गुर्जाको अर्गानिक आलुले पाएन बजार, गाईभैंसीलाई खुवाउँदै किसान
बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका कृषकले हिमाली चिसो हावापानीमा जैविक मलको प्रयोगबाट उत्पादन गरेको आलु कुहाएर फाल्नु पर्ने बाध्यता रहेको छ । सडक यातायात र बजार अभावमा गुर्जाका कृषकले उत्पादन गरेको आलु गाईभैंसी, भेडाबाख्राको आहरा बनाउने र कुहाएर फाल्ने गरेका हुन् । गुर्जाका कृषक तुलसी छन्त्यालले घरमा उपभोग,आफन्तलाई उपहार, गाईवस्तुलाई आहरा बनाउँदा पनि नसकिएको आलु धेरै भएर खोल्सामा फाल्ने गरेको बताइन् ।
'गुर्जाको प्रमुख कृषि उपज आलु हो,'उनले भनिन्,'ढुवानी र बजार अभावमा आलु खेतीबाट गुर्जाबासीले लाभ लिन पाएका छैनौं ।' यो वर्ष ४० मुरी आलु फलाएकी छन्त्यालले ३ मुरी आलु खोल्सामा लगेर फाल्नुपरेको दुखेसो गरिन् । चैत–वैशाख महिनामा लगाउने आलु साउन भदौमा भित्र्याउने गर्दछन् ।
एकवटा घरले वार्षिक ५० मुरीसम्म आलु फलाछ । २६५ घरधुरी रहेको गुर्जामा वार्षिक १०० मेट्रिक्टन बढी आलु उत्पादन हुने वडा सदस्य सिता छन्त्यालले बताइन् । 'खाना, खाजा र पाहुनालाई कोसेलीका लागि आलुको धेरै प्रयोग हुने गर्छ,'उनले भनिन्,'अर्गानिक तरिकाले उत्पादन गरेको आलु कुहाएर फाल्नुपर्दा मन खिन्न हुन्छ ।'
यस वर्ष १० मेट्रिक्टन आलु खेर गएको वडा सदस्य छन्त्यालले बताइन् । मध्यम किसिमको आकारको दाना हुने गुर्जाको आलु स्वादिलो मानिन्छ । म्याग्दीका ६ वटा स्थानीय तहको ४५ वटा वडा मध्य सडक र यातायात सुविधा नपुगेको वडा गुर्जा हो ।
छिमेकी लुलाङबाट पुरै दिन जंगल,भिर र खोल्साको बाटोमा पैदलयात्रा गरेपछि गुर्जा पुगिन्छ । गुर्जामा प्रतिकिलो ३० पर्ने आलु खच्चर र भरियालाई बोकाएर लुलाङ पुर्याउँदा प्रतिकिलो ४५ पुग्ने कृषक लक्ष्मी छन्त्यालले बताइन् ।
धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले लुलाङ –गुर्जा सडक आयोजनालाई पूर्णता दिएर गुर्जाको जनजिवनलाई सहज बनाउने र कृषि उपज तथा वन पैदावारको बजारीकरण गर्ने लक्ष्य रहेको बताए । गाउँपालिकाले आलु ढुवानीमा अनुदान दिने,विउ आलुका रुपमा बजार खोज्ने र आलुका परिकार बनाउने सिप सिकाउने वडा अध्यक्ष छन्त्यालले बताए ।