आईपीओ निष्कासन गर्दै श्री डिस्टिलरी
![आईपीओ निष्कासन गर्दै श्री डिस्टिलरी](https://annapurnapost.prixacdn.net/media/albums/sanat_QrL9LBNqqX_RC2WnbeGmW.jpg)
काठमाडौं : नेपालको प्रमुखमध्येको एक मदिरा उद्योग श्री डिस्टिलरीले प्राथमिक सेयर निष्कासन (आईपीओ) मा जाने भएको छ। कम्पनीले ९ लाख ६० हजार कित्ताबराबरको आईपीओ जारी गर्न लागेको जनाएको छ।
कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आईपीओका लागि छुट्ट्याएको बताइएको छ। आईपीओ निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। उक्त सम्झौतामा श्री डिस्टिलरीका तर्फबाट सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे।
हस्ताक्षरपछि श्री डिस्टिलरीका सञ्चालक न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताए। यस्तै, प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले आईपीओ निष्काशनमा श्री डिस्टिलरीले गरेको विश्वासमा धन्यवाद व्यक्त गरे। सम्झौतासँगै कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेस गर्ने र प्रक्रिया पूरा गरी चाँडै नै आईपीओ जारी गर्ने भएको हो।
श्री डिस्टिलरी नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित रक्सी उत्पादकमध्ये एक हो। सन् १९८५ मा स्थापना भएको श्री डिस्टिलरी एक उच्च गुणस्तरको मादक पेयका लागि प्रख्यात रहेको छ। यस कम्पनीको सुरुवाती मुख्य ब्रान्डहरूमा किङ्ग्स प्राइड ह्विस्की, माउन्ट एभरेस्ट ह्विस्की, बन्ड ब्ल्याक लेबल, ओएसीस एक्स्ट्रा ड्राय, श्री स्पेसल नम्बर वान, दुधिया स्पेसल, बुलेट, श्री दुधिया, सगुनलगायत रहेका थिए। यी ब्रान्डहरूले मदिरा बजारमा गुणस्तर र उत्कृष्टताका लागि श्री डिस्टिलरीको प्रतिष्ठा निर्माण गर्न महŒवपूर्ण भूमिका खेलेका छन्। कम्पनीका हालका ब्रान्डहरूमा प्रियसी सोफी, प्रियसी दुधिया, सगुन एप्पल, सगुन ग्रिन एप्पल, सगुन एक्स्ट्रा, जोस, स्पेसल नम्बर वान रहेका छन्। यस्तै कम्पनीले चाँडै नै ओएसीस, अल्फा ब्लु र बोन्ड ब्ल्याक लेबल गरी तीन नयाँ ब्रान्डलाई बजारमा ल्याउने तयारी गरिरहेको छ। यस कम्पनीको स्प्रिट लाइसेन्स रहेको र आईपीओ निश्कासनपश्चात् कम्पनीले उच्च गुणस्तरको स्प्रिट उत्पादनमा पनि काम गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)