काठमाडौं : आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा जारी खेलमा नेपालविरुद्ध टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११५ रन बनाएको हो।
दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्स सर्वाधिक ४३ रन बनाए। त्यसैगरी ट्रिस्टन स्टब्स २७ रन, एडेन मार्करामले १५ रन, क्विन्टन डे ककले १० रन, डेभिड मिलरले ७ रन, हेनरिक क्लासेनले ३ रन, मार्को जेन्सेनले १ रनको योगदान गरे। कागिसो रबाडा शून्य रनमा आउट भए।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। दक्षिण अफ्रिकासामु नेपालका स्पिनरहरुले कसिलो बलिङ गरेका थिए।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ। दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ ।
नेपालले आज एक खेलाडी परिवर्तन गरेको छ। स्पिनर सन्दीप लामिछाने नेपालको प्लेइङ-११ मा हुँदा सागर ढकाल बेन्चमा छन् ।
नेपाली टोली :
कुशल भुर्तेल, अशिफ खेस (विकेट किपर), अनिल शाह , रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा