नुवाकोट जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
नुवाकोट : नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा उपचार गर्न आउने विरामीको सुविधाका लागि चार प्रकारका स्वास्थ्य सामग्री प्रदान गरिएको छ। विदुर नगरपालिकाले त्रिशुली अस्पतालमा अभाव भएको जानकारी आएपछि एण्टि रेविज भ्याक्सिनसहित चार प्रकारका स्वास्थ्य सामग्रीहरु प्रदान गरेको हो।
नुवाकोट जिल्ला अस्पताल त्रिशुलीलाई विदुर नपाले एकसय २० भायल एण्टि रेविज भ्याक्सिन, नवजात शिशुका लागि चारसय थान न्यानो झोला, क्याल्सियम ६० हजार चक्कि र आइरन ५० हजार चक्की प्रदान गरेको हो। यसका साथै अस्पताललाई विदुर नपाले मात्रृ शिशु स्वास्थ्य कार्यक्रमअन्तर्गत १२ हजार चक्कि क्याल्सियम र १२ हजार चक्कि आइरनसमेत हस्तान्तरण गरिएको छ।
विदुर नपाका मेयर राजन श्रेष्ठले ति स्वास्थ्य सामग्री त्रिशुली अस्पताल पुगेर अस्पतालका अध्यक्ष राजु पण्डित र अस्पतालका प्रमुख डा. राजेन्द्र लामालाई हस्तान्तरण गरेका थिए। त्रिशुली अस्पतालमा नुवाकोटका साथै रसुवा र धादिङको उत्तरी भेगका सर्वसाधारणको उपचार हुँदै आएको प्रमुख डा. राजेन्द्र लामाले बताए। त्रिशुली अस्पतालमा आकस्मिक र बहिरंग गरी दैनिक चार सय बढीको उपचार हुँदै आइरहेको छ।