सनपाट र धान गोदाममा आगलागी, ४५ लाखको क्षति
विराटनगर : मोरङको जहदा गाउँपालिका–७ भीमपुरस्थित सनपाट र धानको गोदाममा आगलागी भएको छ। आगलागीमा ४५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
स्थानीय सुरेशप्रसाद सिंहले सञ्चालन गरेको गोदाममा बिहीबार बिहान ३ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार आगोले टिनको छाना र पक्की गाह्रो भएको गोदामसहित गोदाम घरभित्र रहेको ३ सय २५ क्विन्टल सनपाट तथा ९ सय ५० क्विन्टल धान जलेको छ।
आगलागीको कारण यकिन हुन सकेको छैन। यद्यपि, विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। स्थानीय बासिन्दा, विराटनगर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा लगभग ४ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। घटनामा मानवीय र चौपाया क्षति भने भएन। घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी बस्नेतले बताए।