बेनी–जोमसोम सडक, बर्खायाममा सधैंको सास्ती

बेनी–जोमसोम सडक, बर्खायाममा सधैंको सास्ती

जोमसोम : मनसुन सुरु भएसँगै राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक बिग्रिने र भत्किने क्रम सुरु भएको छ। हिउँदयाममा ठीकठाक हुने निर्माणाधीन बेनी—जोमसोम सडक बर्सेनि बर्खायाम लागेसँगै भत्किने र बिग्रिने गर्छ।

राष्ट्रिय गौरवको कोरलानाका जोड्ने बेनी—जोमसोम ७४ किमि सडक म्याग्दीको कमजोर भूगोलका कारण विभिन्न समस्याहरू उत्पन्न हुने गरेको छ। नेपाली सेनाले म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा चट्टान काटेर ट्र्याक खुलाएकोमा राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले २०७३÷०७४ सालदेखि सडक स्तरोन्नति गर्दै आएको छ। बेनी—जोमसोम सडकका लागि चार वटा प्याकेजमा कालोपत्रसहितको सडक विस्तार गर्न आयोजनाले ठेक्का लगाएको थियो। हालसम्म बेनी—जोमसोम ७४ किमि सडकमध्ये ५० किलोमिटर दूूरीमा कालोपत्र भइसकेको आयोजनाले जनाएको छ। बेनी—जोमसोम सडकमा २४ किमि दूरीमा कालोपत्र गर्न बाँकी छ। 

बेनी—जोमसोम सडकखण्डको तेस्रो प्याकेज कैकुदेखि खन्तीसम्मको १९ किमि कालोपत्र सडक शर्मा गजुरमुखी जेभी कन्स्ट्रक्सनले आयोजनालाई हस्तान्तरण गरिसकेको छ भने बाँकी ३ खण्ड निर्माणाधीन अवस्थामै छन्।

आयोजनाअन्तर्गत बेनी—जोमसोम ७४ किमि सडक स्तरोन्नति भइरहँदा बर्खायाममा म्याग्दी खण्डको दर्जनौं स्थानमा बाढी, पहिरो, नदी कटानले सडक संरचनामा क्षति पुर्‍याउने गरेको छ। बर्खायाममा मुस्ताङ यात्रा गर्ने पर्यटक तथा सर्वसाधारणले बेनी—जोमसोम सडकमा सधैं सास्ती भोग्नुपर्ने बाध्यता छ। म्याग्दीको कमजोर भू—बनोटका कारण म्याग्दीको काभ्रेभिरदेखि बेगखोलासम्मको सडकमा बाढी, पहिरो र नदी कटानले दुःख दिइरहने गर्छ। त्यसो त मुस्ताङ र म्याग्दीको सिमाना यता घाँसा पुछारदेखि मुस्ताङको मार्फासम्म बाढी, पहिरो र नदी कटानले सडक संरचनामा क्षति पुर्‍याउने गरेको छ। 

मनसुनसँगै म्याग्दी खण्डमा परेको अविरल वर्षाका कारण म्याग्दीको गुइँठेमा निरन्तर पहिरो खस्न सुरु गरिसकेको छ। गत साता म्याग्दीको गुइँठेमा सुक्खा पहिरो जाँदा मुक्तिनाथ दर्शन गरी फर्किएका भारतीय पर्यटक सवार रातो रंगको कार क्षति भयो। भाग्यवश कारमा सवार चार जना भारतीय पर्यटकको पहिरोको जोखिमबाट ज्यान जोगियो। उनीहरूलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो। सुक्खा पहिरोले सडकमा फसेको कारलाई आयोजनाको उपकरण झिकाएर बाहिर निकालिएको थियो।

गत हप्ता नै म्याग्दी र मुस्ताङको सिमानामा पर्ने थाप्लाङ खोलामा बाढी आउँदा बेनी—जोमसोम सडक ४ घण्टासम्म अवरुद्ध हुन पुगेको थियो। म्याग्दीको अन्नपूर्ण—३ रूपसे झरनामा भयानक अकल्पनीय बेजोड बाढी आउँदा बेनी—जोमसोम सडकको रूपसे बेलिब्रिजसमेत जोखिममा पर्ने खतरा बढ्यो। रूपसेको भयानक बाढीले मुस्ताङ आउजाउ गर्दै गरेका सवारी चालकसमेत त्रसित बने। यसै साता म्याग्दीको तिप्ल्याङ नजिकको सानो खोला पनि बढेर सडक संरचनामा क्षति पुग्यो। त्यहाँ पनि आयोजनाको पहलमा ३ घण्टापछि डोजरले सडक सफा गरेर बाटो खुलाइएको थियो।

काभ्रेभिरमा पनि आरसीसी सडक विस्तार गरिएको भए पनि अझै त्यहाँ सडक भाँसिन र भत्किने जोखिम ज्यूँका त्यूँनै छ। यसैगरी मुस्ताङको थासाङस्थित कैकु खोला, लेते खोला र घरपझोङको मार्फा खोलामा बेमौसमे बाढी आउँदा सडक संरचनामा क्षति पुग्ने गरेको छ। बेनी—जोमसोम निर्माणाधीन सडकमा बर्खायामको बाढी, पहिरो र नदी कटानले सडकमा क्षति हुँदा सम्बन्धित ठाउँमा काम गरिरहेका निर्माण कम्पनीका उपकरणले सडक सुचारु गर्ने काम गर्दै आइरहेका छन्। 

बेनी—जोमसोम सडकका सडक सुपरभाइजर इन्द्रसिंह शेरचनले बर्खायाममा बर्सेनि बेनी—जोमसोम सडकमा बाढी, पहिरो र नदी कटानले दुःख दिइरहने गरेको बताए। उनका अनुसार बर्खायामको मौसममा बेनी—जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा—२ बैसरी कुनौउटो, रघुगंगा—१ तिप्ल्याङ गाउँ आसपास, तातोपानी भिर, जलथले, गुइँठे भिर, खाम भित्ता, लाटो खोला, रूपसे, काभ्रेभिर, थाप्लाङ खोला, मुस्ताङको कैकु, लेते खोला  र मार्फा खोलामा बाढी, पहिरो र नदी कटानको निकै ठूलो समस्या छ।

उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत निर्माणाधीन सडक निर्माणको काम भइरहेको भए पनि बर्सेनि बर्खायाममा बाढी, पहिरो र नदी कटानले सडक निर्माणले अपेक्षाकृत गति लिन नसकेको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले उल्लेख गरे। बेनी—जोमसोम सडकको लागि दीर्घकालीन सडक स्तरोन्नतिको मोडालिटी तयार भएमात्रै बाह्रैमहिना मुस्ताङको यात्रा सुरक्षित हुने जनाइएको छ। राष्ट्रिय गौरवको कोरला सडकको  ८२ प्रतिशत भौतिक प्रगति भइसकेको छ। आयोजनाले सडक तथा पुलपुलेसातर्फ  ६ वर्षको अवधिमा ७ अर्ब ५ करोड बजेट खर्च गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.