सकसपूर्ण पढाइ, टिनले पोलेर हैरान

सकसपूर्ण पढाइ, टिनले पोलेर हैरान

जाजरकोट : टिनकै बारबेर, टिनकै छाना। त्यही भित्र सकसपूर्ण पठनपाठन। जब घाम छिप्पिदै जान्छ तब टिनले पोलेर हैरान बनाउँछ। ‘गर्मीले गर्दा पढ्नै सकिँदैन’, भेरी नगरपालिका १ कालेगाँउस्थित शिव माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत छात्र सुमनराज नेपालीले भने, ‘भूकम्पले विद्यालय भवन भत्किँदा पठनपाठनमा निकै समस्या भएको छ।’ भुकम्पपछि बनाइएका अस्थायी सिकाइ केन्द्र (टिएलसी)मा पठनपाठनमा निकै सकसपूर्ण हुने गरेको छ। ‘दिउँसो टिनको तातोले पोलेर पढ्नै नसकेपछि बिहान ६ बजेदेखि कक्षा सञ्चालन गरिएको छ तर पनि ९ नबज्दै पोल्न थालिहाल्छ’, उनले भने, ‘यसरी कहिलेसम्म चल्ने हो ? हाम्रो विद्यालय कहिले बन्छ ?’ 

भेरी नगरपालिका १ रिम्नास्थित भेरी त्रिवेणी माध्यमिक विद्यालय भवन भुकम्पले भत्किएपछि नेपाल विद्यार्थी संघ र चुजी फाउन्डेसनलगायतका संघ संस्थाको पहलमा बनेका अस्थायी सिकाइ केन्द्र (टिएलसी) मा पठनपाठन भैरहेको छ। 

तर, ती सिकाइ केन्द्रमा गर्मी र वर्षातको बेला बढ्न निकै कठिन भैरहेको विद्यार्थीको भनाइ छ। ‘अहिले टिनले पोलेर कक्षामा बस्नै सकिँदैन। पानी पर्‍यो भने टिन बजेर पढाएको सुन्न नै सकिँदैन’, विद्यालयका बाल क्लबका अध्यक्ष विन्दुकमल रानाले भने, ‘भूकम्पपछि पढाइमा निकै समस्या भइरहेको छ। कहिले हावाहुरी त कहिले पानी परेर सताउँछ। अहिले घामले पोलेर हैरान बनाएको छ।’

त्रिवेणी माविका प्रधानाध्यापक प्रेम पुनले अस्थायी सिकाई केन्द्रमा शिक्षण गर्न निकै कठिन भइरहेको बताए। उनले शौचालय, खानेपानी, आईसीटी ल्याव, विज्ञान प्रयोगशालालगायतमा भूकम्पले क्षति पुर्‍याएको तर पुनर्निर्माणमा ढिलाइ हुँदा पठनपाठनमा समस्या भएको बताए। भौतिक क्षतिका साथै धेरै विद्यार्थीमा डराउने, झोक्राउने लगायतका मनोसामाजिक समस्या समेत बढेको र पढाइमा ध्यान नदिने गरेको उनको भनाइ छ। 

सामाजिक विकास कार्यालय जाजरकोटका अनुसार ४ सय २३ सामुदायिक विद्यालय रहेको जाजरकोटमा भूकम्पले ३ सय ४१ विद्यालयका २ सय ८९ भवन पूर्ण र ५ सय ९८ आंशिक रूपमा क्षति भएको छ। भूकम्पले १ सय ३  शौचालय पूर्ण र १ सय ८१ विद्यालयका शौचालय आंशिक रूपमा क्षति भएका थिए। ५१ विद्यालयको घेराबार, २६ विद्यालयको आईसीटी ल्याब र सोलार सिस्टममा क्षति पुगेको थियो। 

गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी एकजना शिक्षक र २४ जना विद्यार्थीको मृत्यु भएको थियो। ५ जना शिक्षक र ९७ जना विद्यार्थी घाइते भएका थिए। सबैभन्दा बढी भेरी नगरपालिका र नलगाड नगरपालिकामा भौतिक तथा मानवीय क्षति भएको थियो। भूकम्पमा परी जिल्लाभर १ सय १ जनाको ज्यान गएको थियो।

भूकम्प गएको ७ महिना बितिसक्दा पनि अहिलेसम्म क्षति भएका संरचनाको पुनर्निर्माण हुन सकेको छैन। स्थानीय सरकार, सामाजिक विकास कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइका साथै केही संघसंस्थाको पहलमा ४ सय १ अस्थायी सिकाइ केन्द्र निर्माण गरेर पठनपाठन भइरहेको सामाजिक विकास कार्यालयका प्रमुख यज्ञश्वर खत्रीले बताए। 

‘केही समयका लागि कामचलाउ रूपमा बनाइएका सिकाइ केन्द्रबाटै लामो समय पठनपाठन गर्नुपर्ने बाध्यता भइरहेको छ। पुनर्निर्माण नुहँदासम्म टिएलसीबाटै जेनतेन शिक्षण गराउनुपर्ने बाध्यता छ। सिकाइ केन्द्रमा टिनले पोलेर पठनपाठनमा समस्या भैरहेको पाएका छौं। 

केही दिनअघि आएको हावाहुरीले ५० भन्दा बढी सिकाई केन्द्रहरूका छाना उडाएको छ। वर्षा सुरु हुँदै छ झन् समस्या हुने देखिन्छ’, खत्रीले भने, ‘क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणमा सम्बन्धित निकाय गम्भीर बन्नै पर्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.