मुलुकको अर्थतन्त्र

बाह्य क्षेत्र बलियो बन्दै,आन्तरिक सुध्रिने पर्खाइमै

बाह्य क्षेत्र बलियो बन्दै,आन्तरिक सुध्रिने पर्खाइमै
फाइल तस्बिर।

काठमाडौं : चालु आर्थिक वर्षको सुरुवातदेखि नै बाह्य क्षेत्रमा सुधार देखिँदै आएको छ। तर सोही तुलनामा आन्तरिक अर्थतन्त्र भने अझै अपेक्षाअनुसार माथि उठ्न सकेको छैन। यो स्थितिलाई नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८०/०८१ को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले पनि पुष्ट्याएको छ। 

महिनैपिच्छे रेमिट्यान्सको गति बढेको छ। रेमिट्यान्स १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। यो अमेरिकी डलरमा १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको हो। अर्कोतर्फ यस अवधिसम्म खुद प्रत्यक्ष वैदेशिक लगानी झिनो अर्थात् ६ अर्ब ९८ करोड रुपैयाँले धनात्मक रहन पुगेको छ। अझ आयातबाट बाहिरिने रकम नियन्त्रण भएको छ।  यसो हुँदा चालु खाता १ खर्ब ९३ अर्ब २५ करोड रुपैयाँले बचतमा छ। जबकि गत आवको सोही अवधिमा ६३ अर्ब ७४ करोडले घाटामा रहेको थियो। यस्तै, देशबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने मुद्रा बढ्दा शोधनान्तर स्थिति निरन्तर बचतमा छ। यस अवधिसम्म शोधनान्तर ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा छ। 

यी बचतमा भइरहँदा विदेशी विनिमय सञ्चितिको आकार पनि फराकिलो भएको छ। जसले गर्दा हाल कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भई १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। यो विदेशी विनिमय सञ्चितिले १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। 

अझ आयातको आकार गत वर्षको भन्दा घटेर पनि सञ्चिति बढ्न सहयोग पुगेको छ। कुल वस्तु आयात २.४ प्रतिशतले कमी आई १३ खर्ब ३ अर्ब ३६ करोड कायम भएको छ। जसमा पार्टपुर्जा, तयारी पोसाक, हवाईजहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, लत्ताकपडालगायतका वस्तुको आयात बढेको छ। तर कच्चा सोयाबिन तेल, सुन, हट रोल्ड सिट इन् क्वायल, कच्चा पाम तेल, धान तथा चामललगायतका वस्तुको आयात घटेको छ। यससँगै आन्तरिक उत्पादनमा परेको प्रभाव र बाह्य मुलुकमा भएको द्वन्द्वको असर नेपालको निर्यातमा देखिएको छ। यसबीच कुल वस्तु निर्यात ३.६ प्रतिशतले कमी आई १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ कायम छ। वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, ऊनी गलैंचा, चिया, ब्रान्सलगायतका वस्तुको निर्यात घटेको छ।

अर्थतन्त्रका झलकलाई विश्लेषण गर्दै अर्थविद् डा. डिल्लीराज खनाल बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिक रूपमा जनताको हातमा पैसा नहुँदा बजारमा माग कमजोर देखिएको बताउँछन्। ‘जसले गर्दा आन्तरिक उपभोग गर्ने क्षमता घट्यो। समग्रमा अर्थतन्त्रको पुनर्रुत्थान प्रक्रिया केही सकारात्मक भएर नीतिगत सुविधा दिए पनि त्यसलाई राम्रोसँग प्रयोग गर्न सकेको छैन। जुन ढंगले अर्थतन्त्र पुनरुत्थान हुनुपथ्र्यो भएको छैन।,’ अर्थविद् डा. खनालले अन्नपूर्णसँग भने, ‘लगानीको माग बढेको छैन। निर्यातमा अनुकूलता आएको छैन। उत्पादनमा सकारात्मक देखिएन। समग्र अर्थतन्त्र जुन ढंगले प्रचार गरिएको छ त्यो हिसाबले भएन।’

विदेशमा गयो साढे १ खर्ब

बाह्य क्षेत्र सुधार भइरहँदा सेवा आय भने घाटामा छ। यस अवधिसम्ममा खुद सेवा आय ५१ अर्ब ९२ करोड रुपैयाँले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६५ अर्ब ८८ करोड रुपैयाँले घाटामा रहेको थियो। सेवा खाताअन्तर्गत भ्रमण आय ३५.१ प्रतिशतले वृद्धि भई ६९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। विशेष पर्यटनबाट हुने भ्रमण आय जति भए पनि नेपालबाट घुम्न जाने, पढ्न जाने र उपचार गर्न जानेले खर्च गर्दा भ्रमण व्ययको आकार बढेको छ। यस अवधिसम्म भ्रमण व्यय ३९.५ प्रतिशतले वृद्धि भई १ खर्ब ५६ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। कुल भ्रमण व्ययमध्ये वैदेशिक अध्ययनमा (शिक्षातर्फ) मात्रै १ खर्ब ४ अर्ब २५ करोड रुपैयाँ रकम बाहिरिएको छ।

वार्षिक २३.११ प्रतिशतले बढ्यो तरकारीको मूल्य

बजारमा दैनिक उपभोग्य वस्तुको महँगी बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले आर्थिक वर्षको १० महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २३.११ प्रतिशतले बढेको छ। यसैगरी, दाल तथा गेडागुडीको १०.८५, मरमसलाको ८.९८, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ र चिनी तथा चिनीजन्य वस्तुहरूको ७.२५ प्रतिशतले बढेको छ। 

घिउ तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ७.१३ प्रतिशतले घटेको छ। यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.२६, शिक्षाको ५.६४ र कपडाजन्य तथा जुत्ताचप्पलको ३.४६ प्रतिशतले बढेको छ। तर सञ्चार उप–समूहको मूल्य सूचकांक ०.४८ प्रतिशतले घटेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.