विद्यालय तहमा विदेश भ्रमणको औचित्य
अनौपचारिक छलफलमा सहभागी एक व्यक्तिले काठमाडौंस्थित विद्यालयमा अध्ययनरत सन्तानको विदेश भ्रमणको लागि आवश्यक कागजपत्र बनाउनुपर्ने बताए। विद्यालयले बोलाएको भन्दै उत्साह र चिन्ता मिश्रित भावमा उनले अभिव्यक्ति दिइरहेका थिए। मलाई भने मनमा केही अनुत्तरित प्रश्नहरू उब्जिए। वास्तवमा विद्यालय तहमा शैक्षिक भ्रमणका लागि विदेश भ्रमणमा लग्न आवश्यक हो? के सबै अभिभावक उक्त विदेश भ्रमणको लागि आवश्यक खर्चको जोहो सहजै गर्न सक्छन्? अनि सन्तानलाई आर्थिक परिधिको कारण पठाउन नसक्दा कस्तो असर पर्ला?
अहिलेको विश्वव्यापीकरणले भविष्यमा अवसर तथा जिम्मेवारीको लागि विश्वका विभिन्न भागमा पुग्न सक्ने सम्भावना त छँदैछ तर आफ्नो परिवार, नातासम्बन्ध, छरछिमेक, समुदाय, सामाजिक र प्राकृतिक संरचनाहरू नै बुझ्न नसकेका विद्यालय तहका विद्यार्थीलाई विदेश भ्रमणमा लग्दा के कति सिकाइ उपलब्धि बढ्छ? यसतर्फ सोच्ने कि? यसमा कुनै दुई मत छैन कि सिकाइको लागि भ्रमण अत्यधिक महत्त्वपूर्ण हुन्छ। भ्रमणको बेला कल्पना शक्ति बढ्नुका साथै विषयवस्तुलाई विविध आधारमा तुलना तथा विश्लेषण गर्ने क्षमताको पनि विकास हुन्छ तर विद्यालय तहमा विदेश भ्रमण कतिको आवश्यक छ? विद्यालयमा गरिने शैक्षिक भ्रमणको यस्तो कुन उद्देश्य छ जुन नेपाली समाजको भ्रमणले पूरा गर्न सक्दैन? यसप्रति सरोकारवालाको ध्यान आकृष्ट हुन जरुरी छ।
विद्यालय तहको शिक्षाको अति महत्त्वपूर्ण अभिभारा भनेको देशलाई माया गर्ने आदर्श नागरिकहरूको पुस्ता निर्माण गर्नु हो। कुनै पनि सम्बन्धमा माया र सम्मानका लागि पहिला त एकअर्कालाई चिन्नुपर्ने र महसुस गर्नुपर्ने हुन्छ। यस्तोमा विद्यालय तहमा अध्ययनरत विद्यार्थी नेपाली समाज बुझ्न किताबका केही पाठहरू पढेर पूरा हुन्छ? कि समाज भ्रमणका अवसरहरूको उपयोग गर्दै समाजका स्पन्दन महसुस गर्नुपर्ने हुन्छ? यसको लागि के गर्ने? नेपाली समाजबारे किताबमा पढाएर विदेश भ्रमण गराउनाले नेपाली समाजसँगको अपनत्व बढ्छ? समाजभित्रको सुन्दर विविधता, समाजप्रतिको दायित्वबोध, संस्कृतिमा जोडिएको प्रकृतिसँगको गहिरो अन्तरसम्बन्ध अनि समाजभित्रको विभेद, विविध समस्या र सामाजिक सम्पन्नताको अनुभूति गर्न सक्छ? अनि आफ्नै समाज नबुझी केको आधारमा विश्वका अन्य समाजको विषयवस्तुलाई बुझ्ने र विश्लेषण गर्न सक्ने बन्छ?
जसरी मानिसको जन्म भएपश्चात् उसले पहिलो पाइला आफ्नै घरआँगनमा टेक्छ र पछि गएर संसार डुल्न सक्छ। उसले बोल्ने पहिलो भाषा परिवारमै सिक्छ र मातृभाषामा आफ्ना भावहरू व्यक्त गर्न सक्छ। अनि, कल्पना गर्न सक्छ र समस्या तथा परिवेशलाई बुझ्नुको साथै आफ्ना भावहरू अभिव्यक्त गर्न सक्ने बन्छ। यसपछि मात्रै उसले अन्य विविध भाषामा दक्खल हासिल गर्न सक्छ। यदि उक्त व्यक्तिलाई कुनै पनि एक भाषा जो उसको परिवारमा बोलिन्छ अथवा भनौं उसको वरिपरि बोलिने जुन भाषा हो त्यो बुझ्न सक्ने बनाइएन भने उसको भाषा सिक्ने सीपको विकास हुन सक्दैन। अर्थात् आफ्नो परिवारमा बोलिने भाषा उसले बुझ्न र बोल्न सकेन भने अन्य भाषा पनि उसले सिक्न सक्दैन। त्यतिमात्रै होइन, घर परिवारसँग मायालु वातावरणमा हुर्केका बालबालिका र सानैदेखि परिवारभन्दा टाढा बसेकाहरूको परिवारप्रतिको भावनात्मक अभिव्यक्तिका व्यवहार नै फरक हुन्छ।
सोचौं न, कुनै गाउँमा सयौं र हजारौं वर्ष पुराना पीपलका रुखहरू छन्, जसको वरिपरि छहारीमा दिनहुँ विविध समसामयिक विषयमा घण्टौं अनौपचारिक छलफल भइरहन्छन्। नजिकैको विद्यालयमा अफ्रिकी जंगलमा पाइने कुनै बिरुवाको चित्रको नाम कण्ठ पार्न लगाइन्छ। त्यसको चित्र बनाई रंग भर्न भन्दै प्रोजेक्ट वर्क दिइन्छ। अर्को दिन अंग्रेजीमा प्रस्तुतीकरण पनि राखिन्छ। अब सोचौं उक्त विद्यार्थीको के विकास हुन्छ? सोच्ने क्षमता? कल्पना शक्ति? समाजमा अवस्थित जीवित र निर्जीव वस्तुहरूको सम्बन्ध र सहअस्तित्वको महत्त्व कि केही शब्द र परिभाषाहरू?
जरासँग नजोडिएका संरचनाहरू कमजोर नै हुन्छन्। अहिले विद्यालय शिक्षाको अवस्था त्यस्तै छ। जरा अर्थात् समाज जसलाई नबुझ्ने, त्यसको विविधता, संघर्ष र अवसरहरूको पहिचान गर्न नसिकाउने।
बरु केही जानकारीका पोकाहरू कण्ठ पार्ने प्रवृत्तिमा रुमल्लिएको विद्यालय शिक्षाले समाजलाई कस्तो पुस्ता निर्माण गर्दैछ? राज्यको संवेदनशीलता देखिन्न। विकसित मुलुकहरूमा गराइने यस्ता शैक्षिक भ्रमणहरूमा अरू के के सिक्छन्? कतै यस्ता प्रवृत्तिले विद्यालय तहको शिक्षाको मूल मर्मलाई नै त धुमिल्याउँदैन? यदि कुनै शिक्षक जोसँग फरर अंग्रेजी बोल्ने क्षमता छैन तर समाज बुझेको छ, विद्यार्थीको मनोभाव बुझ्न सक्छ अनि ज्ञानको अनुभवको सागर छ भने उनलाई राम्रो शिक्षक भन्ने कि नभन्ने? तिनको ज्ञान र सीपले विद्यालय शिक्षालाई समृद्ध बनाउने कि नबनाउने?
नेपालको विविध सुन्दरतामध्ये सामाजिक विविधता पनि एक हो। विविध सामाजिक र सांस्कृतिक संरचना, मौलिक परम्परा, ऐतिहासिक पृष्ठभूमि र वर्तमान परिवेशदेखि लिएर कुनै एउटा समुदायभित्रको पनि विविध पारम्परिक ज्ञान र आयआर्जनको उपाय अनि भौगोलिक विविधताले भरिएको नेपाली समाजको भ्रमणले शैक्षिक उद्देश्य पूरा गर्न सक्दैन? जसरी माटो, हावापानी, जलवायु र अनुकूलित वातावरणको गहिराइमा अध्ययन नै नगरी उन्नत जातको भन्दै रोपिएका बिउबिजनले उत्पादन दिन नसकेका अनेकन उदाहरण वरिपरि भेटिन्छन्। त्यस्तैगरी, विद्यालय शिक्षालाई यदि समुदायसँग जोड्न नसक्ने हो भने यसले निर्माण गर्ने भावी पुस्ता नेपाली समाजको आवश्यकता अनुरूपको बन्दैन।
त्यसैले विद्यालय तहको शिक्षाप्रति राज्य थप संवेदनशील बन्नुपर्ने हो। समाज बुझाउन अनि समाजभित्रको विविधताको पहिचानसँगै चुनौती र आशा अनि अवसर खोज्न सक्ने सीप सिकाउन नेपाली समाजको भ्रमण विद्यालय तहको शिक्षामा अनिवार्य गरिनुपर्छ। जसले कलिलो उमेरमै बालबालिकाले नेपाली समाजसँगको अपनत्व जोड्न सकोस्। जसले गर्दा भविष्यमा आफ्नो समाजप्रतिको चिन्ता र चासो सधैं रहिरहन सफल होस्। जतिसुकै ज्ञान आर्जन गरिए पनि देशप्रेमबिनाको देश बनेको इतिहास कतै छ?
(झा, समाजशास्त्री हुन्।)