दुर्गम बस्तीको तिर्खा मेटाउँदै प्रदेश सरकार

दुर्गम बस्तीको तिर्खा मेटाउँदै प्रदेश सरकार

धनकुटा : गाउँ होस् या शहर। धनकुटाका प्रायः सबैजसो स्थानमा खानेपानीको चरम समस्या छ। खानेपानी समस्याकै कारण पछिल्लो समय बसाइसराइ गर्ने क्रम बढ्दो छ। गाउँहरु रित्तिन थालेका छन्। जलवायु परिवर्तनको कारण बढ्दो तापक्रम एवं सडक बनाउन स्काइभेटर तथा डोजरको प्रयोगले खानेपानीका मुहानहरु सुक्दै गएका छन्। यिनै कारणले पछिल्लो समय खानेपानीका ९० प्रतिशत मुहान सुकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटाका प्रमुख राजकुमार मण्डलले बताए। 

कतिपय खानेपानी योजना मुहान सुकेको कारण अलपत्र छन्। पछिल्लो समयमा भने खानेपानी समस्यालाई समाधान गर्न लिफ्टिङ प्रविधिको प्रयोग थालिएको छ। विद्युतीय पम्पमार्फत् खोलाको पानी तानेर माथि रहेको बस्तीसम्म पुर्‍याउनका लागि लिफ्टिङ प्रविधिबाट खानेपानी योजना प्रदेश सरकारले अगाडि बढाएको छ।
प्रदेश सरकार मातहतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटाले जिल्लाका विभिन्न स्थानमा लिफ्टिङ खानेपानी योजनाका लागि करोडौं रुपैया लगानी गरेको छ। अहिले धनकुटाका विभिन्न स्थानमा दर्जनभन्दा धेरै लिफ्टिङ खानेपानीका योजना सञ्चालनमा छन्। कतिपय योजना सम्पन्न भइसकेका छन् भने कतिपय सम्पन्न हुने संघारमा छन्। 

काकाकुल गाउँमा ७ वर्षपछि खानेपानी 

साँगुरीगढी गाउँपालिका वडा नं. ७ महाभारतमा कुनैबेला खानेपानीको चरम समस्या थियो। स्थानीय विहान हुनेवित्तिकै खानेपानी ल्याउनको लागि घण्टौंसम्म पैदल हिँडेर मुहानसम्म पुग्थे। पछिल्लो समय खडेरीको कारण नजिकका कुवा, पधेरो सुक्दै गए। जसकारण पानी ल्याउन डेढदेखि दुई घण्टासम्म माखावा खोलासम्म पुग्नु पथ्र्याे। माखावा खोला पुग्न जाँदा ओरालो र फर्किदा उकालो हिँड्नु पर्थ्यो। 

खानेपानीको समस्या बढ्दै गएपछि लिफ्टिङ खानेपानी योजना सञ्चालन भयो। क्रमागत योजना तथा बजेट अभावकै कारण उक्त खानेपानी योजना सम्पन्न गर्नका लागि झण्डै ७ वर्ष कुर्नुपर्‍यो। अहिले साँगुरीगढी ७ माखावा लिफ्टिङ खानेपानी योजनाको सफल परीक्षण गरिएको छ। लिफ्टिङ प्रविधि सफल भएसँगै वर्षौदेखि भोग्दै आइरहेको खानेपानी समस्या सामाधन हुनेमा स्थानीय वासिन्दा ढुक्क देखिन्छन्। माखावा खोलादेखि १ हजार ३८९ मिटरको उचाईमा रहेको पोखरीडाँडामा लिफिटङ प्रविधिबाट पानी झारिएको छ।

माखावा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव ओमप्रकाश राईका अनुसार खोलाबाट संकलन गरिएको पानीलाई दुई स्थानवाट लिफ्ट गरिएको छ। खोलादेखि ६३९ मिटर उचाईमा रहेको एप्मालामा रहेको करिव ५० हजार लिटर क्षमताको ट्याङ्कीमा झारिएको पानी संकलन गरेर पुनः त्यहाँदेखि ५५० मिटर उचाईमा रहेको पोखरीडाँडाको करिव ५० हजार लिटर ट्याङ्कीमा लगिएको छ। सो खानेपानी योजना २०७२ सालबाट निर्माण सुरु भएको थियो। 

तर, बजेट अभाबमा सुस्त रहेको आयोजना खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटामातहत आएपछि प्रदेश सरकारको ६ करोड ९ लाख २५ हजार रुपैयाँ लगानी भएको छ। योजनाबाट साविक महाभारत गाउँ विकास समितिका वडा नं. १, २, ३ र ४ वडाका २५० भन्दा बढी घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष धर्मध्वज राईले बताए। 

खानेपानी योजनाबाट गोलखाडी, होङ्गकुटोल, लेक सिरान, खोङ्गजाली, खाक्चीराङ्ग, डढुवा, छिनामचोक, वैंका, गैरीटोल, खोलिम्फू, आसकोट गरी ११ वटा टोल समेटिनेछन्। खानेपानी अभावकै कारण बसाई सर्नुपर्ने स्थिति सम्म आएको थियो। अब त्यो समस्या हट्ने स्थानीयले बताएका छन्।

पोखरीडाँडामा संकलन गरिएको पानीलाई ६ स्थानमा ट्याङकी निर्माण गरि वितरण गरिनेछ। उपभोक्ताको घरसम्म पाइप विछ्याउने काम अगाडि बढिसकेको उपभोक्ता समितिले जनाएको छ। योजनालाई चाँडो निर्माण सम्पन्न गराउन गाउँपालिकाले खानेपानीको मुहानसम्म करिव डेढ किलोमिटर सडक सरफाई तथा ट्रयाक खोल्ने काम गरिदिएको थियो।  साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले निर्माण सुरु भएको लामो समय वित्दा पनि खानेपानी योजना सम्पन्न नहुँदा यहाँका स्थानीय वासिन्दा निराश भएकोमा अब आशा पलाएको बताए।

गाउँपालिकाको स्काइभेटरको सहयोगमा गोलखाडीदेखि खानेपानीको मुहानसम्म करिव डेढ किलोमिटर सडक सरफाई तथा ट्रयाक खोल्ने काम गरिएको थियो। उनका अनुसार गाउँपालिकाकै सवारी साधनवाट ट्रान्समिटर र पाइप ल्याइएको थियो। ‘सफल लिफ्टिङ परिक्षणले स्थानीय खुसी मात्रै छैनन् वर्षौदेखिको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान हुनेमा ढुक्क देखिएका छन्’ अध्यक्ष रुम्दालीले भने।

null

घण्टौं हिड्नुपर्ने बाध्यता हट्यो  

धनकुटाको चौविसे गाउँपालिका ५ वोधेकी जयकुमारी खतिवडा पानी ल्याउन हरेक दिन १ घण्टा पैदल बाटो हिँड्थिन्। घरदेखि मुहानसम्मको दुरी १ घण्टाको थियो। जयकुमारी मात्रै होइन, उनका छिमेकीहरु पनि पानी ल्याउन लामो दुरीको पैदलयात्रा गर्न बाध्य थिए। नजिक रहेका खानेपानीका मुहान सुकेपछि बोधेमा पानीको अत्यन्तै दुःख थियो। पैदल हिडेर पानी ल्याउनुको विकल्प थिएन। 

‘विहान सबैरै उठेर पानी ल्याउनु दैनिकी जस्तै बनेको थियो’ जयकुमारी भन्छिन् ‘तर, अहिले समयसँगै दुःखका दिन हटेको छ।’ उनको दुःखको दि प्रदेश सरकारको सहयोगले हटेको हो। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटामार्फत् प्रदेश सरकारको लगानीमा बोधेमा लिफ्टिङ खानेपानी योजना निर्माण सम्पन्न भई अहिले सञ्चालनमा आएपछि उनको दुःख हट्यो।

योजना सम्पन्न भएपछि स्थानीयले वर्षौदेखि झेल्दै आएको खानेपानी अभावको समस्याबाट छुटकारा पाएका छन्। सधै पानीको अभाव हुने र पानी बोक्न घण्टौं समय लगाउने मानिसहरु अहिले आफ्नै घरमा पानीको धारा आएपछि खुशीले दंग छन्। 

बोधे खानेपानी योजना ५ करोड ९ लाख २८ हजार ७२९ रुपैयाँको लागतमा सम्पन्न भएको हो। कुल लागतमध्ये प्रदेश सरकारको ४ करोड ४२ लाख ३३ हजार रुपैयाँ र उपभोक्ताको साझेदारी ६६ लाख ९५ हजार ७ सय २९ रुपैयाँ छ।

आयोजनाबाट ४४६ घरधुरीका २ हजार ५२६ जना लाभान्वित भएका छन्। खानेपानी योजना सञ्चालन हुनभन्दा अगाडि बोधेमा खानेपानीको धेरै समस्या थियो। नजिकको खोलाबाट प्रतिलिटर २ रुपैयाँ दरमा ट्रयाक्टरबाट पानी ल्याएर उपभोग गर्न स्थानीय बाध्य थिए। अहिले गाउँमा खानेपानी ल्याएपछि स्थानीयवासीको जीवनयापन निकै सहज भएको बोधे खानेपानी योजनाका अध्यक्ष आधुनिक देवानले बताए। 

पानी किन्नुपर्ने बाध्यताबाट छुट्कारा 

पर्यटकीय स्थल भेडेटारमा खानेपानीको चरम समस्या थियो। यहाँ सयभन्दा बढी होटलहरु सञ्चालनमा छन्। खानेपानीको समस्याले होटल व्यवसायीहरु ट्याङ्करको पानी प्रतिलिटर ३ रुपैयाँको दरले खरिद गरेर उपभोग गर्थे। स्थानीय सिंसुवा खोलाबाट लिफ्टिङ प्रविधिद्वारा पानी ल्याएर विभिन्न टोलका १५३ लाभान्वित घरधुरीलाई एक घर एक धारा उपलव्ध गराएपछि भेडेटाराबासीलाई पनि राहत भएको छ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटाको ८० प्रतिशत र २० प्रतिशत जनश्रमदान गरी लगभग ३ करोड ६९ लाख ६६ हजार ५०४ रुपैयाँको लागतमा आयोजना सम्पन्न भएको हो। कुल रकममध्ये ३ करोड २५ लाख ३० हजार ५२४ रुपैयाँ प्रदेश सरकारको र उपभोक्ताको ४४ लाख ३५ हजार ९ सय ८० रुपैयाँ साझेदारी रहेको भेडटार खानेपानी योजनाका अध्यक्ष आशिष राईले बताए। 

विद्युत आपुर्ति नियमित हुने हो भने चौविसै घण्टा उपभोक्तालाई पानी उपलव्ध गराउन अब कुनै समस्या नहुने समितिका कर्मचारी शेरबहादुर कार्कीले बताए। भेडेटार खानेपानी योजनामा विभिन्न क्षमताका ८ वटा ट्याङकी निर्माण गरिएको छ। करिब ५ घण्टामा एक लाख लिटर पानी ट्यांकीमा संकलन गर्ने क्षमता रहेको छ।

धनकुटाको चौविसे गाउँपालिका वडा नम्बर ७ मा पर्ने मौनाबुधुक खानेपानी योजना खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटाको ८० प्रतिशत र २० प्रतिशत जनश्रमदान गरी कुल ५ करोड ५५ लाख २६ हजार ६ सय ५३ रुपैयाँको लागतमा सम्पन्न भएको छ। 

जसमा सरकारको ४ करोड ३७ लाख २ हजार र उपभोक्ताको १ करोड १८ लाख २४ हजार ६५३ रुपैयाँ लागत साझेदारी रहेको छ। पहिले स्थानीय पानीका मुहानबाट खानेपानी पुग्थ्यो। पछिल्लो समय जनसंख्या बृद्धि भएपछि नजिकका पानीका स्रोतले मानिसलाई खानेपानी नपुग्ने भयो। जसले गर्दा करिब डेढ किलोमिटर तलबाट पानी बोक्न मौनाबुधुकबासी बाध्य थिए। 

लिफ्टिङ प्रविधिमार्फत आरुबोटे खोलाबाट खानेपानी ल्याएपछि अहिले स्थानीयवासीको दैनिकी फेरिएको छ। घरमै धारामा पानी आएपछि उकालो बाटो पानी बोक्नुपर्ने बाध्यता हटेको मौनावुधुक खानेपानी योजनाका अध्यक्ष डिल्ली लिम्बूले बताए। 

पहाडमा लिफ्टिङको सफलता

केहि वर्ष अघिसम्म खानेपानीका मूलहरु धेरै थिए। अहिले ती मूलहरु सुक्दै गएका छन्। पहाडी क्षेत्रका हरेक घरसम्म बाटो पुगेका छन्। घरसम्म बाटो पुर्‍याउने क्रममा डोजर प्रयोग हुँदा धेरै मुहान सुके। जसको कारण खानेपानी समस्या बढ्दै गइरहेको छ। 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटाका प्रमुख राजकुमार मण्डलका अनुसार अहिले खानेपानीका ९० प्रतिशत पुराना मूल मासिएका छन्। उनका अनुसार खोलामा बग्ने पानी नै खानेपानीको लागि प्रयोग गर्नुपर्ने वाध्यता हुन थालेको छ। खोला गाउँ वस्तीभन्दा तल गहिरोबाट बग्ने गरेकोले  खोलाको पानी बस्तीसम्म ल्याउनका लागि लिफ्टिङ नै प्रभावकारी माध्यम हो। पहाडमा खानेपानी समस्या समाधानका लागि लिफ्ङिबाहेक अर्को विकल्प नभएको मण्डलको भनाई छ। 

सहज छैन योजना सञ्चालनमा 

लिफ्टिङ प्रविधिले खानेपानी ल्याउन सहज भएपनि सञ्चालनमा भने धेरै चुनौती हुने गरेका उपभोक्ता समितिहरुको भनाई छ। यो एक प्रकारको महंगो प्रविधि हो। तर, खोलाको पानी वस्तीसम्म ल्याउन अर्को विकल्पसमेत नभएको भेडेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष आशिष राई बताउँछन्। उनका अनुसार योजना कार्यान्वयन गर्न समस्या हुने गरेको छ। 

लिफ्टिङ विद्युतबाट चल्ने योजना भएकोले पम्पबाट पानी फाल्ने प्रविधि महंगो हुन्छ। नियमित रुपमा विद्युत प्रभाव नहुँदा र भोल्टेजको अपडाउनले पम्प विग्रिने जोखिम हुन्छ। विद्युत नभएको बेला पानी तान्न सकिँदैन। मर्मत सम्भारमा महंगो लागत पर्न जाने उपभोक्ता समितिहरुको भनाई छ। अर्कोतिर पम्प मर्मत सम्भारका लागि दक्ष जनशक्ति सहज रुपमा पाउन सकिदैन। 

साँगुरीगढी गाउँपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालन भएका खानेपानी योजनाका प्राविधिकहरुलाई निःशुल्क प्लम्वर तालिम दिएको छ। विशेषगरी योजना सञ्चालनमा समस्या हुँदा स्थानीय स्तरवाटै समाधान होस् भन्ने उद्देश्यले तालिमको कार्यक्रम राखिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए। 

खानेपानीको दिगो व्यवस्थापनका लागि जलाधार तथा सिमसार क्षेत्रको संरक्षण गर्ने, वृक्षारोपण गर्ने तथा वन विनास रोक्ने, पानीको मुहान वरपर अव्यवस्थित मानव वस्ती बस्न नदिने जस्ता कुरामा ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन्। यसका लागि उपभोक्ता पनि सचेत र जिम्मेवार हुन जरुरी रहेको उनीहरुको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.