कोशी प्रदेश विकास परिषद्मा १५ जना मनोनित

कोशी प्रदेश विकास परिषद्मा १५ जना मनोनित
तस्बिर : अन्नपूर्ण

विराटनगर : कोशी प्रदेश सरकारले विभिन्न क्षेत्रका १५ जनालाई प्रदेश विकास परिषद्को सदस्यमा मनोनित गरेको छ । परिषद्को सदस्यमा उद्योगी,व्यवसायी एवं पेशाकर्मीहरूलाई मनोनित गरिएको हो । प्रदेश सरकारको यही जेठ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले परिषद् सदस्य मनोनित गर्ने निर्णय लिएको थियो । 

सरकारले प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ को उपदफा २ (छ) बमोजिम प्रदेश विकास परिषद्का सदस्य मनोनित गरेको हो ।

मनोनित हुनेमा झापाका जीतबहादुर कार्की, राधिका ओझा, भवानीप्रसाद दंगाल, विराटनगरका प्रतिभा रिजाल, टीकाराम पुरी, राधा अधिकारी, संखुवासभाकी बबिता कटुवाल, उदयपुर त्रियुगाका रमेशचन्द्र रोका, मोरङ बूढीगंगाकी रीता न्यौपाने, सुनसरीका भीमप्रसाद घिमिरे र सर्लाहीका एकचन्द्र बराल रहेका छन् । त्यस्तै, उद्योगीहरु महेश जाजू, नवीन रिजाल, प्रकाश मुन्दडा र सुयश प्याकुरेललाई पनि मनोनित गरिएको छ । 

प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ मा परिषद् गठनसम्बन्धी व्यवस्था छ । उक्त दफा अनुसार अध्यक्ष मुख्यमन्त्री हुने परिषद्को सदस्यमा प्रदेश सरकारका मन्त्रीहरु र मन्त्रीको कार्यभार सम्हाल्ने राज्य मन्त्रीहरु, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेशसभाका समितिका सभापतिहरु, आयोगका उपाध्यक्ष तथा सदस्यहरु, प्रमुख सचिव, प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता, सचिवहरु, जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुखहरू रहने व्यवस्था छ ।
 
त्यस्तै,उक्त दफाको उपदफा (छ) मा कानुन बमोजिम स्थापना भएका संघ वा संस्थाका प्रतिनिधि तथा निजी क्षेत्रलगायत विभिन्न क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी राष्ट्रिय जीवनमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरु मध्येबाट कम्तीमा एक तिहाइ  महिलासहित प्रदेश सरकारबाट मनोनित १५ जनासमेत सदस्य हुने व्यवस्था छ ।

प्रदेश योजना आयोगको सचिव उक्त परिषदको सदस्यसचिव हुन्छन् ।  परिषद्को  बैठक यही जेठ  २९ गते बस्ने तयारी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.