रंगेली नगर प्रहरीमाथि आक्रमण गर्ने ६ जना विद्यार्थी पक्राउ, रिहाइको माग गर्दै राजमार्ग अवरुद्ध
विराटनगर : मोरङको रंगेली नगरपालिकाका कार्यवाहक मेयर, प्रमुख प्रशासकीय अधिकृत एवं नगर प्रहरीमाथि दुर्व्यवहार र आक्रमण गर्ने समूहको समर्थनमा विराटनगरमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले कोशी राजमार्गअन्तर्गत विराटनगरको रोडशेष चोकमा यातायात अवरुद्ध पारेर शुक्रबार दिउँसो २:३० बजेदेखि प्रदर्शन सुरु गरेका हुन्। विद्यार्थीको अवरोध र प्रदर्शनका कारण सवारीसाधन आवागमन ठप्प भएको छ। सडकमा सयौं सवारीसाधन लाम लागेका छन्।
विद्यार्थीहरूले दुईतर्फी यातायात बन्द गर्दै सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन्। उनीहरूले मोरङको रंगेलीमा पक्राउ परेका विद्यार्थीलाई तत्काल छाड्नुपर्ने माग गर्दै नाराबाजी र प्रदर्शन गरिरहेका छन्। प्रदर्शनको नेतृत्व महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन)का कार्यबाहक सभापति एवं नेपाल विद्यार्थी संघ (नेविसंघ)का सभापति प्रशान्त यादवले गरेका छन्।
विद्यार्थीको हकहितका लागि आवाज उठाउने र शैक्षिक क्षेत्र सुधारको माग राख्ने विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेर थुनेका कारण विरोध प्रदर्शन गरिएको यादवले बताए। रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली-८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि बिहीबार एउटा समूहले दुर्व्यवहार एवं हातपात गरेको थियो।
त्यही समूहको आक्रमणमा परेर ४ जना नगरप्रहरी सामान्य घाइते भएका छन्। नगर प्रहरीहरू सुनिता पौडेल, प्रमोद पासवान, पदमबहादुर थापा र ज्योति घिमिरे घाइते भएका हुन्। प्रहरीका अनुसार आक्रमणको नेतृत्व विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सदस्य एवं नेविसंघका सदस्य दीपक यादवले गरेका थिए।
दुर्व्यवहार र आक्रमणमा संलग्न यादवसहित ६ जनालाई प्रहरीले पक्राउ गरेर अभद्र व्यवहार मुद्दा चलाउन प्रक्रिया अघि बढाएको छ। रंगेली-६ का २३ वर्षीय यादवसहित २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली-७ का १८ वर्षीय रमणकुमार राय, रंगेली-८ का १९ वर्षीय विषेक झा र रंगेली-२ का मिलन मिश्र पक्राउ परेका हुन्।
उनीहरूलाई तत्काल छाड्नुपर्ने र मुद्दा चलाउन नपाइने माग राख्दै क्याम्पसका विद्यार्थी सडकमा ओर्लिएर सवारी आवागमन ठप्प पारेका हुन्। प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईविरुद्ध पनि नाराबाजी गरेका थिए। प्रदर्शनस्थलमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी बुद्ध श्रेष्ठको नेतृत्वमा परिचालित टोलीले आन्दोलनमा उत्रिएका विद्यार्थीलाई सम्झाइबुझाइ गरेर अवस्था साम्य पार्ने प्रयास गरिरहेको छ।
पक्राउको विरोधमा रंगेलीमा पनि विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। निजी विद्यालयहरूले आफूखुसी कानुनविपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भनी आफूलाई विद्यार्थी बताउने समूहले नगरपालिकाको कार्यालय र नगरपालिकाको शिक्षा शाखामा यही जेठ १३ गते ज्ञापन पत्र बुझाएको थियो। तर, चित्तबुझ्दो जवाफ नआएको भन्दै रंगेली-७ स्थित नगरपालिकाको कार्यालयमा प्रवेश गरेर कार्यवाहक मेयर, प्रमुख प्रशासकीय अधिकृत एवं नगर प्रहरीमाथि दुर्व्यवहार र आक्रमण गरिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार घटनासँग सम्बन्धित सीसी क्यामेरा फुटेज पनि छ।