,’ उनले भनिन्, बुढेसकालमा मिठोमसिनो खानलाई मरिमरी रुपैयाँ जम्मा गरेँ। पैसा भनेको बच्चा हो। पैसा नभए छोराछोरीले पनि हेर्दैनन्। यो त संसारको नियम हो।,’ शान्तिले थप दु:ख पोखिन, ‘श्रीमान्को पेन्सन सबै लगेर सहकारीमा राखेँ। बचत गर्दा राम्रै ब्याज पनि आउँछ भन्थेँ। केको ब्याज आउनु, हाम्रो बुढेसकालको सहारा भनेको अलिकति गरेको बचत थियो। त्यो पनि सहकारीवालाले डुबाइदिए।’ 

बचत डुबेपछि शान्तिको मन अशान्त भयो। तीन महिनादेखि नियमित सडक आन्दोलनमा छिन्। उनी भन्छिन्, ‘आन्दोलनमा आए। सबैको दु:ख सुने। मभन्दा पनि धेरै दु:खी मान्छेहरू भेटेँ। अनि सधैं आन्दोलनमा आउन थालेँ।’

उपभोक्ताको रकम ठगी गर्ने सहकारी सञ्चालकलाई सरकारले कारबाही गर्नुपर्ने र बचत फिर्ता गराउनु पर्ने शान्तिको माग छ। ‘सरकारले यत्रो सहकारी खोल्ने अनुमति दियो। तर, बचतकर्ताको पैसा खाएर भाग्ने र बदमासी गर्नेहरूलाई कारबाही नगरेर सरकार सुतेर बसेको छ, किन’, आक्रोशित हुँदै उनले भनिन्, ‘हाम्रो माग पूरा गर्ने भनेर सरकारले सम्झौता गरेको थियो। तर, सरकारसँगको सम्झौता भनेको गीत र कविताजस्तै भयो। पूरा गर्ने भन्ने तर नगर्ने। कस्तो प्रधानमन्त्री, कस्ता गृहमन्त्री हुन् ?’
 
नागार्जुन रामकोटकी राधा महर्जनकी छोरी पूनम वैदेशिक रोजगारीमा छिन्। कमाएको पैसा आमालाई पठाउँथिन्। छोरीले विदेशमा कमाएको पैसा राधाले खुसी बचत तथा ऋण सहकारीमा बचत गर्थिन्। १० लाख बचत भएकोमा उनी खुसी थिइन्। तर, गत वर्षदेखि सहकारी सञ्चालक फरार भए। उनी घर न घाट कि भएकी छिन्। उता दुबईमा पूनम पसिना बगाउँदै छिन्, यता उनकी आमा बचत गरेको रकम फिर्ता गर्न सडकमा आन्दोलित छिन्।  लकडाउनमा पूजा वैदेशिक रोजगारीमा गएकी थिइन्। राधाले ऋण खोजेर छोरीलाई विदेश पठाएकी थिइन्। अर्काको घरमा भाडा माझेर त्यो कर्जा तिरिन्। ‘छोरीको विवाह गर्नुपर्छ भनेर सहकारीमा रकम जम्मा गरेँ,’ उनले भनिन्, ‘अहिले त्यो पैसा हातबाट फुत्किएको जस्तो भयो। अब फिर्ता आउँछ कि आउँदैन के ठेगान ? हामीले थोपाथोपा जम्मा गरेको सबै रकम लिएर सहकारीवाला भागे। खोज्न कहाँ जाउ ?’,माइतीघरमा धर्ना बसेकी उनले थपिन्, ‘एक वर्षदेखि सहकारी सञ्चालकहरू सम्पर्कमा छैनन्। चारजना दाजुभाइ नै सहकारी सञ्चालक हुन्। हाम्रो बचत सबै जग्गा कारोबारमा लगेर हाले। आफन्तको नाममा जग्गा खरिद गरेका छन्।’ सरकारले उनीहरूको सम्पत्ति बिक्री गरेर भए पनि बचतकर्ताको रकम फिर्ता गराउनुपर्ने उनको माग छ।

गत वर्षदेखि देशैभरका सहकारीपीडित आन्दोलित छन्। सरकारले माग सम्बोधन गर्ने भनेर सम्झौता पनि गर्‍यो। तर, खै कहाँ अड्कियो, अड्कियो ? पीडितले पत्तो पाएका छैनन्। सडकदेखि सदनसम्म सहकारी पीडितको माग उठ्छ। तर, सरकार यसमा गम्भीर नरहेको राधाको भनाइ छ। उनी भन्छिन्, ‘हामीले कतैबाट लुटेर ल्याएको रुपैयाँ होइन्। दिनरात रगत पसिना बगाएर एक/एक पैसा जम्मा गरेको हाम्रो बचत हो। सरकारले हाम्रो बचत कुनै पनि हातमा फिर्ता गराउनुपर्छ। नत्र हामी सडकमै प्राण त्याग्छौं।’

सहकारी पीडितहरूले बचत फिर्ताको माग राख्दै पोहोरसाल ६३ दिन आन्दोलन गरेका थिए। सरकारले पीडितहरूसँग माग पूरा गर्ने भनेर सम्झौता पनि गरेको थियो। तर, त्यो सम्झौता लागू भएन। उनी भन्छिन्, ‘सहकारी ठगलाई सरकारले कारबाही नगरेसम्म आन्दोलन निरन्तर चल्छ।’

जीवनभरको कमाई सहकारीमा डुबेपछि महाराजगन्जका ७४ वर्षीय ऋषिराम अधिकारी दु:खित छन्। उनले गोरखा सेभिङ सहकारीमा १० वर्षको अवधिमा ३८ लाख जम्मा गरेका थिए। उनी पहिला गोरखामा कपडाको पसल गर्थेंँ। जीवनभरको कमाई बुढेसकालमा सहारा हुन्छ भनेर ब्याजको लोभमा सहकारीमा रकम राखेँ। तर, अहिले उनलाई सहकारीबाट बचत फिर्ता लिन धौ–धौ छ। सहकारी सञ्चालकहरू नै बेपत्ता रहेको उनी बताउँछन्। 

सरकार गुहार्न तातो घाममा उनी माइतीघरमा धर्ना बस्न आउँछन्। साँझ परेपछि निराश भएर घर फर्किन्छन्। उनको दिनचर्या अहिले पीडादायी  छ। उनी भन्छन्, ‘वृद्ध अवस्थामा औषधि उपचार गर्न सहज हुन्छ भनेर सहकारीमा बचत गरेको थिए। सहकारी नै डुब्यो।’ बैंकबाट सारेर ऋषीरामले सहकारीमा रकम राखेका थिए। दुई पैसा बढी ब्याज दिन्छ कि भनेर लोभले सहकारीमा पैसा राखेको उनको भनाइ छ। त्यति मात्र नभई ज्येष्ठ नागरिकहरूलाई अरूभन्दा १ प्रतिशत बढी नै ब्याज दिने लोभ सहकारी सञ्चालकले देखाएका थिए। ब्याज पाउनु त कहाँ–कहाँ, बचत नै डुबेको उनी बताउँछन्। ‘सहकारीवालाले सबै डुबाइ दिए,’ उनी भन्छन्, ‘बिरामी भए उपचार गर्ने बाटो पनि छैन। म त धेरै थोकको बिरामी छु। मुटु रोग, सुगर, प्रेसर सबै छ। महिनामा बूढाबूढीलाई गरेर १० हजारको त औषधि मात्रै खानुपर्छ।’

आफ्नै पसिनाको कमाई सहकारीबाट फिर्ता लिन ऋषीराम पाँच महिनादेखि आन्दोलित छन्। तर, उनले न्याय पाएका छैनन्। सरकारले सुने पनि नसुने जस्तै गरेको उनी सुनाउँछन्। ‘सरकारले तपाईँहरूका माग ठीक छ भन्छ,’ उनी भन्छन्, ‘तर सहकारी ठगहरूलाई पक्राउ गर्दैन। हाम्रो बचत फिर्ता गराउनेतिर सरकार लागेकै छैन।’

सहकारीको कार्यालयमा सञ्चालकका कुुर्सी महिनौंदेखि खाली छन। ‘पैसा माग्न कोसँग जाने ? समितिहरू भागेर कहाँ–कहाँ पुगे ठेगान छैन’, उनी गुनासो गर्दै भन्छन्, ‘अफिसमा कर्मचारीहरू मात्रै बस्छन्। उनीहरूसँग के कुरा गर्ने ? उनीहरूले त तलब नपाएको गुनासो गर्छन्। अध्यक्षसँग बचतकर्ताको भेट पनि हुँदैन। फोन पनि उठाउँदैनन्।’

उनका अनुसार बचत रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई राजनीतिक छहारी छ। ‘नत्र त्यसरी अर्काको अर्बौं रुपैयाँ खान नपर्ने हो,’ उनी भन्छन्, ‘कुनै राजनीति पार्टीले चुनावका लागि पैसा मागेर लगेका छन् कि ? सहकारीबाट सरकारले जसरी पनि बचतकर्ताको रकम फिर्ता गराउनुपर्छ। अपचलन गर्नेलाई कारबाही हुनुपर्छ।  यसका लागि राज्य जिम्मेवार बन्नुपर्छ।’

उदयपुर गाईघाटकी २८ वर्षीया सन्ध्या शर्मालाई आजभोलि परिवार चलाउनै धौ–धौ छ। वर्षदिनअघि उनलाई यस्तो समस्या थिएन। जडिबुटीमा सानो खाजा पसल गर्थिन्। कोटेश्वरको सहकारीमा भएको आम्दानी बचत गर्थिन्। सुनौलो भविष्यका लागि। सहकारीले १ लाख ३० हजार बचत डुबाइदिएपछि बच्चासहित न्याय माग्न माइतीघरमा दिनहुँ धाइरहेकी छिन्। सहकारीमा जम्मा भएको रकम नै  सन्ध्याका लागि बालबच्चा हुर्काउने र पढाउने आशाको दियो थियो। तर, सहकारीमा बचत डुबेपछि उनी बेचैन छिन्। ‘एक वर्षमा डेढ लाख रकम सहकारीमा बचत गरेँ’, उनी भन्छिन्, ‘चिया र चटपटे बिक्री गरेर आएको आम्दानी बच्चाहरूलाई पढाउन राखेको थिए। त्यो पैसा लिएर सहकारीवाला भागेका छन्। हामीजस्ताको रकम खाएर भाग्नेलाई कारवाही गर्न सरकारसँग माग गरिरहेका छौं।’

सहकारीले राम्रो ब्याज दिने लोभ देखाएर आफूजस्ता गरिवलाई फसाएको सन्ध्याको गुनासो छ। ‘बचत फिर्ता नगर्दा खान, बच्चाको स्कुल फि तिर्न समस्या भयो’, उनले भनिन्, ‘सरकारको आँखा र कान खुलोस्, हाम्रो बचत फिर्ता होस्। धेरै दु:ख पायौं।’
 
दोलखाका पदमबहादुर खातीले कुलेश्वरमा ३८ वर्ष होटल चलाए। नाफा जति गौतम श्री सहकारीमा बचत गरे। रकम ३५ लाख पुग्यो। तर, बचत भएको एक पैसा पनि पाएनन। उनी भन्छन्, ‘दुनियाँको जुठो भाडा माझे, दु:ख गरे। गाउँको खेतबारी बेचेर सहकारीमै रकम जम्मा गरे। तर, हाम्रो सबै पैसा खाएर सहकारीवाला भागे। हामीलाई बर्बाद बनाए।’

होटल चलाउन नसकेर उनले चार वर्ष अघि बन्द गरे। बचत रकम सहकारीमा डुबेपछि न्याय माग्दै सडकमा भौतारी रहेका छन्। पार्टीका नेताहरू नै सहकारी सञ्चालकहरू छन्। उनीहरूले आफ्नो फाइदाका लागि बचतकर्ताहरूको रकम अन्यन्त्र लगानी गरेको उनको आरोप छ। ‘नेता–नेता मिलेर सहकारीको पैसा खाएको जस्तो छ,’ उनी भन्छन्, ‘एक वर्षअघि भएको चुनावमा बिटाका बिटा हाम्रै पैसा बाँडेर भोट किने। अहिले त्यो खुल्दै छ।’

खाती मुटु रोगबाट पीडित हुन्। आर्थिक अभावमा उनले नियमित औषधि किनेर खान सकेको छैनन्। त्यसमाथि सहकारीले बचत रकम डुबाइदिएपछि उनी झनै तनावमा छन्। ‘थोपा, थोपा गरेर जम्मा गरेको पैसा ठगहरूले खाइदिइहाल्यो,’ उनले दु:ख बिसाए, ‘अहिले भागी हिँडेका छन्। सरकारले पक्रेर कारबाही किन गर्दैन, सरकारले हाम्रो माग सुन्दैन। बुझ्दैन। घाममा सडकमा बस्नु परेको छ। मुटु हल्लिरहेको छ।’
 
जीवनभर कमाइ गरेर राखेको पैसा डुबेपछि ललितपुर पाटनका ७६ वर्षीय हेमकृष्ण राजकर्णिकार माइतीघरमा न्याय खोज्दै छन्। गतिशील सहकारी संस्था लगनखेलमा उनले पेन्सनको २१ लाख जम्मा गरेका थिए। बुढेसकालमा काम लाग्छ भनेर राखेको पैसाले उनलाई सहयोग पुगेको छैन। मंसिरमा उनको अप्रेसन गर्नु थियो। तर, सहकारीले २ लाख पनि बचत फिर्ता गरेन। नेपाल बैंकमा २९ वर्ष जागिर गरेर थोरैथोरै जम्मा गरेको पैसा सहकारीमा राखेका थिए। सहकारीमा बचत गरेको पैसा अपचलन गरेपछि उनी जस्ता बचतकर्ताहरूको बिचल्ली भएको छ।

‘अपे्रेसन गर्नु थियो। मंसिर २ गते सहकारी गएको थिएँ,’ उनले पीडा पोखे, ‘१५ गते अप्रेसन गर्न पैसा चाहिएको थियो। ब्लडब्याडरको अप्रेसन गर्नुथियो। स्टोन निकाल्नु थियो। २ लाख पनि दिएन। फोन पनि उठाउँदैनन्। २२ महिना भयो यस्तो गरेको। सडकमा आउन बाध्यता बनायोे।’ विभिन्न रोगले उनलाई गाँजेको छ। घुँडा दुख्छ। किड्नीमा समस्या छ। 
 
कपनकी ४५ वर्षीया चन्द्रिमाया तामाङले ज्यालामजदुरी गरेर अढाई लाख सहकारीमा बचत गरिन्। तर, सहकारी बन्द गरेर सञ्चालक बेपत्ता भएको उनी सुनाउँछिन्। तातो घाममा न्यायको खोजीमा चन्द्रिमाया चार वर्षीया छोरी सुजितालाई पिँठ्युमा बोकेर माइतीघर–कपन आउजाउ गरिरहेकी छिन्। सहकारीमा बचत गरेको रकम लिन उनलाई महाभारत छ। तर, फिर्ता पाएकी छैनन्। ‘हाम्रो रकम फिर्ता देऊ, सहकारी ठगलाई कारबाही गर’ भन्दै माइतीघरदेखि बान्तिवाटीमा नाराजुलुस गर्दै उनको दिन बित्ने गरेको छ। उनी भन्छिन्, ‘फसेको पैसा सहकारीबाट उठाउँ कि ज्यालामजदुरी गर्न जाउ ? निकै सकस भयो। के गर्ने १३ महिनादेखि आन्दोलन गर्दै छौं। सरकारले हामी गरिवको माग सुन्दै सुन्दैन।’
 
एक वर्ष भयो। बचत फिर्ता माग्न थालेको। तर, कपनस्थित सुमो सहकारीले ताप्लेजुङकी फुर्वा शेर्पालाई ६ लाख बचत फिर्ता दिएको छैन। होटल चलाएर उनले सहकारीमा बचत गरेकी थिइन्। ३ वर्षीया छोरी मिमा डण्डु शेर्पालाई काँधमा बोकेर उनी गल्ली–गल्ली भौतारी रहेकी छिन्, सहकारी सञ्चालक खोज्दै। तर, उनले बचत फिर्ता पाउन सकेकी छैनन्। गरिबको पसिनाको कमाई सहकारी सञ्चालकले डुबाइदिए। तर, उनीहरूलाई कारबाही किन हुँदैन ? उनको प्रश्न छ। सरकारले दर्ता गरेको सहकारी, कानुनअनुसार बनेको समिति बेपत्ता हुँदा पनि सरकारले किन खोजेर ल्याउँदैन ? उनको जिज्ञासा छ।

‘गरिबी जीवनमा दु:ख गरेर जम्मा गरेको बचत यसरी ठूलाबडाले खाइदिँदा वा फिर्ता नगर्दा हामीलाई कस्तो दु:ख पर्छ ? त्यो भोग्नेलाई मात्रै थाहा हुन्छ’, उनले भनिन्, ‘त्यसैले सरकारले दोषीहरूमाथि कानुनको डन्डा चलाएर हामीलाई न्याय दिनुपर्छ।’
 
विदेशमा कमाउन कति कठिन छ ? खाडीमा रगतपसिना बगाउनेसँग यसको जवाफ खोज्नु। साँगुकी ३६ वर्षीया सुशीला शाहीले पीडा पोख्दै भनिन्, ‘श्रीमान्ले साउदीबाट कमाएर पठाएको रुपैयाँ सुमिरो सहकारीमा बचत गरंँे। झन्डै साढे ८ लाख पुगेको थियो। सहकारीमा डुब्यो। अब उठ्छ कि उठ्दैन ? केही भन्न सक्दिनँ।’ १८ महिने छोरी श्रृष्टिलाई काँधमा बोकेर उनी भौतारिरहेकी छिन् न्यायको खोजीमा। कहिले माइती घर। त कहिले बानेश्वरको संसद् गेटअघि नाराजुलुस गर्दै। सात महिनादेखि जारी रहेको उनको यो यात्रामा बचत फिर्ता भएपछि मात्रै बिराम लाग्ने छ। तर, कहिले फिर्ता हुन्छ ? टुंगो छैन। उनी भन्छिन्, ‘हाम्रो बचत फिर्ता नभएसम्म सडक छोड्दैनौं। अब हामीसँग के नै छर, कमाएको पनि सहकारीमै डुबेको छ।’
 
कसलाई रहर लाग्दैन, आराम र सुखीले जिन्दगी बिताउ ? तर, भने जस्तो नहुँदो रहेछ। कामको खोजी गर्दै रामेछापबाट काठमाडौं आएका धनबहादुर सुनुवारलाई दु:खले छोडेको छैन। सानोतिनो काम गरेर सन्तानका लागि सहकारीमा गरेको डेढ लाख बचत डुबेपछि पीडामा छन्। बचत फिर्ताको माग गर्दै उनी माइतीघरको धर्ना र जुलुसमा हुन्छन्। डेढ वर्षका छोरा स्वर्णिम सुनुवारलाई काखमा च्याप्दै धनबहादुर र उनकी श्रीमती मेनुका सुनुवार न्याय माग्दै आन्दोलनमा छन्। उनी भन्छन्, ‘हाम्रो माग सुन्न सरकारलाई कहाँ फुर्सद छ ? सरकार त हुने खानेहरूका लागि नै भयो। हिजो जस्तो थियो त्यस्तै भएपछि जनताले बनाएको सरकारको के अर्थ ?’

वृद्ध अवस्थामा औषधि उपचार गर्न सहज हुन्छ भनेर सहकारीमा बचत गरेको थिए। सहकारी नै डुब्यो। ऋषिराम अधिकारी, महाराजगन्ज

दुनियाँको जुठो भाडा माझे, दु:ख गरें। गाउँको खेतबारी बेचेर सहकारीमै रकम जम्मा गरेँ। तर, हाम्रो सबै पैसा खाएर सहकारीवाला भागे। हामीलाई बर्बाद बनाए। पदमबहादुर खाती, दोलखा

अहिले त्यो पैसा हातबाट फुत्किएको जस्तो भयो। अब फिर्ता आउँछ कि आउँदैन के ठेगान ? हामीले थोपाथोपा जम्मा गरेको सबै रकम लिएर सहकारीवाला भागे। खोज्न कहाँ जाउ ? राधा महर्जन, रामकोट

पैसा माग्न जाँदा सहकारीका कर्मचारीले छैन भन्छन्, हामीले खल्तीबाट दिन मिल्दैन भन्ने जवाफ दिन्छन्। कहिलेकाहीँ त खल्तीबाटै दिन्छु है, आमा भन्छन्। तर, भोलि, पर्सि भन्दै टार्छन्। जति गर्दा पनि पैसा पाएको छैन। शान्ति मानन्धर, शान्तिनगर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.