स्याङ्जालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा
स्याङ्जा : स्याङ्जालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ। बालबालिकालाई १३ वटा रोग बिरुद्धका ७ वटा खोपका मात्रा पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको हो।
गण्डकी प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. बिनोद बिन्दु शर्माले स्याङ्जाका १४ हजार ८८ बालबालिकाले पूर्णखोप पाएसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्।
योसँगै स्याङ्जा प्रदेशको दोस्रो पूर्णखोप सुनिश्चितता जिल्ला बनेको छ। विगतका तुलनामा स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको जनाउँदै आउँदा दिनहरुमा पनि थप सेवा सुविधा क्रमशः बढाइँदै लगिने उनको भनाइ छ।
जन्मेदेखि १५ महिनाका ३ हजार ४५७ जना र १६ देखि ५९ महिनाका १० हजार ६३१ जना बालबालिकाले पूर्ण खोप लगाइएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिए। उनका अनुसार जन्मेदेखि महिनाका ५ जना र १६ देखि ५९ महिनाका १६ जनालाई खोप लगाउन छुटेको छ। छुटेका बालबालिकालाई पनि खोप दिइने बताए।