विद्यालयमा पर्याप्त छैन खेल मैदान

विद्यालयमा पर्याप्त छैन खेल मैदान

काठमाडौं : पछिल्लो समय मोबाइल डिभाइसको पहुँच भएका अधिकांश बालबालिकाहरू शारीरिक क्रियाकलापबाट हुने खेल खेल्ने प्रवृत्ति पातलिँदै गएको छ। अर्कोतर्फ नेपालमा बालबालिकालाई खेल्ने पर्याप्तता र उपयुक्त वातावरण छैन। जसले उनीहरू खेल्न पाउने अधिकारबाट वञ्चित भएको विभिन्न अध्ययनहरूले देखाएको छ। 

यसबीच बालबालिकाको विकास र निरोगितामा खेलको महत्त्वलाई थप जोड दिन यस वर्षदेखि जुन ११ पहिलो पटक अन्तर्राष्ट्रिय खेल दिवस मनाउन लागिएको छ। हरेक बालबालिकाको खेल्न पाउने अधिकार सुनिश्चित गर्न यस दिवसमा युनिसेफले सरकार, हेरचाहकर्ता, शिक्षक र समुदायहरूलाई एकजुट भएर आफ्ना प्रयासहरू र लगानी बढाउन अह्वान गरेको छ। 

घरमा होस वा विद्यालयमा बालबालिकाहरूलाई नाच, गान, कथा सुनाउने, विभिन्न खेल खेलाउने लगायतका दैनिक गतिविधिमा जोड दिन अनुरोध गरिएको छ। 

शैक्षिक गुणस्तर परीक्षण केन्द्रकाअनुसार नेपालमा १९ प्रतिशत सामुदायिक विद्यालयमा र ६ प्रतिशत निजी विद्यालयमा मात्रै बालबालिकालाई खेल्ने पर्याप्त खेल मैदान छन्। बाँकी खेल मैदानको अभावमा बालबालिकाहरू बञ्चित हुनु परेको छ। युनिसेफ नेपालका प्रारम्भिक बालविकास विशेषज्ञ डा. दिपु शाक्यका अनुसार अमेरिकामा भएको एक अध्ययनमा ६० प्रतिशत बालबालिकाले मात्रै घरबाहिर खेल्छन्। 

नेपालमा पनि घरबाहिर खेल्नेको संख्या घट्दो छ। अझ शहरी क्षेत्रमा खेल मैदानको अभाव छ। यद्यपि सरकारले बेलाबेलामा स्थानीय तह वा एक वडा एक खेल उद्यान भनेर नीति ल्याउँछ तर कार्यान्वयन भने गरेको पाइँदैन। डा.शाक्य भन्छन्, ‘अधिकांश क्षेत्रमा बालबालिकालाई खेल्ने मैदान, चौर, उद्यान छैन। अभिभावकहरू पनि आफ्नो सजिलोका लागि मोबाइल दिन्छन्। तर यसको उचित प्रयोग कत्तिको भएको छ भन्ने प्रश्न उठ्छ। बालबालिकाको वृद्धि विकासका लागि मोबाइलको लतबाट छुटाएर विभिन्न खेलमा जोड्न आवश्यक छ।’ 

अन्तर्राष्ट्रिय खेल दिवसले पनि यसैलाई जोड दिएको उनको भनाइ छ। अर्कोतर्फ घरपरिवारमा पनि अभिभावकले बालबालिकासँग खेल्ने, समय बिताउने समयको पनि कमी भएको अध्ययनहरूले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले गरेको अध्ययन प्रतिवेदनअनुसार २४ महिनादेखि ५९ महिनासम्मका बालबालिकासँग उनीहरूका बुबाले कम समय व्यतीत गर्ने देखिएको छ। 

अर्थात तथ्यांकअनुसार १७.६ प्रतिशत बुबाहरू र ४२.१ प्रतिशत आमाहरूले आफ्ना बालबालिका सँग खेल्ने(बजाउने/गाउने/ कुरा गर्ने)  गर्छन्। यससँगै बालबालिकाको लागि उपयुक्त पुस्तकहरूको उपलब्धता पनि न्यून अर्थात ३ प्रतिशत मात्रै छ। यस्तै खेलौनाको उपलब्धता भने ६६ प्रतिशतसम्म छ। तर बजारमा पाइने ५४ प्रतिशत खेलौना बालबालिकाका लागि हानिकारक भएको जनस्वास्थ्य तथा  वातावरण प्रवर्द्धन केन्द्रले गरेको एक अध्ययनले निचोड निकालेको छ। यसैले, नेपाल हातेकागज महासंघसँग हातेमालो गरेर हानिकारक रहित खेलौना उत्पादनमा समेत गर्न थालिएको युनिसेफ नेपालका प्रारम्भिक बालविकास विशेषज्ञ डा. दिपु शाक्यले जानकारी दिए। 

यसकारण बालबालिकालाई खेल महत्वपूर्ण 

खेल रमाइलोका लागि मात्र होइन। यो बालबालिकाको विकासको आधारभूत कुरा पनि हो। खेलले बालबालिकाको शारीरिक, सामाजिक, संवेगात्मक तथा बौद्धिक विकासमा सहयोग गर्दछ। खेलका माध्यमबाट बालबालिकाले अरुसँग सम्बन्धहरू बनाउन, नेतृत्व सिप र प्रतिरोधी क्षमता विकास गर्न, सम्बन्धहरूको खोजी गर्न र सामाजिक चुनौतीहरू चिन्न र साथसाथै उनीहरूका डरहरूमाथि विजय पाउन सक्छन्। बालबालिकाले खेल्दा सुरक्षित महसुस गर्छन्। खेलले बालबालिकाको कल्पना र रचनात्मक अभिव्यक्ति विकास गर्न पनि मद्दत गर्दछ। यी अहिलेको विश्वमा बाँच्नका लागि महत्त्वपूर्ण सिपहरू हुन्।

जब मानवीय संकटहरूले बालबालिकाको संसारमा उलटफेर ल्याउँछन् तब खेल नै त्यस्तो कुरा हुन्छ जसमा बालबालिकाले प्रतिकूल अनुभवहरूबाट सुरक्षा र राहत दुबै प्राप्त गर्न सक्छन्। यसका साथै, खेलबाट नै उनीहरू संसार सम्बन्धी आफ्ना अनुभवहरूलाई अन्वेषण गर्न र तिनलाई बुझ्न पनि सक्षम हुन्छन्। खेलले बालबालिकालाई आनन्द दिन्छ र सान्त्वना प्रदान गर्दछ।

विद्यार्थीहरूलाई सिकाइ प्रक्रियामा सक्रिय रुपमा संलग्न गराउन खेलमा आधारित सिकाइलाई प्रभावकारी पद्धतिका रुपमा मान्यता दिइन्छ। यसले सिकाइलाई थप रमाइलो र सान्दर्भिक बनाउन मद्दत गर्दछ जसले बालबालिकालाई प्रेरित गर्दछ र उनीहरूलाई सिकेका कुरा र सूचनाहरू स्मरण गर्न बल मिल्छ। यसका साथै, खेलले सहिष्णुता र लचकताको प्रवर्द्धन साथै सामाजिक समावेशिताको सहजीकरण, द्वन्द्व रोकथाम र शान्ति निर्माणमा सकारात्मक प्रभाव पार्छ। यही कुरालाई आत्मसात गर्दै बालअधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धिले धारा ३१ अन्तर्गत खेललाई प्रत्येक बालबालिकाको मौलिक अधिकारका रुपमा स्थापित गरेको छ र नेपाल यो महासन्धिमा सबैभन्दा पहिला हस्ताक्षर गर्ने राष्ट्रहरूमध्ये एक हो।

कसरी बनाउने खेलमय अभिभावकत्व ?

खेलमय अभिभावकत्व त्यो अवस्था हो जहाँ आफ्ना बालबालिकासँग अन्तरक्रिया गर्न र उनीहरूको विकासमा योगदान दिन आमाबुबाहरू र हेरचाहकर्ताहरू रमाइलो र कल्पनाशील खेल प्रयोग गर्न सक्षम हुन्छन्। यसमा बालबालिकालाई खेल र कथा वाचन मार्फत क्रियाकलाप गराउने साथै मुख्य जीवन उपयोगी सिपहरू प्रदान गर्ने कुराहरू समेटिन्छन्। 

त्यसैगरी खेलमय अभिभावकत्वले यस्तो सुरक्षित र रमाइलो वातावरण सृजना गर्ने काम पनि पर्दछ जहाँ बालबालिकाले आफूलाई महत्त्व दिइएको र आफ्ना कुराहरू बुझिदिएको महसुस गर्दछन्। खेलमय अभिभावकत्वले बालबालिका र आमाबुबा बीचको सम्बन्ध प्रगाढ बनाउँछ। साथै बालबालिकाको आत्मसम्मान बढाउने र चुनौतीहरूको सामना गर्ने क्षमता अभिवृद्धि गर्ने काम पनि गर्दछ।

खेलमय अन्तरक्रियाले बालबालिकाको मात्र नभई आमाबुबा र हेरचाहकर्ताहरूको समेत निरोगिता र सकारात्मक मानसिक स्वास्थ्यमा योगदान पुर्याउँदछ। आफ्ना आमाबुबासँग नियमित रुपमा खेल्ने बालबालिकामा चिन्ता, अवसाद, आक्रमकता र अनिद्राको समस्या हुने सम्भावना कम हुन्छ। पालनपोषण र खेलमय अभिभावकत्वले आनन्द र खुसी ल्याउँछ अनि बालबालिकालाई सुरक्षित महसुस गर्न, सिक्न, सिप विकास गर्न र आफ्नो वरिपरीको संसार चिन्न मदत पुर्‍याउँछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.