साउदीमा नेपाली फुटबल टोलीलाई स्वागत
साउदी : फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेल खेल्नका लागि साउदी पुगेका नेपाली फुटबल टोलीलाई स्वागत तथा सम्मान गरिएको छ। ७ जुन २०२४ का दिन साउदीको दमाम शहरमा नेपाली दुताबास तथा एनआरएन साउदीको संयुक्त आयोजनामा नेपाली पुरुष फुटवल टोलीलाई सम्मान गरिएको हो।
कार्यक्रममा नेपाली राजदुत नवराज सुवेदीले टोलीलाई स्वागत सम्मान गर्दै फिफा विश्वकप २०२६ छनोट खेल अन्तर्गत युएईसँग भएको खेलमा प्रतिकुल मौसम र परिस्थिति बीच पनि आफ्नो सिप र कार्यक्षमता प्रदर्शन गरेकोमा धन्यवाद दिए। उनले हरेक अन्तर्राष्ट्रिय खेलको अनुभवले खेलाडीलाई आफ्नो प्रदर्शनमा सुधार हुने बताउँदै जीततर्फ ध्यान दिन आग्रह गरे। आउँदो ११ जुनको यमनसँग हुने खेलमा जीतको शुभकामनासमेत दिए। खेलाडी राष्ट्रका गहना भएकाले हरेक अन्तर्राष्ट्रिय खेलले देशलाई चिनाउनुको साथै खेल प्रदर्शन राम्रो हुने उनको भनाइ थियो।
कार्यक्रममा नेपाली खेलाडी टोलीलाई साउदीमा रहेको एनआरएन तथा विभिन्न संस्थाहरूले स्वागत, सम्मानसहित मायाको चिनो प्रदान गरेका थिए। फुटबल टोलीका मेनेजर उतमराज भण्डारी लगायत फुटबल टोलीले समेत नेपाली दुताबास लगाएतका संस्थाहरूलाई धन्यबाद दिँदै मायाको चिनो स्वरुप एन्फाको लोगो प्रदान गरेका थिए। ११ जुनमा यमनसँग हुने खेल हेर्नको लागि साउदीमा रहेका सम्पूर्ण नेपालीहरुलाई उपस्थित भइ हौशला प्रदान गर्न आग्रहसमेत गरेका थिए।