मनसुनको सुरुमै बाढीपहिरोको प्रकोप : ताप्लेजुङमा घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु

मनसुनको सुरुमै बाढीपहिरोको प्रकोप : ताप्लेजुङमा घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु

ताप्लेजुङ : अविरल वर्षासँगै आएको पहिरोमा परी ताप्लेजुङमा ४ जनाको मृत्यु भएको छ। फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा गएराति करिब साढे १ बजे पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको वडाध्यक्ष भुपेन्द्र चौलागाईले बताए। 

मुत्यु  हुनेमा फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रबिन साम्रा (बिकास)को बुवा ७० वर्षीय रामबहादुर साम्रा, आमा ५० वर्षीया जसमाया साम्रा, जुम्ल्याहा बहिनी गंगा र जमुना रहेका छन्। ४ जनाको शव घरदेखि करिब ५० मिटर तल फेला पारिएको वडाध्यक्ष चौलागाईले बताए। घरदेखि करिब २ सय मिटर माथिबाट आएको पहिरोले घरसहित ४ जना मानिस र ७० ओटाभन्दा बढी पशुचौपाया बगाएको हो। 

घट्नास्थलमा हाल सिँवा प्रहरी चौकीको टोली खटिएको र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक कमलकुमार लुङगेलीको नेतृत्वमा थप प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए। सोही पालिकामा बिहिबार मात्रै खोलामा आएको बाढी पहिरोले विभिन्न स्थानका ४ ओटा काठबाट निर्मित मोटरेबलपुल बगाएको थियो। 

२३ वटा वडा पहिरोको उच्च जोखिममा

जिल्लाभित्रका ६१ वडामध्ये २३ वटा वडा पहिरोको उच्च जोखिममा छन्। जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये २३ वडा पहिरोको उच्च जोखिममा र ३७ वडा जोखिममा रहेको बताइएको छ। जिल्ला विपद् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटीले बाढी तथा पहिरोको २० वर्षको अवस्थालाई मध्यनजर गर्दै जोखिमबारे औँल्याएको हो। जिल्लाको सिरिजंघा गाउँपालिकाको याम्फुदिन, मामाखे, पेदाङ र सिनामलगायत ४ वटा वडाहरू पहिरोको उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए।

फक्ताङलुङ गाउँपालिकाको लिङखिम, तापेथोक, साँवादिन, लेलेप र ओलाङचुङगोला ५ वटा वडाहरू पहिरोको उच्च जोखिममा छन्। उता, सिदिङ्वा गाउँपालिकाको सादेवा, सुरुम्खिम, कालिखोला र आँङ्खोप पनि पहिरोको उच्च जोखिममा रहेका बताइएको छ। पाथिभरा याङवरक गाउँपालिकाको नाङखोल्याङ, थुम्बेदिन र चाक्सिबोटे गरी तीनवटा वडा, मिक्वाखोला गाउँपालिकाको खोक्लिङ र सावादिन तथा मेरिङदेन गाउँपालिकाको थुकिमा, सान्थाक्रा, थिङलाबु र खाम्लुङ पहिरोको उच्च जोखिममा रहेका छन्।

जिल्ला विपद् व्यस्थापन समितिका अनुसार मैवाखोला गाउँपालिकाका पाँचवटा वडा पहिरोको उच्च जोखिममा छन्। सदरमुकामसमेत रहेको फुङलिङ नगपालिकाको ११ मध्ये ६ वटा वडा पहिरोको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। पहिरोको उच्च जोखिममा नगरपालिकाको १, ६, ७, ८ र १० वडाहरू रहेका बताइएको छ। जिल्लाका ६१ वडामध्ये फुङलिङका २ वटा वडाबाहेक ५९ वडा पहिरोको जोखिममा छन्।

सदरमुकाम छेउमा रहेका हाङदेवाको हिरेवा र चिनेवा पहिरोले ठूलो रूप लिएमा सदरमुकाम खतरामा रहेकोतर्फ पनि समितिले ध्यानाकर्षण गराएको छ। नाङखोल्याङ, लिङखिम–थिवा, फुरुम्बु, सिनाम, आँङ्खोप, निघुरादिन, फुलबारी, याम्फुदिन, तापेथोक, थुम्बेदिनलाई नियमित रूपमा बगिरहने जिल्लाकै ठूला पहिरोको रूपमा लिइएको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङले बताए। जिल्लामा भएका पहिरोको अध्ययनको सिलसिलामा यस्तो निष्कर्षमा पुगिएको उनको भनाइ छ।

साना मानिएका सावादिन, लिवाङ, इखाबु, तापेथोक, लेलेप आदि पहिरो पनि नियमित बगिरहेका छन्। यी पहिरोले विगतदेखि नै जिल्लामा जनधनको क्षति गरिरहेका बताइएको छ। यी पहिरोका कारण सर्वसाधाारणमा त्रास बढिरहेको त छ नै, विकास निर्माणमा पनि ठूलो बाधा पुगेको छ। विगतलाई हेर्दा असारदेखि असोज महिनासम्मै पहिरोबाट जिल्लामा ठूलो क्षति भएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.